Logo
Logo

कोशी सरकार गठनविरुद्धको रिटमाथि आज सुनुवाइ



काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार गठन आह्वानविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाइ हुने भएको छ । सुनुवाइका लागि रिट न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा परेको छ ।
नयाँ सरकार गठन प्रक्रिया रोक्न माग गर्दै रिट कार्कीले बिहीबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।

प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठनका लागि आह्वान गरेलगत्तै त्यसका विरुद्ध मुख्यमन्त्री कार्की सर्वोच्च पुगेका थिए । आफू नेतृत्वको सरकार हुँदाहुँदै अर्को सरकार आह्वान गर्नु संविधानविपरित भन्दै यसलाई रोक्नुपर्ने उनको माग दावी छ ।

प्रदेश प्रमुखको कार्यालय, कोशी प्रदेश प्रमुख परशुराम खापुङ, कोशी प्रदेशका सभामुख अमरबहादुर विष्ट, संकल्प प्रस्तावका प्रस्तावक रेवतीरमण भण्डारी, संकल्प प्रस्तावका समर्थक गणेशप्रसाद उप्रेती र किशोर चन्द्र दुलाल र नेकपा एमालेका संसदीय दलका नेता तथा सांसद हिक्मतकुमार कार्कीलाई रिटमा विपक्षी बनाइएको छ ।

केन्द्रमा गठबन्धन फेरिएपछि केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन एमाले र माओवादीका प्रदेशसभा सदस्यले गत चैत २६ गते फिर्ता लिएका थिए । समर्थन फिर्तापछि प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने थियो । तर, मंगलबार राति १२ बजेसम्म विश्वासको मत पनि नलिइ पदमै बसेका थिए ।

प्रदेश प्रमुखको कार्यालयले नयाँ सरकार आह्वान गरेपछि बिहीबार बिहान एमालेका ३९ र माओवादीका १३ सहित ५२ जना (बहुमत) प्रदेशसभा सदस्यको हस्ताक्षरसहित हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । कार्कीले बिहीबार नै पद तथा गोपनीयताको शपथ लिएर पदभार ग्रहण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्