Logo
Logo

काँग्रेस जिल्ला सभापतिबाट पत्रकारलाई धम्की


- दृष्टि न्युज/संवाददाता


खोटाङ, २६ चैत । समाचार लेखेको विषयलाई लिएर नेपाली काँग्रेस खोटाङका सभापति नरेशकुमार श्रेष्ठले पत्रकारलाई धम्क्याएको प्रति नेपाल पत्रकार महासङ्घ, खोटाङ शाखाले आपत्ति जनाएको छ । क्वारेन्टाइनमा नागरिक राख्न काँग्रेस सभापति श्रेष्ठको असहयोगबारे समाचार प्रकाशन भएको विषयमा श्रष्ेठले पत्रकार उत्तम चौलागार्इंलाई ज्यान मार्ने धम्की दिएको शाखाले जनाएको छ ।

समाचारप्रति चित्त नबुझे खण्डन गर्ने वा त्यसको कानूनी उपचार खोज्ने वैधानिक विधि र पद्धति हुँदाहुँदै पत्रकार चौलागाईंलाई सभापति श्रेष्ठले धम्क्याएको शाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कोरोना भाइरसबाट बच्नुपर्ने यस्तो विषम परिस्थितिमा पनि ज्यानको पर्वाह नगरी समाचार लेख्ने पत्रकारलाई प्रोत्साहित गर्नुको सट्टा असुरक्षा महसुस हुने गरी धम्क्याउनु सिङ्गो पत्रकारिता जगत्का लागि दुखद् विषय भएको शाखाको ठहर छ ।

शाखाका अध्यक्ष दमन राईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो जिम्मेवार व्यक्तिबाट अपेक्षा गर्न सकिने व्यवहार पटक्कै होइन । तसर्थ संविधानले ग्यारेन्टी गरेको पूर्ण प्रेस स्वतन्त्रताको रक्षा गर्दै निर्वाध र स्वतन्त्रतापूर्वक पत्रकारिता गर्ने वातावरण बनाउन सरकार तथा सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँछौँ । साथै पत्रकार चौलागार्इंको सुरक्षाका लागि सम्बन्धित पक्षसँग जोडदार माग गर्दछौँ ।”

सभापति श्रेष्ठले पत्रकार चौलागार्इंलाई समाचारको विषयलाई लिएर “ पैसामा बिकेर समाचार किन लेखेको ? होस् गर्नु ज्यान पनि जान सक्छ ।” भनी धम्क्याएको राईको विज्ञप्तिमा उल्लेख छ । सभापति श्रेष्ठले फोनमार्फत धम्क्याएको अडियो रेकर्ड आफूसँग सुरक्षित रहेको पत्रकार चौलागार्इंले बताउनुभयो ।

हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम स्वास्थ्यचौकीको क्वारेन्टाइनमा कोरोना भाइरसको सङ्क्रमण भएको आशङ्का गरिएका व्यक्तिलाई राख्ने क्रममा सभापति श्रेष्ठले अवरोध गर्नुभएको थियो । श्रेष्ठको असहयोग र अभिव्यक्तिप्रति काँग्रेसकै भातृ सङ्गठनले समेत विरोध जनाएका छन् । बिरामीलाई क्वारेन्टाइनमा राख्न नदिन हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईलाई दबाब दिएको भन्दै काँग्रेसकै १० भातृ सङ्गठनले सोमबार विज्ञप्तिमार्फत विरोध जनाएका थिए ।

पत्रकार चौलागार्इं काँग्रेसनिकट नेपाल प्रेस युनियन खोटाङका अध्यक्षसमेत हुनुहुन्छ । कान्तिपुर टेलिभिजनका खोटाङ संवाददाता चौलागार्इं प्रभाव न्यूज डटकमका प्रबन्ध÷सम्पादक हुनुहुन्छ । सभापति श्रेष्ठले भने सो विषय पार्टीभित्रको आन्तरिक सवाल भएको र आफूलाई बदनाम गरिएको जनाउनुभयो । सभापति श्रेष्ठले यसअघि दिक्तेलस्थित माउण्ट एभरेष्ट बोर्डिङ स्कूलमा क्वारेन्टाइन नबनाउन दबाब दिनुभएको थियो ।

जनप्रतिधिको सेवा सुविधाबाट सामग्री

बराहपोखरी गाउँपालिका–४ फाक्टाङका वडाध्यक्ष तथा सदस्यले आफूले पाएको एक महिनाको सुविधा र स्थानीय सङ्घसंस्थाको सहयोगमा स्थानीयवासीलाई मास्क तथा हात धुने साबुन वितरण गरेका छन् । वडाध्यक्ष तथा वडा सदस्यले राज्यबाट वडावासीलाई करिब रु ६३ हजार बराबरको मास्क तथा हात धुने साबुन खरिद गरेर वितरण गरेका हुन् ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न सचेतना अभियानस्वरुप वडास्तरीय जनप्रतिनिधिको सेवा सुविधा र सङ्घसंस्थाको सहयोगमा नागरिकलाई स्वास्थ्य सुरक्षा र सरसफाइका सामग्री जुटाएर प्रदान गरिएको वडाध्यक्ष भुबलराज राईले बताउनुभयो ।

मास्क तथा साबुन खरिदका लागि वडाध्यक्ष राईले एक महिनाको सेवा सुविधावापतको रु १५ हजार तथा वडा सदस्य राजकुमार मगर, विनोदकुमार बुढाथोकी, पदमलक्ष्मी श्रेष्ठ र जानुका विकको एक महिनाको सेवा सुविधा वापतको रु सात÷सात हजार खर्च गरिएको छ । जनप्रतिनिधिको अभियानमा स्थानीय नवजनजागृति युवा क्लब भञ्ज्याङखर्क, धर्मशाला सामुदायिक वन उपभोक्ता समिति, जाल्पा प्रावि माक्सिङटार र आमा समूह माक्सिङटारले पनि रु पँच÷पाँच हजार सहयोग गरेको वडा कार्यालयले जनाएको छ । यसअघि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) याम्खा वडा समितिले पनि सचेतना अभियानसँगै साबुन वितरण गरेको थियो । (रासस)

प्रतिक्रिया दिनुहोस्