Logo
Logo
ट्राफिक प्रहरी हत्या प्रकरण

मदिराको तालमा प्रहरीले अर्काकी प्रेमिकालाई आँखा झिम्काएपछि…


2.7k
Shares

काठमाडौं । ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौँले आज पत्रकार सम्मेलनमार्फत प्रहरी जवान घिमिरेको हत्या आरोपमा एक नाबालकसहित सात जनालाई सार्वजनिक गरेको हो । 

घटनामा संलग्न रहेको अभियोगमा भक्तपुरको चाँगुनारायण नगरपालिका–१ घर भई हाल मनमैजु बालाजु, जरंखुलगायत स्थानहरूका सडकपेटीमा बस्ने २१ वर्षीय आइते भन्ने सचिन परियार, नुवाकोट दुप्चेश्वर गाउँपालिकाकी १८ वर्षीया अञ्जली श्रेष्ठ, स्याङ्जाको आँधीखोला गाउँपालिका–३ की २१ वर्षीया विपना, वसन्ती भनिने बसुन्धरा कार्की र आधीँखोलाकै ५६ वर्षीया नुनमाया कार्की रहेका छन् । 

त्यस्तै नुवाकोटको ताँदी गाउँपालिका–४ ओखरेकी २१ वर्षीया बुद्ध लामा तामाङ, सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१ का ३० वर्षीय दोर्जे भनिने अमृत तामाङ र एक १३ वर्षीय बालकलाई पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले जानकारी दिए । 

उनका अनुसार अभियुक्तहरु अष्ट नारायण हलपछाडि, २२ धारा जङ्गलबाट भाग्न लागेको अवस्थामा प्रहरीले एक राउन्ड हवाई फायर गरी पक्राउ गरिएको हो । 

खोटाङको मजुवागढी गाउँपालिका– १ घर भई हाल ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत मृतक प्रहरी जवान घिमिरेको शव शुक्रबार काठमाडौँको तार्केश्वर–९ मनमैजुमा फेला परेको थियो । स्थानीय जोनस खत्रीको निर्माणाधीन घरको भुईँ तलामा म्याटले छोपेको अवस्थामा शव फेल परेको प्रहरीले जनाएको छ ।

लागू औषध प्रयोगकर्ता 

पक्राउ परेका सबैजसो लागु औषध प्रयोगकर्ता रहेको प्रहरीको भनाइ छ । उनीहरू बालाजु, जरंखु, मनमैजु लगायतका क्षेत्रहरूमा सडकपेटी तथा निर्माणाधीन घरहरूमा बस्ने गरेका थिए ।

पक्राउ परेकाहरूको विगत पनि विभिन्न सार्वजनिक अपराध तथा चोरी लुटपाटहरूमा संलग्न रहेको देखिएको प्रहरीले जनाएको छ । हत्या गरेपछि यो समूहले ट्राफिक प्रहरीको साथमा रहेको २ हजार रुपैयाँ समेत लुटेर लगेको देखिएको छ ।

मदिरा पिउने बेला विवाद भएको खाजाघरका सञ्चालकलाई सचिनले दिदी, भिनाजु भन्ने गरेको र उधारो समेत खाँदै आएको खुलेको थियो । 

युवतीका कारण विवाद 

हत्यामा विशेषगरी लागु औषध, मदिरा र युवतीको विवाद जोडिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

विवाद युवतीको कारण सुरु भएको प्रहरीले जनाएको छ । हत्या भएको दिन ड्युटी सकेर घिमिरे रातिको साढे ८ बजे दरबारमार्गबाट निस्केको सीसीटीभी फुटेजमा देखिएको छ । घिमिरे राति ९ बजे तारकेश्वर नगरपालिका–११ स्थित नाम उल्लेख नभएको एउटा सानो खाजा घरमा पुग्छन् ।

केही समयमै उक्त खाजा घरमा सचिन र अञ्जली पनि आइपुग्छन् । सचिनसँग पूर्व चिनजान भएकाले उनीहरू एउटै टेबुलमा बसेर खाजा मदिरा खान्छन् । नसाको सुरमा विवाद भएपछि युवतीसँग ट्राफिकलाई जोडेर थप विवाद भएको अनुसन्धान अधिकृतले जनाएका छन् । 

सचिन र अञ्जली प्रेमी–प्रेमिका हुन् । उनीहरूले प्रहरीसँग लिभ–इन रिलेसनमा रहेको बताएका छन् । खाजा घरमा प्रहरी जवान घिमिरेल अञ्जलीलाई आँखा झिम्क्याएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । 

विवाद भएपछि ट्राफिक प्रहरी घिमिरे उठेर आफ्नो कोठातर्फ जान खोज्छन् । तर, खाजा खाएपछि अञ्जलीले आफूलाई स्वास्थ्य समस्या भएको बताइन् । सचिन र अञ्जलीले प्रहरी जवान घिमिरेलाई घरसम्म मोटरसाइकलमा छाडिदिन आग्रह गर्छन् । 

मनमैजुस्थित निर्माणाधीन घर नजिक पुगिसकेपछि मोटरसाइकलबाट उनीहरू झर्छन् । भवनमा पुगेपछि सचिनले प्रहरी जवानलाई भित्रै जान आग्रह गर्छन् । निर्माणाधीन घरमा मोटरसाइकल नपुग्ने भएकाले घिमिरेले मोटरसाइकल केही मिटर तल रोके । हेलमेट सचिनले बोकेर हिँडे । 

घरभित्र पुग्ने बित्तिकै सचिनले घिमिरेलाई हेलमेटको टाउकोमा हानेर लडाउँछन् । सो भवनमा १३ वर्षीय नाबालकसहित ५ जना सुतिरहेका थिए । सचिनले सबैलाई उठाएर प्रहरीमाथि आक्रमण गर्न लगाउँछन् । 

प्रहरी जवान घिमिरेमाथि नक, इटा, रड, ढुंगा, हेल्मेटले प्रहार गरेको देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी नवराज अधिकारी बताउँछन् । हत्या गरेर घरको बाहिरपट्टि म्याटले छोपेर उनीहरू भाग्छन् । 

पुरानै चिनजान 

मृतक प्रहरी जवान घिमिरे र पक्राउ परेको सचिन र अञ्जलीबीच पहिला नै चिनजान भएको पाइएको छ । गोंगबुमै कार्यरत रहेका बेला घिमिरे र पक्राउ परेका सचिनको चिनजान भएको अनुसन्धानबाट खुलेको छ । त्यतिबेला सचिन बसपार्क क्षेत्रमा भरियाको काम गर्थे ।

मदिरा पिउने बेला विवाद भएको खाजाघरका सञ्चालकलाई सचिनले दिदी, भिनाजु भन्ने गरेको र उधारो समेत खाँदै आएको खुलेको थियो । 

बालकाबाट पत्ता लाग्यो हत्यारा 

अनुसन्धानका क्रममा प्रहरीले सुरुमा एक जना नाबालकलाई पक्राउ गरेको थियो । शनिबार दिउँसो मनमैजु क्षेत्रबाटै एक नाबाललाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरेपछि उनैले दिएको सूचनाबाट अरू ६ जना पक्राउ परेका थिए ।

शनिबार प्रहरीले सुरुमा ती १३ वर्षीय बालकलाई फेला पार्छ ।  ती बालक आत्तिएपछि प्रहरीले उनलाई घटनाको बारे फकाउँदै सोधिखोजी गर्छन् । ती बालकले नै घटना कसरी भयो र को को थिए भन्ने खुलाउँछन् । 

नाबालक पक्राउ परेपछि बुद्ध र दोर्जेलाईलाई अष्टनारायण हल नजिकबाट प्रहरीले पक्राउ गरेको थियो । बुद्धको समूहलाई पक्राउ गर्ने क्रममा प्रहरीले एक राउण्ड हवाई फायर समेत गरेको थियो । 

राति जंगलमा सुतेको अवस्थामा कार्की आमाछोरी र अञ्जली पक्राउ परेका थिए । प्रहरीले घटनाका मुख्य योजनाकार भनेको सचिनलाई भने आइतबार बिहान बालाजु बाइसधारा नजिकबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्