Logo
Logo

आज पाँचौं पटक विश्वासको मत लिँदै मधेशका मुख्यमन्त्री


2.3k
Shares

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज पाँचौँ पटक विश्वासको मत लिने तयारी गरेका छन् । केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)  एकीकृत समाजवादी लगायतका दललेले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि उनले आज विश्वासको मत लिन लागेका हुन् । ​

डेढ वर्षअघि मुख्यमन्त्री बनेका यादवले यसअघि चारपटक विश्वासको मत लिइसकेका छन्। आज उनले पाँचौँ पटक विश्वासको मत लिन लागेका हुन्। कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्थाअनुसार मुख्यमन्त्री यादवले आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिन लागेकाे प्रदेशसभा सचिवालयका सूचना अधिकारी चन्दनकुमार ठाकुरले जानकारी दिए ।

यसअघि बहुमत सांसदको समर्थन पाउँदै आएका मुख्यमन्त्री यादवलाई यसपटक भने विश्वासको मत पाउने सम्भावना निकै कमजोर देखिएको छ। जसपाका अध्यक्ष उपेन्द्र यादव निकट मानिने मुख्यमन्त्री यादवलाई नेपाली कांग्रेसले मात्र विश्वासको मत दिने निर्णय गरेको छ । यस हिसाबले मुख्यमन्त्री आबद्ध पार्टी जसपाका १९ र कांग्रेसका २२ गरी ४१ सांसद उनको पक्षमा देखिएका छन् ।

१०७ सदस्यीय प्रदेश सभामा सरकार बनाउन ५४ जना सांसदको समर्थन आवश्यक पर्छ । यहाँ केन्द्रीय सत्ता गठबन्धनमा रहेका दलहरूले जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनाउने तयारी गरेका छन् । एमालेका सभामुखबाहेक २४, माओवादीको ९, जनमत पार्टीको १३ र एकीकृत समाजवादीका ७ सांसद छन् ।

यहाँ सरकार गठनका लागि सत्ता गठबन्धनसँग एक सिट अपुग हुन्छ । यहाँ लोकतान्त्रिक समाजवादी पार्टीका ८ सांसद छन्। तर, मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने कि नदिने लोसपाले अझै निर्णय गर्न सकेको छैन। त्यसैगरी मधेस प्रदेस सभामा नेपाल सङ्घीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक÷एक प्रदेश सांसद छन् । उनीहरुले पनि कता मतदान गर्छन् हालसम्म निर्णय गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्