Logo
Logo

विद्युतीय प्रविधिमा आधारित शिक्षा प्रणालीमा अभ्यस्त गराउन सरकार प्रयत्नशील : शिक्षा मन्त्री पोखरेल


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ, २९ चैत । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले विश्वव्यापीरुपमा महामारीका रुपमा फैलिएको कोरोना भाइरससँग जुध्नका लागि विद्युतीय प्रविधिमा आधारित शिक्षा प्रणालीमा अभ्यस्त बनाउनुपर्ने बताउनुभएको छ ।

गिरिराजमणि पोखरेल

उहाँले विद्युतीय सिकाइ नेपालको समग्र शिक्षा क्षेत्रको लागि उपयोगी हुने भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत यसलाई थप व्यवस्थित बनाउनुपर्ने बताउनुभयो । कोरोना भाइरसको महामारीपूर्व नै नेपालको शिक्षालाई दूर शिक्षा वा अनलाइन शिक्षामा लैजान सरकारीस्तरबाट विभिन्न पहल भइसकेको बताउँदै उहाँले अनलाइन कक्षालाई बढीभन्दा बढी अन्तक्र्रियात्मक बनाउनुपर्नेमा जोड दिनुभयो ।

“कोरोना भाइरसले शिक्षा क्षेत्रमा पारेको प्रभावलाई अध्ययन गर्न हामीले एउटा समिति गठन गरिसकेका छौँ”, उहाँले भन्नुभयो “सो समितिले गरेको अध्ययनको निष्कर्षको आधारमा शिक्षा क्षेत्रको भविष्यको दिशा तय गरिनेछ ।” किंग्स कलेजले शुक्रबार गरेको ‘इम्ब्रेसिङ द क्यावस’ नाम दिइएको अन्तर्राष्ट्रिय भर्चुअल कन्फरेन्स शिक्षामन्त्री पोखरेलले सो कुरा बताउनुभएको हो ।

विभिन्न राष्ट्रका प्राध्यापक तथा शिक्षक, नेपाली उद्यमी, विद्यार्थी, शिक्षक, विद्यालयका नेतृत्वकर्ता तथा शिक्षा क्षेत्रमा चासो राख्ने करिब ८५ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागीको ऊक्त विद्युतीय अन्तक्र्रियामा सहभागिता थियो ।

कोरोना भाइरसको कारण राष्ट्रले बन्दाबन्दी (लकडाउन) को घोषणा गरेसँगै शैक्षिक संस्थाले अनलाइन कक्षा सञ्चालन गरिरहेको सन्दर्भमा विद्युतीय कक्षासम्बन्धी अन्तर्राष्ट्रिय जगतको अनुभव, सिकाइ, विश्लेषण, सफल अभ्यास तथा अनुसन्धानमाथि विचार विमर्श गर्दै नेपालका शैक्षिक संस्थालाई अझै सशक्त ढङ्गले चलाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

अनलाइन कक्षा सञ्चालन गर्न सक्षम बनाउने अभिप्रायले उक्त विद्युतीय सम्मेलने आयोजना गरिएको हो । यसका साथै विद्युतीय कक्षाका बारेमा रहेको बुझाइलाई थप गरी कठिनाइको समयमा समाधानका विकास गर्नुपर्ने आवश्यकता औँल्याइयो ।

अनलाइन कक्षाको सम्भावना तथा सीमितता, गुणदोषलगायतबारे विश्लेषण गर्दै शिक्षण संस्थाले यसका लागि आफूलाई कसरी तयारी राख्न सक्छन् भन्ने विषयको अन्वेषण पनि यसको लक्ष्य रहेको कलेजका प्राचार्य उद्गम खड्काले बताउनुभयो ।

अनलाइन सिकाइ, चुनौती र अवसर, अनलाइन शिक्षाको शिक्षण विधि, अनलाइन शिक्षाको लागि प्रविधिको एकीकरण र विश्व महामारीको समयको शिक्षण विधिलगायत मुख्य विषयवस्तु रहेको सो विद्युतीय अन्तक्र्रियाका सहभागीले आ–आफ्नो अनुभवसमेत सुनाएका थिए ।

अन्तक्र्रियामा बेन्ट्ले विश्वविद्यालयका प्राध्यापक तथा हाबर्ड विश्वविद्यालयका अतिथि प्राध्यापक कवि लसियानो प्रमुख वक्ताका रुपमा सहभागी हुनुहुन्थ्यो । कलेजका कार्यकारी निर्देशक नरोत्तम अर्यालले अन्तक्र्रियालाई सम्बोधन गर्दै अहिलेको सङ्कटको घडीमा सरकारी वा निजी क्षेत्र भनेर बस्नुभन्दा पनि एक अर्कासँग सहकार्य र समन्वय गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्