काठमाडौं । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले भरिया, च्याङ्ग्रा र खच्चडलाई पनि कर लाग्ने हो कि भन्दै चिन्ता व्यक्त गरेका छन्। ढुवानीका सामानमा भ्याट लाग्ने परम्पराले ढुवानीका माध्यम भरिया, च्याङ्ग्रा र खच्चडलाई पनि कर लाग्ने हो भन्दै चिन्ता व्यक्त गरेका हुन्।
बुधवार प्रतिनिधिसभामा आर्थिक वर्ष २०८१।०८२ को विनियोजन बजेटको विषयमा भएको छलफलमा बोल्दै यस्तो बताएका हुन् ।

उनले सरकारले ल्याउने हरेक बजेट राजस्व संकलन, वैदेशिक सहायता लगायतमा लक्ष्य अनुरूप संकलन नहुँदा हरेक वर्ष घाटामा बजेट ल्याउनुपर्ने अवस्था रहेको बताए । उनले यस्तो अवस्थामा ल्याएको बजेटले मुलुकको चौतर्फी विकास हुन नसक्ने बताए। सांसद खतिवडाले देश ऋण लिएर ऋण तिर्नुपर्ने अवस्थामा रहेको बताए ।
सांसद खतिवडाले भने, ‘ढुवानीका सामानमा भ्याट लाग्ने परम्पराले भरिया, च्याङ्ग्रा र खच्चडलाई पनि कर लाग्ने हो कि भन्ने समस्या सिर्जना भएको छ । सधैँ घाटामा प्रस्तुत गर्ने बजेट देशको विकार समृद्धिमा अगाडि बढ्ने अवस्था देखिएन । यी कुरामा सरकारले ध्यान देओस् ।’
उनले भविष्यमा लगानी नहुने, उत्पादन नबढ्ने र राजस्व नबढ्ने अवस्था रहिरहे बजेटमा जति राम्रो कुरा गरे पनि कार्यान्वयनमा जान चुनौती रहेको बताए । घाटामा प्रस्तुत गर्ने बजेटले देशको विकास र समृद्धि हुन नसक्ने बताएका छन् ।














