Logo
Logo

चौथो ‘आदिवासी जनजाती चलचित्र महोत्सव’ हुँदै


2.3k
Shares

काठमाडौं । आदिवासी जनजाती चलचित्र महासंघको आयोजनामा ‘चौथो आदिवासी जनजाती चलचित्र महोत्सव–२०८१’ हुने भएको छ । यही जेठ २३, २४ र २५ गते तीन दिने चलचित्र महोत्सव हुने भएको हो ।

महासंघले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी गराएको हो । महोत्सव प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा आयोजना हुनेछ । आदिवासी जनजाति चलचित्रको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।

महासंघका अध्यक्ष पुर्खाजित राईले भने, ‘महासंघले स्थापनाकालदेखि नै महोत्सव लगायतका आदिवासी जनजाती चलचित्र प्रवद्र्धन सम्बन्धी कार्यक्रम गर्दै आएको हो । तर, कोरोना महामारीका कारण तेस्रो संस्करणपछि महोत्सव आयोजना गर्न सकिएको थिएन । अहिले आएर पुनः निरन्तरता दिएका हौँ । आगामी दिनमा अझ महोत्सवलाई परिस्कृत गर्दै जाने छौँ ।’

मुलुकको अर्थतन्त्र बलियो बनाउन र राष्ट्रको सांस्कृतिक पहिचानलाई जोगाइ राख्न आदिबासी जनजाति चलचित्रको ठूलो भूमिका रहेको भएपनि राज्यले चासो नदिएको अध्यक्ष राईले गुनासो गरे । उनले भने, ‘समृद्व नेपाल निर्माणमा चलचित्र पनि एक महत्वपूर्ण अंग हो । तर, चलचित्र निर्माणलाई राज्य खाशै चासो र महत्व दिइएको पाइँदैन ।’

२०४४ सालमा नेवारी भाषाको चलचित्र ‘शिलु’ निर्माण भएयता ७ सयभन्दा बढी आदिबासी चलचित्रहरु निर्माण भइसकेको बताउँदै उनले थपे, ‘तर, नितिगत समस्याका कारण सोचेअनुरुप आदिवासी जनजाति चलचित्रको बिकास हुन सकेको छैन ।’

आदिवासी जनजाती चलत्रि महोत्सवले आदिवासी जनजातिका मौलिक कला, संस्कृति, भाषा, धर्म, परम्परा र लोकप्रथाको दस्तावेजीकरण एवं संरक्षण र प्रवद्र्धनका साथै पर्यटन बिकासमा टेवा पुग्ने आयोजकको विश्वास छ ।

महोत्सवको यस चौथो संस्करणमा फिचर, शर्ट फिल्म डकुमेन्ट्रीसहित नौ वटा चलचित्र प्रदर्शन गरिने छ । साथै, अन्य चारसहित एक अन्तर्राष्ट्रिय फिल्म पनि प्रदर्शन गरिने अध्यक्ष राईले बताए ।

महोत्सवमा लोकेन साँवा निर्देशित लिम्बू चलचित्र ‘सुगुप’, हुत्त सञ्जय तामाङको ‘दार्वुङ’ (तमाङ), माओत्से गुरुङको ‘मार्कली’ (गुरुङ), वुद्धया मगरको ‘रोस’ (मगर), परशुराम चौधरी ‘जतिया २’ (थारु), दिपनारायण राजवंशीको ‘मोख’ (राजबंशी) हिलारी बन्धु भुजेलको ‘जन्मदेखि मृत्य संस्कार’ (भुजेल) प्रदर्शन गरिने भएको छ । यस्तै, प्रतिष्ठानका ४ वटा र ईगल पेडेरसन निर्देशित नवेजियन फिल्म ‘इण्डिजिनीयस पुलिस’को बिषेश प्रदर्शनी गरिने भएको छ ।

महोत्सवमा प्रदर्शन हुने उत्कृष्ट चलचित्रलाई नगत २० हजार, उत्कृष्ट वृतचित्रलाई १० हजार, उत्कृष्ट सर्टफिल्मलाई १० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, पब्लिक चोईस अवार्ड पाउनेलाई ३५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

साथै, महोत्सवमा आदिवासी जनजाती चलचित्र निर्माणमा योगदान गर्ने व्यक्तिलाई सम्मान प्रदान गरिने अध्यक्षले राईले बताए । ‘यस वर्ष आदिवासी जनजाती चलचित्र सम्मान पनि प्रदान गर्दैछौँ’ अध्यक्ष राईले भने, ‘साथै आदिवासी चलचित्र पत्रकारिताको पनि घोषणा गर्दैछौँ । जुन पुरस्कार अर्को वर्षदेखि प्रदान गरिनेछ ।’

यस चलचित्र महोत्सवमा आदिवासी मौलिक खानाको स्टल, मौलिक आदिवासी भेषभुषा, आदिवासी फोटो प्रदर्शन, मौलिक आदिवासी ¥याम्प वाक, मौलिक विभिन्न जातिको झाँकीका साथमा सांस्कतिक कार्यक्रमसमेत हुनेछ । साथै, नर्भिक अन्तर्राष्ट्रिय अस्पतालसँगको सहकार्यमा जेनरल स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम समेत सञ्चालन गरिने छ ।

चौथो आदिवासी चलचित्र महोत्सवमा चलचित्र विकास बोर्ड, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, नेपाल पर्यटन बोर्ड, राष्ट्रिय वाणिज्य वैंक, नेपाल टेलिकम, नर्भिक अन्तर्राष्ट्रिय अस्पताल, माडवाडी सेवा समितिको सहकार्य रहने छ ।

प्रतिक्रिया दिनुहोस्