Logo
Logo

आकर्षक देश पठाउँछु भन्दै ५ करोड बढी ठगी, ३ जना पक्राउ



काठमाडौं । वैदेशिक रोजगारीका लागि अमेरिका तथा क्यानडा पठाइदिन्छौं भन्दै १० जना व्यक्तिहरूबाट ५ करोड ५० लाख रूपैयाँ ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–११ कपन बस्ने ४७ वर्षीय टासी शेर्पा, सिन्धुपाल्चोक घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बस्ने ४२ वर्षीय ङिमबुटी शेर्पा र सिन्धुपाल्चोक जुगल गाउँपालिका–१ घर भई काठमाडौं जोरपाटी बस्ने १९ वर्षीय निमा शेर्पा रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूले अमेरिका क्यानडा लगायतका देशमा फुड प्याकिङको काममा मासिक ४ लाख रूपैयाँ भन्दा बढि कमाई हुने लगायतका प्रलोभन देखाई भिषा निकाल्न तथा डकुमेन्ट एप्लाई गर्न, टिकट काट्न र डलर साट्न भन्दै प्रति व्यक्ति ५० लाखसम्म रकम उठाएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

काठमाडौंबाट दुबई ट्रान्जिट बनाई केन्याको जिम्मारमानस्थित घरमा ६ महिनासम्म र नैरोवीस्थित किन्नो भन्ने स्थानमा २÷३ महिनासम्म बन्धक बनाई राखेको समेत खुल्न आएको छ । उनीहरू उपर मानव तस्करी गरी ठगी गरेको अपराधमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्