
काठमाडौं । नेकपा एमालेका सांसद मानवीर राईले सोलुखुम्बुस्थित लुक्ला विमानस्थलको स्तरोन्नति गर्न माग गरेका छन् ।बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले सोलुखुम्बुस्थित लुक्ला विमानस्थलको उच्च प्राथमिकताका साथ स्तरोन्नति गर्न सरकारसँग माग गरेका हुन् ।
सगरमाथा घुम्न जाने पर्यटकहरूले सोही विमानस्थलको प्रयोग गर्छन् । तर, एकपटक लुक्ला विमानस्थल पुगेका पर्यटक पुनः विमानस्थलमा नआउने गरेको उनले बताए । पर्यटन विकासको मुख्य आधार नै सगरमाथा रहेको उल्लेख गर्दै यस विमानस्थलाई सगरमाथाको पहुँचमार्गको रूपमा लिएर स्तरोन्नति गर्नुपर्ने उनको भनाई थियो ।
‘संसारका पर्यटकहरू सगरमाथा घुम्न आउँछन् । तर, एकमात्र हवाइ यात्रा लुक्ला एयरपोर्ट छ । सानो एयरपोर्ट छ । दुःख कष्ट सहेर त्यो क्षेत्रमा पर्यटक आउन बडो गाह्रो मान्ने परिस्थिति छ,’ उनले भने, ‘पर्यटन विकास हाम्रो मुलुकको आधार हो भने यसलाई प्राथमिकता दिनुपर्छ । गएको सालको बजेटले त्यसलाई समेट्न सकेन । अहिले मन्त्रीज्यूले प्राथमिकतामा राखेको छु भन्नुभएको छ । प्राथमिकतामा मात्रै होइन उच्च प्राथमिकतामा राखेर सगरमाथाको पहुँचमार्ग भनेर उल्लेख गर्नु जरुरी छ ।’














