Logo
Logo

सतिश सिंह नेतृत्वको मधेश सरकारमा को-को बन्दैछन् मन्त्री ? (नामसहित)


2.1k
Shares

काठमाडौं । सत्ता साझेदार ६ दलले जनमतका सतिश सिंहको नेतृत्वमा मधेश प्रदेशमा बन्ने नयाँ सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएका छन् ।

नयाँ सरकार गठनका लागि सिंहले दाबी पेश गरेसँगै ६ दलले सरकारमा जाने १० जना मन्त्रीहरूको नाम टुङ्गो लगाएका हुन् । जनमतले भने पार्टी अध्यक्ष सिके राउत बाहिर रहेकाले निर्णय गर्न बाँकी छ ।

नेकपा एमालेले आफ्ना पुरानै मन्त्रीहरूलाई सरकारमा सहभागी गराउने भएको छ । संसदीय दलका नेता सरोज यादवको नेतृत्वमा एमाले सरकारमा सहभागी हुने दलका उपनेता दीपेन्द्र ठाकुरले बताए ।

एमालेबाट भौतिक मन्त्रीमा सरोज यादव, शिक्षा मन्त्रीमा प्रमोद जैसवाल, स्वास्थ्य मन्त्रीमा शत्रुघन सिंह कोइरी र युवा तथा खेलकुद मन्त्रीमा राजकुमार लेखीलाई पठाउने निर्णय भएको छ । माओवादी केन्द्रले भने भरत साहको नेतृत्वमा २ जनालाई सरकारमा पठाउने टुङ्गो लगाएको छ ।

जसमा अर्थमन्त्रीमा भरत साह र पर्यटन मन्त्रीमा युवराज भट्टराई जाने भएका छन् । यता एकीकृत समाजवादीले यसअघिका सरकारमा सहभागी मन्त्रीहरूलाई नै दोहो¥याउने निर्णय गरेको छ । दलका नेता गोविन्द न्यौपानेको नेतृत्वमा समाजवादी सरकारमा सहभागी हुँदैछ ।

एकीकृत समाजवादीले कृषि मन्त्रीमा गोविन्द न्यौपाने र ऊर्जा मन्त्रीमा बेची लुङगेलीलाई पठाउने तय भएको छ । त्यस्तै नागरिक उन्मुक्ति पार्टीले श्रम तथा रोजगार मन्त्रीमा उर्मिला चौधरी र नेपाल सङ्घीय समाजवादीले गृह तथा सञ्चार मन्त्रीमा विमला अन्सारीलाई सरकारमा पठाउने निर्णय गरेको छ ।

यता जनमतले भने मुख्यमन्त्री र एक राज्यमन्त्रीलाई मात्र शपथग्रहण गराउने निर्णय गरेको छ । मुख्यमन्त्रीमा सिंहसँगै राज्यमन्त्रीमा रंजु खङ्ग मण्डलले शपथ लिनेछन् । पार्टी अध्यक्ष सिके राउत बाहिर रहेको कारणले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लागिसकेको छैन । प्रदेश प्रमुखको कार्यालयमा १२ बजे नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुको शपथ हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्