Logo
Logo

सुरु भयो सहकारी छानबिन विशेष समितिको काम


252
Shares

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग छानबिन गर्न बनेको संसदीय विशेष समितिले दुई दिनभित्र कार्यविधि बनाउने निर्णय गरेको छ । बुधवार नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको समितिको पहिलो बैठकले दुई दिनभित्र समितिको कार्यविधि बनाएर अर्को बैठकमा पेस गर्ने निर्णय गरेको हो ।

कार्यविधिको मस्यौदा बनाउने जिम्मेवारी समिति सचिवालयलाई दिइएको छ । आजको बैठकमा सभामुख देवराज घिमिरेको पनि उपस्थिति थियो । बैठकमा घिमिरेले प्रतिनिधि सभाबाट पारित समितिको कार्यादेश, दलहरू बीच भएको सहमति, कार्यक्षेत्र र अनुसूचीमा समावेश भएका सहकारीको नामावली सहितको दस्तावेज समिति सभापति सूर्य थापालाई हस्तान्तरण गरेका थिए ।

संसदीय विशेष समितिको पहिलो बैठकमा सभामुख उपस्थित हुने चलन छ । बैठकपछि सभापति थापाले तोकिएकै समयमा काम सक्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘दुई दिनभित्र कार्यविधि मस्यौदा तयार हुनेछ । त्यसलाई छलफल गरेर अर्को बैठकले टुङ्गोमा पु¥याउने आजको बैठकले निर्णय गरेको छ ।’

समिति सदस्य ईश्वरीदेवी न्यौपानेले तीन महिनाभित्रै काम सम्पन्न गर्नका लागि रात दिन नभनी काम गरिने प्रतिबद्धता सबैबाट आएको बताए । समितिको समयावधि पहिलो बैठक बसेको मितिले तीन महिना तोकिएको छ । समितिको अर्को बैठक शुक्रबार बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्