Logo

मनमोहन अधिकारी एशियाकै ‘टावर पर्सानालिटी’


Published On : 14 April, 2020

– केदारमान सिंह

मैले भेटेका कम्युनिष्ट नेतामा मनमोहन अधिकारी धेरै शालिन र बौद्धिक व्यक्तित्व हुनुहुन्थ्यो । उहाँको जीवन संघर्ष नै संघर्षमा बित्यो । मैले भेट्दा उहाँ जहिले पनि सामान्य कार्यकर्ताको जस्तो रुपमा प्रस्तुत हुनुहुन्थ्यो । पत्रकारहरु भेट्न आउँछन् भनेपछि उहाँ अरु बेलामा भन्दा बढी सचेत र सजग देखिन्थे । उहाँसँग भेट्दा मैले जहिले पनि केही न केही प्रश्न सोधिरहेको हुन्थे । मेरो प्रश्न भुइँमा खस्न नपाउँदै उहाँले जवाफ फर्काउनुहुन्थ्यो । जवाफ स्पष्ट जनताले बुझ्ने भाषामा दिनुहुन्थ्यो । उहाँको श्रीमती साधना प्रधानसँग मेरो पारिवारिक सम्बन्ध जस्तो भएकाले पनि होला मनमोहनजी र म साथीजस्तो थियौँ ।

कम्युनिष्ट नेता मनमोहन अधिकारी दूरदर्शी नेता थिए भन्ने निष्कर्षमा हामी पुग्न सक्छौँ । जो छलछाम नगरी जीवनभर प्रजातन्त्रका लागि लडे । एशियाकै ‘टावर पर्सानालिटी’ भएका अधिकारीको अर्को दूरदर्शी निर्णय त्यतिबेलाको मालेसँग पार्टी एकता गर्नु थियो । मदन भण्डारी जल्दाबल्दा नेता थिए । भण्डारी नेता मात्र होइन, दूरदर्शी पनि थिए । त्यसैले भण्डारीले अधिकारीलाई एमालेको अध्यक्ष बनाए । आफू महासचिवमै बसे । यो घटना अधिकारीको लागि अवसर बन्यो । यही पृष्ठभूमिमा अधिकारी नेपालकै पहिलो कम्युनिष्ट प्रधानमन्त्री बने ।

बिबीसीको उहाँ नियमित स्रोता हुनुहुन्थ्यो । बीबीसीमा मैले गर्ने रिर्पोटिङका विषयमा बेलाबेला फोन गरेर प्रतिक्रिया दिनुहुन्थ्यो । उहाँको कतिपय विचार मेरा लागि मार्गनिर्देशकजस्तै हुन्थ्यो । त्यतिबेला सञ्चार सुविधा केही पनि थिएन । टेलिफोनको भरमा मात्रै कति समाचार संकलन गर्ने भनेर म जहाँ पनि रिर्पोटिङ गर्न आफैँ पुग्थेँ ।

कांग्रेस, कम्युनिष्ट पार्टी प्रतिबन्ध भएकोले कतिबेला नेताहरुसँग लुकेर भेट्नुपर्ने हुन्थ्यो । कतिपयबेला गणेशमान, मनमोहन, कृष्णप्रसाद भट्टराई, मार्शलजुलुम शाक्य, सहाना प्रधान आदिले फोनबाट बोलाएरै सूचना दिने गर्थे । नेताहरुको यस्तो आत्मीयताले मनोबल पनि बढ्थ्यो । पेशाले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको प्रतिनिधि भए पनि मैले जीवनमा राजनीतिक स्वतन्त्रता र प्रेस स्वतन्त्रतालाई जोड दिँदै आए ।

बीबीसीको रिपोर्ट दरबारियाहरुलाई मन पर्थेन । उनीहरु कांग्रेस, कम्युनिष्टको रिपोर्ट सकभर नबजे हुन्थ्यो जस्तो गर्थे । तर, म स्वतन्त्र सञ्चारमाध्यम बीबीसीको रिपोर्टर भएको हुँदा सत्य, तथ्य समाचारमा जोड दिन्थे । राजनीतिक दल प्रतिबन्ध भए पनि भित्रभित्र कार्यकर्ताहरुले आफ्नो गतिविधि, सूचनाहरु पठाइरहन्थे । हरेक दिन वा हरेक हप्ता केही न केही राजनीतिक दलका समाचार बीबीसीले प्रसारण गरेर त्यतिबेला बहुदलमा लागेका राजनीतिक दल र नेताहरुलाई गुन लगाएको छ ।

०३६ सालमा जनमत संग्रह भएपछि जनताको चेतनाको स्तर पनि उठ्यो । जनमत संग्रहमा बहुदलको पक्षमा बीस लाख मत खसेपछि नेपाली जनता राजनीतिक स्वतन्त्रताको पक्षमा छ भन्ने स्पष्ट भयो । त्यसपछिका सञ्चारमाध्यमहरुले पनि खुलेर आ–आफ्नो पार्टीका गतिविधि सम्प्रेषण गर्न थाले । ०४६ सालको जनआन्दोलन सफल पार्न जनमत संग्रहले ढोका खोल्यो । ०३६ सालदेखि ०४६ सालसम्म आइपुग्दा देशैभरि राजनीतिक स्वतन्त्रताको पक्षमा एउटा वातावरण बनिसकेको थियो ।

गणेशमान सिंह र सहाना प्रधानको वाममोर्चा बनेपछि त्यो घटनाले बीबीसीमा महत्वपूर्ण स्थान पायो । ०३६ सालमा कांग्रेस र मनमोहन अधिकारीको पार्टी (माक्र्सवादी) मात्र बहुदलको पक्षमा थियो । अरु कम्युनिष्ट पार्टी जनमत संग्रह धोका भन्दै बाहिष्कारमा लागे । जसले गर्दा पञ्चायतलाई धाँधली गर्न सजिाले भयो ।

०३६ सालको पाठक सिकेर ०४६ सालमा जब कांग्रेस र सबै कम्युनिष्ट पार्टीहरु एक ठाउँमा आए, तब दरबारको केही लागेन । ०१७ सालमा राजा महेन्द्रले खोसेको प्रजातन्त्र पुनःस्थापनाका लागि अन्तर्राष्ट्रिय जगत्ले पनि सहयोग गरे । विश्व परिस्थिति पनि त्यस्तै बन्यो । सोभियत संघ जस्तो देशमा कम्युनिष्ट पार्टी ध्वस्त भयो ।

यस घटनाक्रमलाई केलाउँदा कम्युनिष्ट नेता मनमोहन अधिकारी दूरदर्शी नेता थिए भन्ने निष्कर्षमा हामी पुग्न सक्छौँ । जो छलछाम नगरी जीवनभर प्रजातन्त्रका लागि लडे । एशियाकै ‘टावर पर्सानालिटी’ भएका अधिकारीको अर्को दूरदर्शी निर्णय त्यतिबेलाको मालेसँग पार्टी एकता गर्नु थियो । मदन भण्डारी जल्दाबल्दा नेता थिए । भण्डारी नेता मात्र होइन, दूरदर्शी पनि थिए । त्यसैले भण्डारीले अधिकारीलाई एमालेको अध्यक्ष बनाए । आफू महासचिवमै बसे । यो घटना अधिकारीको लागि अवसर बन्यो । यही पृष्ठभूमिमा अधिकारी नेपालकै पहिलो कम्युनिष्ट प्रधानमन्त्री बने ।

त्यो घटनाले म अत्यन्तै खुशी भएँ । हेर्दाहेर्दैै यस्तो सुखद् दिन पनि देख्न पाइयो । म मनमोहनलाई भेट्न सिंहदरबार पुगे । बधाई दिएँ । सानो अन्तर्वार्ता पनि लिएँ । देशका लागि केही गर्नुपर्छ भनेर जीवनभर लडेका मान्छे प्रधानमन्त्री भएपछि देशले केही पाउँछ भन्ने आशा जाग्यो । ‘वृद्धभत्ता, आफ्नो गाउँ आफैँ बनाऔँ’, जस्ता कार्यक्रम आएपछि झनै खुशी भए । अब त देशले प्रगति गर्ने कुरामा ढुक्क भएँ । किनभने, ०४६ सालको राजनीतिक परिवर्तनपछि कृष्णप्रसाद भट्टराईले संविधान जारी गरे । त्यसपछिको चुनावमा भट्टराई अन्तर्घातको कारण हारे । गिरिजाप्रसाद कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईबीच विवाद चुलियो । त्यही विवादका कारण कांग्रेस पार्टी र गिरिजाको सरकारबीच धेरै पटक लडाइँ चल्यो । यो देशका लागि राम्रो कुरा थिएन । अन्ततः कांग्रेस पार्टी नै फुट्यो । त्यो देशकै लागि दुर्भाग्य बन्यो ।

अहिले देश गणतन्त्रमा गइसकेको छ । आफूले गल्ती गर्ने, राजालाई दोष दिने ठाउँमा हामी कोही पनि छैनौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली जनताले ठूलो मौका दिएको छ । दुईतिहाको सरकार छ । तर पनि जनताले दुःख पाएका छन् । सामान्य किसान, गरिब परिवारलाई कम्युनिष्ट सरकारले हेरेको छैन । बजारमा बिचौलियाको बिगबिगी छ । कम्युनिष्ट सरकार बनेपछि विकृति, विसंगति अन्त्य हुनुपर्ने हो । बदमासहरुलाई कानूनले समाउनु पर्ने हो । त्यो देखिएको छैन । प्रधानमन्त्री ओलीले बोलेर दुईतिहाइ ल्याए, अब गरेर देखाएर दुईतिहाइलाई जोगाउनुपर्ने दायित्व उहाँमाथि छ । किसानले पाँच रुपैयाँमा बेच्ने टमाटर हाम्रो भान्छामा आइपुग्दा ३० रुपैयाँसम्म पर्छ यो सूचना सरकारलाई छ कि छैन ?
– भोटेबहाल

प्रतिक्रिया दिनुहोस्