Logo
Logo

उपेन्द्रलाई अशोकको जवाफ- अदालतको ढोका सबैलाई खुला छ



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष अशोक राईले जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवलाई अदालत जान चुनौती दिएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले उपेन्द्रलाई सो चुनौती दिएका हुन् । अध्यक्ष राईले आफूहरूको पार्टी कानुनसम्मत रूपमा दर्ता भएको जिकिर पनि गरे ।

उनले भने, ‘अदालतको ढोका सबैको लागि खुला छ । निर्वाचन आयोगजस्तो संवैधानिक संस्थाले असंवैधानिक भए दर्ता गर्दैन थियो नि, उहाँहरू अदालत जान सक्नुहुन्छ । कानुनसम्मत दर्ता भएको पार्टीलाई अन्यथा हुने कुरा छैन ।’

जसपा, नेपालका अध्यक्ष यादवले बुधबार पत्रकार सम्मेलन गर्दै असंवैधानिक रूपमा पार्टी दर्ता गरिएको भन्दै निर्वाचन आयोगविरुद्ध अदालत जाने बताएका थिए ।

अध्यक्ष राईले आफ्नो पार्टी सरकारमा नै रहेको बताए । यादवको पार्टी सरकारमा रहनेरनरहने विषय प्रधानमन्त्रीमा निर्भर हुने उनले उल्लेख गरे ।

‘सरकारमा नै छौँ । हाम्रो पार्टीको तर्फबाट मन्त्री सरकारमै हुन्नुहुन्छ । उहाँ (यादव) सरकारमा रहनुहुन्छ कि रहनु हुन्न, प्रधानमन्त्रीले निर्क्योल गर्नुपर्ने कुरा हो । कस्तो प्रगति हुन्छ, समयले देखाउला,’ अशोकले भने ।

उनले कसैसँग लेनदेनका आधारमा पार्टी विभाजन नगरिएको जिकिर पनि गरे । अध्यक्ष राईले जसपा नेपालको महाधिवेशनलाई एकताको महाधिवेशन नबनाएर कुनै एक व्यक्तिलाई श्रीपेच लगाउने गरी अघि बढाएपछि पार्टी विभाजन गर्न बाध्य बनेको बताए ।

उनले भने, ‘यहाँ अल्पमत र बहुमतको कुरा भएन । महाधिवेशनलाई एकताको महाधिवेशन भनिएको थियो । पार्टीभित्रको अन्तर्विरोध र समस्यालाई समाधान गर्न र अगाडिको मार्ग प्रशस्त गर्ने यसको उद्देश्य थियो । तर, यहाँ कुनै नेतालाई श्रीपेचलाई लगाउन खोजियो । पार्टी कब्जा गर्ने रणनीति देखियो ।’

उनले महाधिवेशनका लागि प्रतिनिधि छनोटप्रति नै प्रश्न उठाए । उनले अनियमित ढङ्गले महाधिवेशन प्रतिनिधि छनोट गरिएको दाबी गरे । ‘१० दिन १० रात लगाएर सदस्य थप्ने । तर सदस्यताको रेकर्ड र प्रमाणीकरण गर्न नपाइने । संगठित सदस्यता र पार्टी सदस्यता हुनुपर्नेमा त्यो भिन्न पनि गरेको छैन । प्रमाणीकरण गरेर महाधिवेशन गरौँ भन्दा त्यो फारम कहाँ छ, किन गर्ने भन्ने अस्वीकार गर्ने स्थिति भयो,’ उनले भने, ‘महाधिवेशनमा प्रतिनिधि छनोटको अनुपात पनि सन्तुलित ढङ्गले गरिएन ।’

यता पार्टी महासचिव इस्तियाक राईले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूभन्दा सिनियर नेतालाई सम्मान गर्न नजानेको आरोप लगाए । कुनै शीर्ष नेताले यादवको स्वेच्छाचारी चरित्र प्रश्न उठाउँदा ती नेतालाई विस्थापित गर्ने गरेको उनले जिकिर गरे ।

उनले भने, ‘अध्यक्ष अशोक राई केन्द्रीय उपाध्यक्ष हुँदा उपेन्द्र यादव जिल्ला कमिटीमा हुनुहुन्थ्यो । तैपनि उहाँको नेतृत्व स्वीकार गरेर अघि बढ्नु भयो । तर, उहाँले महन्थ ठाकुर, बाबुराम भट्टराईजस्ता सिनियर नेताहरूलाई पनि सम्मान गर्न सक्नु भएन । जसले गर्दा पार्टी पटक–पटक विभाजन हुँदै आयो ।’

प्रतिक्रिया दिनुहोस्