Logo
Logo

घट्न थाले अन्नपूर्ण पदमार्गमा पर्यटक


252
Shares

लमजुङ । पाँच जिल्ला जोडिएको पर्यटन क्षेत्रमा महत्वपूर्णमध्ये एक मानिने अन्नपूर्ण पदमार्गमा पछिल्लो समय पर्यटक घट्न थालेका छन् । यहाँ दुई सय ५० को हाराहारीमा दैनिक पर्यटक आउने गरेकामा वर्षा सुरु हुन थालेपछि १५-२५ जना मात्र आउन थालेका मनाङको धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रले जनाएको छ ।

वर्षा सुरु हुन लागेपछि यहाँ यतिबेला दैनिक १५ देखि २५ जनासम्म पर्यटक आउने गरेका केन्द्रका प्रमुख भूपेन्द्र गुरुङले बताए । उनले भने, ‘केही साताअघिसम्म दुई सय ५० जना आउने गरेकामा उक्त सङ्ख्याबाट घटेर दैनिक ४०/५० को हाराकारीमा आएको थियो । त्यो सङ्ख्या पनि घट्ने क्रममा छ ।’

मङ्गलबार पदमार्गका लागि नौ जना मात्र पर्यटक आएका गुरुङले जानकारी दिए । उनका अनुसार यो सङ्ख्या पनि अझै घट्दै पाँच/छ जनामा आउन सक्नेछ । भदौ लागेपछि पुनः पर्यटककीय चहलपहल सुरु हुने भन्दै भदौअघि पर्यटक आगमन कम हुँदै जाने उनको भनाइ छ ।

विगतमा यस पदमार्गमा दैनिक पाँच÷छ सय पर्यटक आउने गर्दथे । कोरोना महामारीपश्चात् थलिएको यस क्षेत्रको पदमार्गमा महामारीपछि पुरानो गतिमा पर्यटक आगमन हुन सकेको छैन । विदेशी तथा आन्तरिक पर्यटकको चहलपहल हुने यस पदमार्गमा पर्यटक घट्न थालेसँगै पदमार्गसँगै आसपासका होटल, रेष्टुरेन्टहरु समेत सुनसान हुन थालेका पर्यटन व्यवसायीको भनाइ छ ।

लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेका पर्यटन व्यवसायी बाबुराम तामाङले पर्यटक आगमन भइरहँदा दैनिक रु ३०–४० हजार आम्दानी हुने भन्दै यतिबेला पर्यटक घट्दा रु पाँच-१० हजार मात्र हुने गरेको बताए । बर्खा लागेपछि झन आम्दानी ठप्प हुने उनको भनाइ छ ।

पर्यटन व्यवसायी पच्चबहादुर गुरुङले भने, ‘तीनदिन अघिसम्म केही पर्यटक होटलमा आएपनि सोयता व्यापार ठप्पै भएको छ ।’ यस वर्षको पर्यटनको याममा रु १० लाख आम्दानी भएको जनाउँदै उहाँले वर्षाभरि सोही रकमले घरखर्च चलाउने बताए । उनका अनुसार भदौ लागेपछि पुनः पर्यटक आगमन हुने र व्यापार व्यवसाय चलायमान हुनेछ ।

बर्खा लागेसँगै बाटो अप्ठ्यारो, बाढी पहिरो आउनेलगायत समस्या हुने भएकाले पर्यटक ठप्प हुने केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख गुरुङले सन् २०२४ को जनवरीदेखि जुन ४ सम्म यस पदमार्गमा १० हजार दुई सय ७९ जना विदेशी पर्यटक आएका छन् । उक्त अवधिमा आएका पर्यटकमध्ये सबैभन्दा धेरै फ्रान्सका एक हजार ४९, इजरायलका आठ सय ३१, जर्मनीका सात सय ७१, चाइनाका छ सय ९६ रहेका उहाँले जानकारी दिए । सन् २०२३ को जनवरी १ देखि जुन ४ तारिखसम्म नौ हजार दुई सय ४१ जना पर्यटक आएका थिए ।

पर्यटकहरु हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको संस्कृति, परम्परा र रहनसहन, प्राकृतिक सुन्दरता हेर्ना साथै मनाङबाट मुस्ताङ, कोही पोखरा जान अन्नपूर्ण पदमार्गमा आउने गर्दछन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका-७ मनाङ्गे चौतारमा छ ।

पदमार्गमा लमजुङसहित कास्की, मनाङ, मुस्ताङ र म्याग्दी गरी पाँचवटा जिल्ला जोडिएको छ । काठमाडौँ हुँदै सवारीसाधनमा लमजुङ बेँसीसहरमा पर्यटक आउने गर्दछन् । यस पदमार्गमा विगतको तुलनामा कोरोनापश्चात् कम पर्यटक आगमन हुन थालेका छन् । आर्थिक मन्दी, पदमार्ग जीर्ण, सडकले केही ठाउँमा पदमार्ग मासिनुलगायत कारणले कम पर्यटक आएका हुन सक्ने पर्यटन व्यवसायी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्