पोखरा । व्यास नगरपालिकाको पुनःमतगणना गर्ने उच्च अदालत पोखराको फैसलाविरुद्ध मेयर वैकुण्ठ न्यौपाने सर्वोच्च पुगेका छन् ।
एमाले समर्थनमा मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका दीपकराज जोशीको रिटमाथि उच्चले निर्वाचन भएको २ वर्षपछि पुनःमतगणना गर्ने फैसला गरेको थियो ।

गत जेठ १ गते जोशीको पक्षमा फैसला गर्दै असार २ गते पुनःमतगणना गर्ने व्यवस्था मिलाउन उच्च अदालतका रजिस्ट्रारलाई निर्देशन जारी गरेको थियो । तनहुँबाट शिलबन्दी गरेर राखिएको मतपत्र पोखरा ल्याएर मतगणना गर्ने तयारी थियो ।
तर, उच्चको फैसला नै त्रुटिपूर्ण रहेको भन्दै उच्चको फैसला बदर गर्न माग गर्दै मेयर न्यौपाने बिहीबार सर्वोच्च पुगेका हुन् ।
निर्वाचन कसुर तथा ऐन अन्तर्गत उच्चले मुद्धा दर्ता गरेर पहिलो सुनुवाइ भएसँगै त्यसको स्वभाविक हिसाबले सर्वोच्चमा पुनरावेदन लाग्ने तर उच्चले अर्कै दफा प्रयोग गरेर पुनरावेदन नै नलाग्ने फैसला गरेको आरोप मेयर न्यौपानेको छ ।
२०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा मेयर न्यौपाने जोशीलाई पराजित गर्दै दोस्रो पटक व्यासको मेयर बनेका थिए ।
नेकपा एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीका छोरा दीपकराजले धाँदली भएको भन्दै मतपरिणाम रद्ध गरेर पुनःमतगणना गर्न २०७९ जेठ १२ गते उच्चमा रिट हालेका थिए ।
न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको इजलासले मतपरिणाम रद्ध गर्दै १ असार २ गते पुनःमतगणना गर्न आदेश गरेको छ ।
नेकपा एमालेको समर्थनमा व्यासमा मेयरको उम्मेदवार बनेका जोशी नेपाली कांग्रेसका बैकुण्ठनाथ न्यौपानेसँग २५२ मतान्तरले पराजित भएका थिए । न्यौपानेले १२ हजार ७८ मत ल्याउँदा जोशीले ११ हजार ८२६ मत प्राप्त गरेका थिए ।














