Logo
Logo

प्रतिनिधि सभा बैठक स्थगित, अर्को बैठक ज्येष्ठ १ गते



काठमाडौं ।  प्रतिनिधिसभा बैठक आजका लागि स्थगित भएको छ । सहकारी ठगी प्रकरणमा गृहमन्त्री रबि लामिछानेको नाम जोडिएको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले छानबिन समिति गठन गर्नुपर्ने माग सहित संसदमा अवरोध खडा गरेको छ ।

सभामा सभामुख देवराज घिमिरेले अधिवेशनको सुरुवात भएको जानकारी गराएर राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउन लागेपछि कांग्रेसका सांसदहरूले उठेर नाराबाजीसहित विरोध गरेका हुन् । 

कांग्रेसको नाराबाजीपछि सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए । १५ मिनेटपछि संसद् पुन सुचारु गर्दै उनले गृहमन्त्री रबि लामिछानेलाई बोल्ने समय दिएका थिए । त्यस लगत्तै कांग्रेस सांसदहरू वेल घेराउ गर्न पुगेका थिए । रोष्टममा जान अगाडि बढेका लामिछानेलाई कांग्रेस सांसदहरूले रोकेका थिए ।

कांग्रेसको निरन्तरको नाराबाजी र अवरोधपछि सभामुख घिमिरेले ज्येष्ठ १ गते पुनः प्रतिनिधिसभाको बस्ने गरी शुक्रवारका लागि बैठक स्थगित गरे । उनले ज्येष्ठ १ गते साँझ ६ बजे बैठकको समय तोकेका छन् । 

शुक्रवारको प्रतिनिधिसभा बैठक २ घण्टा ढिला गरी सुरु भएको थियो । दलहरू आन्तरिक छलफलमा व्यस्त हुँदा २ बजे बस्नुपर्ने बैठक ४ बजेदेखि सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्