Logo
Logo

प्रचण्ड, ओली र रविबीच तीन घण्टा वार्ता, संसदीय छानबिन समितिबारे छलफल 



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल भएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने अडान राख्दै आएको छ ।

आगामी बजेट अधिवेशनमा पनि सोही विषयलाई लिएर कांग्रेसले संसद् अवरुद्ध गर्ने तयारी गरेको छ । सोही विषयमा सत्ता घटक तीन दलका शीर्ष तीन नेताबिच छलफल भएको हो । 

त्यसैगरी बजेट निर्माण प्रक्रिया, प्रदेश सरकार, विश्वविद्यालय लगायतका विषयमा साझा धारणा बनाउने गरी तीन नेताबिच छलफल भएको बताइएको छ । 

सरकारले आगामी वैशाख २८ गते बजेट अधिवेशन बोलाएको छ ।  सो अधिवेशन सुरु हुनुअघि नै एक खालको सहमति जुटाउनेगरी प्रधानमन्त्री प्रचण्डले केही दिनदेखि नै पहल गरेका थिए । 

शनिबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा पनि प्रधानमन्त्री प्रचण्डले यसबारे ब्रिफिङ गरेका थिए । बैठकमा पार्टीमा छलफल गरेपछि मात्रै सत्ता गठबन्धन र प्रतिपक्षी दलका नेताहरूसँग छलफल हुने प्रचण्डले बताएका थिए ।  

प्रतिक्रिया दिनुहोस्