Logo
Logo

एकीकृत समाजवादीमा पुराना नेताले नेतृत्व हस्तान्तरण गर्लान् ?


3.8k
Shares

यतिबेला नेकपा (एकीकृत समाजवादी) आसन्न १०औं महाधिवेशनको तयारीमा जुटिरहेको छ । एकीकृत समाजवादी पार्टीभित्र आसन्न महाधिवेशनलाई लिएर विभिन्न कोणबाट बहस भइरहेको छ ।

एउटा जीवन्त पार्टीभित्र महाधिवेशनलाई लिएर हुने बहस, छलफल र मन्थनलाई स्वाभाविक मान्नुपर्छ । खासगरी, भावी नेतृत्वको विषयलाई लिएर पार्टीका नेता–कार्यकर्ताबीच गहन र सघन बहस हुनु राम्रो कुरा हो ।

एमालेबाट विद्रोह गरेर बनेको एकीकृत समाजवादीको भावी नेतृत्वको निम्ति पुराना नेताले नै दाबी गर्छन् या उनीहरूले नेतृत्व हस्तान्तरण गर्छन् ? यो सवाल भने पर्खाइको विषय बनेको छ । अहिले पार्टीभित्र र बाहिर भइरहेको चर्चा पनि यसै वरिपरि घुमिरहेको छ ।

पुराना नेतालाई आराम दिनुपर्छ भन्ने मसिनो स्वर पनि सुनिन्छ । केही कार्यकर्ता माधवकुमार नेपालको विकल्प छैन भनिरहेका छन् भने केही नेताहरूले महाधिवेशनमा पेस हुने वैचारिक नीतिअनुसारको नेतृत्व हुनुपर्छ भनिरहेका छन् । जे होस् यी र यस्तै विषयहरू आसन्न महाधिवेशनका छलफलका मूल विषय हुन् । जो अत्यन्तै स्पष्ट छन् । आवश्यक छन् ।

स्वच्छ र स्वस्थ प्रतिष्पर्धाबाट केन्द्रीय कमिटी चुन्न पाउने जनवाद महाधिवेशन प्रतिनिधिको हो । त्योसँगै सर्वसम्मत रूपमा सबैलाई मिलाएर जाने अवस्थासमेत आउन सक्छ । कम्युनिष्ट पार्टीको आन्तरिक चुनावी प्रक्रिया खासै अर्थपूर्ण र रोचक त हुँदैन । तर, साधारणता संस्थापनको पार्टीमा बोलवाला चल्ने भएकाले एक पटकको लागि माधवकुमार नेपाललाई नै जिम्मेवारी सुम्पिन सक्छ ।

यी बाहेकका दृश्यहरू हेर्दा पार्टीभित्र केही नेताहरू महाधिवेशनमा केन्द्रीय पदाधिकारी टिमलाई निर्विरोध चयन हुन नदिने योजनाका साथ सक्रिय भएको समेत देखिन्छ ।

खैर, आगामी महाधिवेशनले पारित गर्ने राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, प्रगतिशील विधान र क्रान्तिकारी संगठनात्मक प्रतिवेदनले नयाँ आकार र सन्देश दिने निश्चित छ । यति भएपछि करिब ६ दशक लामो संघर्ष र हजारौँ सहिदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई राजनीतिक रूपमा मात्रै नभएर सामाजिक–आर्थिक पक्षसँग जोड्दै उपलब्धिको संस्थागत विकाश गर्नुपर्ने मूल कार्यभार एकीकृत समाजवादीको हुनेछ ।

समृद्धिको यात्रालाई अगाडि बढाउने र समाजवादको यात्रामा अघि बढ्ने पार्टीको रणनीतिक लक्ष्य हासिल गर्ने ठोस कार्यक्रम जनताका बिचमा लैजानु पर्नेछ । ललितपुरको बालकुमारीमा सम्पन्न केन्द्रीय कमिटीको आठौँ बैठकले दिएको ऐतिहासिक सन्देश पनि यही हो भन्ने लाग्छ ।

यति मात्रै होइन, उक्त बैठक पार्टी पुनर्गठनपछि र महाधिवेशन अगाडिको बैठक भएका कारण पनि ऐतिहासिक छ । साथै, पार्टी अध्यक्ष नेपाल, सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्ष डा.बेदुराम भुसाल र महासचिव घनश्याम भुसालले पेस गरेका क्रमशः राजनीतिक, समाजवादी कार्यक्रम, विधान र संगठनात्मक दस्तादेवहरू सर्वसम्मत रूपमा पारित भएका छन् ।

यस अर्थमा पनि उक्त बैठक झन् ऐतिहासिक बनेको छ । किनकि, राजनीतिक दस्ताबेज, समाजवादी कार्यक्रम, विधान र संगठनात्मक प्रतिवेदनहरू अस्तित्वमा रहेका अन्य कुनै कम्युनिष्ट पार्टीले नलेखेका कुराहरूलाई लिखितमा उतारिएका छन् ।

संसदमा र संख्यामा ठूलो देखिने कम्युनिष्ट पार्टीहरू एक खालको जडता र यथास्थितिवादमा रमाइरहेका छन् । यस्तो अवस्थामा एकीकृत समाजवादीले कम्युनिष्ट आन्दोलनलाई ध्रुवीकृत गर्ने, गोलबन्ध गर्ने र एकताबद्ध भएर समाजवाद हासिल गर्ने सपनाका साथ दस्तावेजिकरण गरेको छ ।

ठूला भनिएका एमाले जबजको जडता र माओवादी माओवादको जडतामा बाँचिरहेको अवस्थामा एकीकृत समाजवादीले समाजवादी कार्यक्रमको कार्यदिशा अगाडि बढाउने कुरालाई सामान्य रूपमा लिनु हुँदैन । यस कार्यलाई वैचारिक रूपमा इतिहासले स्मरण गर्ने नै छ ।

आजको दिनमा पनि असली कम्युनिष्ट विचारधारालाई आत्मसात् गर्नेहरूको मूलधार एकीकृत समाजवादी नै हो भन्ने वैचारिक र सैद्धान्तिक अवस्था सिर्जना भएको छ ।

आठौँ केन्द्रीय कमिटी बैठकको चर्चा

अध्यक्ष नेपालले २१ बुँदामा वर्तमान राजनीतिक अवस्था, राष्ट्रिय, अन्तर्राष्ट्रिय सम्बन्ध, पार्टीको मुख्य सैद्धान्तिक अवधारणा, रणनीति र कार्यनीति, पार्टी पुनर्गठनको अभियान, विद्रोहको औचित्य, पार्टी विभाजन, सत्ता गठबन्धन, एमसीसी, तीन तहका सरकार लगायतका विषयमा मिहिन व्याख्या गरेका छन् । पार्टीको आगामी कार्यभारका सन्दर्भमा १३ बुँदामा स्पष्ट व्याख्या गरिएको छ ।

जो पार्टी जीवनको अन्त्यतै महत्त्वपूर्ण श्रङ्खला हो । त्यस्तै, महासचिव भुसालले १८ पेजको संगठनात्मक दस्ताबेज लेखेका छन् । महासचिवको प्रतिवेदनको मूल सार नै क्रान्तिकारी सांसदवाद हो । २४ बुँदामा महासचिव भुसालले वैचारिक र सैद्धान्तिक रूपमा पार्टीलाई कसरी जीवन्त बनाउने भन्ने बारेमा सपोर्ट व्याख्या गरेका छन् ।

विधान प्रतिवेदनलाई ऐजनमा राखेर भन्नुपर्दा एकीकृत समाजवादीले अघि सारेको नेपाली विशेषताको समाजवादी कार्यक्रम, राजनीतिक प्रतिवेदन, विधान र संगठनात्मक दस्तावेजमाथि १२ वटा समूहले सघन छलफल गरेका थिए ।

अधिकांश समूहले पार्टीले अघि सारेको समाजवादी कार्यक्रम केही लामो भयो भनेर सुझाव दिएका थिए । राजनीतिक प्रतिवेदनले प्रधान अन्तर्विरोधी शक्ति किटान नगरेको, विधानले केन्द्रीय कमिटीको संख्या बढाउनुपर्ने र संगठनात्मक दस्ताबेज प्रगतिशील छ भनेर टोली नेताले सुझाव सुनाएका थिए ।

यहाँनेर स्मरण गर्नुपर्ने कुरा के हो भने, कुनै पनि कार्यक्रम तय गर्दा त्यसको विगतलाई आधार मान्नुपर्छ, वर्तमानमाथि ठोस विश्लेषण गरिनुपर्छ र आगतलाई ध्यानमा राख्नुपर्छ । यति गरेपछि मात्रै त्यो कार्यक्रमले सार्थकता प्राप्त गर्छ । ठिक यसैगरी झालनाथ खनालले ‘नेपाली विशेषताको समाजवादी कार्यक्रम’ लेखनका क्रममा यसको ऐतिहासिक आधार खोतलेका छन् । भोलिका दिनमा समृद्ध बनाउने, थप परिष्कृत गर्ने अवसर बाँकी छ ।

नेता खनालले उमेर र राजनीतिको उत्तरार्धमा जुन विचार दिएका छन्, यसको खुलेर प्रशंसा गरिनुपर्छ । उनले नेपाली समाजको विकासक्रम, नेपाली समाजका विशेषता, अर्ध उपनिवेश र अर्ध—सामन्ती नेपाल, नेपाली नयाँ जनवादी क्रान्तिको प्रक्रिया, नेपाली क्रान्तिका दुई ऐतिहासिक चरणलगायत १७ बुँदामा सप्रसँग व्याख्या गरेका छन् । यो अत्यन्तै आवश्यक काम थियो ।

त्यस्तै, समाजवादी कार्यक्रमको १८औँ बुँदामा समाजवादी कार्यक्रमको ठोस रूपलाई उल्लेख गरिएको छ । जहाँ राज्य व्यवस्थाका सम्बन्धमा, उद्योग क्षेत्रको विकासका सन्दर्भमा, कृषि क्षेत्रका बारेमा, सिँचाइ, वैज्ञानिक नापी र भूमिको विकासका बारेमा, शिक्षा, स्वास्थ्यका बारेमा, जलस्रोत र ऊर्जाका बारेमा, यातायातका सम्बन्धमा, पर्यटनका बारेमा, सूचना तथा सञ्चारका सम्बन्धलगायत ३५ बुँदामा बृहत्तर व्याख्या गरिएको छ ।

थप १५ बुँदामा क्रान्तिको वर्तमान अवस्था र तत्कालीन कार्यभारहरूमाथि चर्चा गरिएको छ । जहाँ राष्ट्रिय पुँजीको विकास गर्ने, प्रगतिशील विदेश नीति, भ्रष्ट्राचार अन्त्य, समाजवादी संस्कृतिको विकास, वर्ग संघर्ष, संसदीय संघर्ष आदिका बारेमा सपोर्ट व्याख्या गरिएको छ ।

समाजवादी कार्यक्रमको अन्तिम व्याख्यामा समाजवाद निर्माणको प्रक्रियाका बारेमा १० वटा बुँदामा स्पष्टसँग व्याख्या गरिएको छ । यसरी समाजवादी कार्यक्रमलाई लिखतमा उतार्न सफल बनेको एकीकृत समाजवादीको नेतृत्वले कार्य व्यवहारमा कसरी उर्ताछ ? त्यो भने हेर्न बाँकी छ ।

हाम्रो जस्तो मुलुकका सामान्य जनता र देशको समृद्धिका निम्ति समाजवादी कार्यक्रमको अनिवार्यता र आवश्यकता उच्च छ । तर, लिखतमा उतारेर मात्रै हुँदैन समाजवादी कार्यक्रमलाई कार्यान्वयन गर्नका निम्ति बलियो र क्रान्तिकारी कम्युनिष्ट पार्टी चाहिन्छ । क्रान्तिकारी पार्टी बन्नका निम्ति क्रान्तिकारी नेता कार्यकर्ता चाहिन्छन् ।

कुनै आरोप प्रत्यारोप र अनैतिक धन्दामा नमुछिएका स्वच्छ छविका नेता–कार्यकर्ताहरूले मात्रै विशाल अभिभाराको सार भेट्न सक्छन् । नेता–कार्यकर्ताहरू सामूहिक हित, भलाई, निष्ठा, नैतिकता, पारदर्शीताको आलोकमा उभिनु सक्नुपर्छ, इमानदारिताका साथ शिर ठाडो गरेर बाँच्नुपर्छ ।

यसका साथै पठन÷लेखनमा सक्रिय राख्नुपर्छ । खेताला लेखन, भाषण र मन्तव्यले दिगो राजनीति हुँदैन । नेता बनिँदैन । नपढेर, नलेखेर पार्टीको समाजवादी दस्ताबेजका बारेमा बुझाउन त के दुई वाक्य बोल्नसमेत सकिँदैन । चेतना भया ।

(लेखक वास्तविक एकीकृत समाजवादीका केन्द्रीय प्रचार विभाग सदस्य हुन् ।)

प्रतिक्रिया दिनुहोस्