Logo
Logo

लुम्बिनी विकास कोषका इन्जिनियर भट्टराई भ्रष्टाचारी ठहर


2.3k
Shares

काठमाडौं । लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराई भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको अकुत सम्पत्ति आर्जनको मुद्दामा विशेष अदालतले बिहीबार इन्जिनियर भट्टराईलाई दोषी ठहर गरेको हो ।

इन्जिनियर भट्टराईले पदीय दुरुपयोग गरी कोषका ठेकेदारबाट ८० लाख रुपैयाँ घुस खाएको र त्यो रकम जग्गामा लगानी गरेको अख्तियारको अनुसन्धानले निष्कर्ष निकालेको थियो ।

भट्टराईले आमा जनक नन्दनी भट्टराईको नाममा भक्तपुरको गुण्डु गाविस–३ स्थित २ रोपनी ९ आना २ पैसा क्षेत्रफल भएको कित्ता नम्बर १३७४ र २ आना १ पैसा क्षेत्रफल भएको कित्ता नम्बर १३७५ को जग्गा खरिद गरेका थिए ।

जग्गाको मोल तिरिदिने भने ठेकेदार थिए । भट्टराईले सो जग्गा खरिद गर्नका लागि लुम्बिनी विकास कोषमा ठेक्काको काम गर्ने निर्माण कम्पनीका सञ्चालकसँग घुस लिएर त्यो जग्गा किनेको अदालतको ठहर छ र जग्गा जफत हुने फैसला पनि अदालतले सुनाएको छ ।

हुन पनि ठेकेदारको बैंक खाताबाट जग्गा बिक्रेताको बैंक खातामा ४० लाख र जग्गा खोजिदिने व्यक्तिको खातामा ४० लाख गरी जम्मा ८० लाख रुपैयाँ जम्मा भएको विवरण नै अख्तियारले भेटाएको थियो। जग्गा खोजिदिने व्यक्तिले पनि ३८ लाख ७ हजार २ सय रुपैयाँ जग्गा बिक्रेताको खातामै पठाएका थिए। उक्त रकम घुसवापत लिएको अख्तियारको दाबी थियो।

अदालतले पनि अख्तियारको दाबी सदर गरेको छ । भट्टराईलाई सजाय तोक्नका लागि छुट्टै सुनुवाइ हुनेछ । सजाय निर्धारणका लागि जेठ ३१ गते पेसी तोकिएको छ । ३ वर्षभन्दा बढी कैद हुने अपराधमा अदालतले कसुर ठहर गरेपछि सजाय निर्धारणका लागि बेग्लै सुनुवाइ गर्छ । कोषको वरिष्ठ इन्जिनियर पदका कर्मचारी भए पनि भट्टराई विगत ७ वर्षदेखि योजना प्रमुखको नियुक्ति लिई काम गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्