Logo
Logo

बालविवाहविरुद्ध अभियान चलाउने योजनामा छु


3.9k
Shares

मोडलिङ क्षेत्रमा चर्चित नाम हो, सञ्चिता शाही । तर, मोडलिङमा सञ्चिताको जति चर्चा र प्रशंसा गरिन्छ, त्योभन्दा बढी उनले भोगेका पीडाको कथा दर्दनाक छ । १३ वर्षकै उमेरमा (बालविवाह) गरी १८ वर्षको उमेरमा सम्बन्ध विच्छेद गरेकी सञ्चिताका लागि मोडलिङ सपनाजस्तै थियो । सञ्चिताले ‘मोडलिङलाई कर्मथलो बनाउँछु’ भन्ने सोचेकी समेत थिएन । तर, अहिले ‘अवसर मिल्यो भने सफलता हात पार्न सकिन्छ’ भन्ने एक उदाहरण बनेकी छन् उनी ।

मोडलिङमा पाइला राखेपछि उनलाई पछाडि फर्केर हेर्नुपरेको छैन । छोटो समयमै मोडलिङमा फड्को मारेकी सञ्चिताले हालसम्म तीन सयभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । उनी फेसनलाई ‘फास्ट ट्रयाक’मा लानुपर्छ भन्ने मान्यता राख्छिन् । यिनै मोडल सञ्चिता शाहीसँग रेजिना पाण्डेको जम्काभेट

हिजोआज के गर्दै हुनुहुन्छ ?
फाट्टफुट्ट म्युजिक भिडियोहरूमै काम गरिरहेकी छु । त्यसबाहेक खासै केही गरेकी छैन ।

तपाईँको सानै उमेरमा विवाह भयो र सम्बन्ध विच्छेद पनि, किन ?
मेरो बालविवाह भएको हो । मेरो विवाह हुँदा म १३ वर्षकी मात्र थिएँ । मेरो श्रीमान् २० वर्षको हुनुहुन्थ्यो । तर, विभिन्न कारणले समझदारी नभएपछि बिचमै सम्बन्ध विच्छेद भयो ।

बालविवाह किन गर्नुभयो ?
बुवा अर्को आमा ल्याएर अलगै बस्नुभएको थियो । हामी छोराछोरी धेरै भएकाले आमालाई जिम्मेवारी धेरै थियो । मेरो एक दिदीले आत्महत्या गर्नुभयो । आमालाई डर भयो कि, मलाई पनि केही हुन्छ भनेर । अरूलाई जिम्मेवारी लगाइदिँदा राम्रो हुन्छ भनेर विवाह गरिदिनु भएको रे । तर, त्यो सम्बन्ध टिक्न सकेन ।

बालविवाहले तपाईँलाई कतिको असर प¥यो ?
असर धेरै नै भयो । राम्रो शिक्षा लिन पाइनँ । खेल्ने, पढ्ने उमेर घरधन्दामा बित्यो । सासू र नन्दहरूको कचकचले मेरो बालापन गुम्यो । यतिसम्म त सहेकै थिएँ । तर, ज्यानै जोखिममा राखेर बस्न नसक्ने भएपछि पाँच वर्षको बैवाहिकसम्बन्ध छुटेको हो । त्यतिबेला म १८ वर्षको थिएँ ।

सम्बन्ध विच्छेद गरेर माइतीमा बस्दा समाजले केही भनेन ?
धेरैले नानाथरी भने । समाजको कुरा सुन्दा मनै काम्थ्यो । एकातिर बुवाले दोस्रो विवाह गर्नुभयो । हाम्रै आँखाअगाडि सानो ममीलाई घर भित्राएपछि दिदीले आत्महत्या गर्नुभयो । मेरो हालत पनि कमजोर बनेको थियो । तर, मैले गलत काम गर्न चाहिनँ । मैले काम गर्नुपर्छ र नाम कमाउनपर्छ भनेर अगाडि बढेँ ।

बालविवाहले गर्ने असरहरू के के हुन् ?
धेरै छन् । मुख्यकुरा त, यातना भोग्नुपर्ने रहेछ । हाम्रो समाज अझै पनि पुरुष मानसिकतामा अढेको छ । बोल्नेले जे बोले पनि हुन्छ, शारीरिक होस् या मानसिक पीडा भोग्नेलाई मात्र थाहा हुन्छ ।

नेपालमा बालविवाह गर्ने चलन अझै छ है ?
पहिलेभन्दा अहिले कम होला । तर, गाउँघरमा विभिन्न कारण र बाध्यतामा परेर बालविवाह गर्नेहरू धेरै छन् । यस्तो घटनाहरू भित्रभित्रै लुकाइएको छ । नेपालमा बालविवाह अन्त्य गर्नुपर्छ भन्ने मेरो धारणा छ ।

बालबिवाह अन्त्य गर्न राज्यले के गर्नुपर्छ जस्तो लाग्छ ?
जरादेखि बालविवाहको अन्त्य गर्न राज्यले धेरै काम गर्न बाँकी छ । अझै पनि धेरै ठाउँमा बालविवाहको शिकार भएर ज्यान गुमाउनेहरू छन् । त्यसैले म आफैँ पनि वालविवाहविरुद्ध अभियान चलाउने योजनामा छु ।

तपाईँलाई राजनीतिमा रुचि छ कि छैन ?
राजनीति गर्ने रुची नभए पनि चासो चाहिँ राख्छु । देशमा के भइरहेको छ भनेर बुझ्न पत्रपत्रिका पढ्छु । अहिले युवाले गरेको काम निकै राम्रो लाग्छ । यसमा पनि बालेन शाहको काम तारिफयोग्य छ । राजनीतिमा सफा मन र भिजन बोकेको व्यक्ति आउन जरुरी छ ।

मोडलिङको सुरुवात कसरी गर्नुभयो ?
जीवनमा धेरै दुःख आइरहेका थिए । के काम गर्ने, के नगर्ने भन्ने सोच नै थिएन । मोडल बन्ने कुरा त सपनाजस्तै थियो । तर, एक जना मेरो साथी यही क्षेत्रमा काम गर्थिन् । उनैको सल्लाहले मोडलिङ सुरु गरेकी हुँ । त्यतिबेला गायक मौसम गुरुङको एउटा लोकदोहोरी गीतमा मोडलिङका लागि अफर आयो । अहिले आठ÷नौ वर्षदेखि यही क्षेत्रमा निरन्तर छु । आजसम्म तीन सय ५० भन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेकी छु । यहाँसम्म आइपुग्दा विभिन्न अवार्डमा ‘उत्कृष्ट लोकदोहोरी मोडल’को उपाधि पाइसकेकी छु ।

तपाईँ लोकदोहोरी गीतमा मात्र किन मोडलिङ गर्नुहुन्छ ?
मोर्डन गीतमा मौका नआएको होइन । मेरो लोकदोहोरी गीतबाटै मोडलिङको सुरुवात भयो । जतिखेर मोडलिङ सुरु गरेकी थिएँ, त्यतिबेला लोकदोहोरी गीतको चाम राम्रो थियो । एकपछि अर्को गर्दै लोकदोहोरी गीतमा मोडलिङ गर्दै गएँ । दर्शकले पनि मनपराइदिनु भयो । त्यही भएर लोकदोहोरीमै रमाइरहेकी छु ।

एक समय निकै व्यस्त हुनुहुन्थ्यो । तर, आजभोलि कम देखिनुहुन्छ नि ?
एक समय महिनामा २५ दिन भिडियोमा व्यस्त भएँ । काम भ्याई नभ्याई हुन्थ्यो । तर, अहिले महिनाको तीन÷चार वटा मात्र भिडियो गर्दै आएकी छु । देशको आर्थिक अवस्था पनि यस्तै छ । नयाँ मोडलहरूको आगमनले पनि काम बाँडिएको छ ।

मोडलिङमा करिअर सुरु गर्दै गर्दा पारिश्रमिक कति लिनुहुन्थ्यो ?
सुरुमा पाँच हजारमा काम गरेको थिएँ । अहिले २५देखि ३० हजार रुपैयाँसम्म लिन्छु ।

सुरुका दिनमा मोडलिङमा कतिको गाह्रो भयो ?
नयाँ हुँदा हरेक क्षेत्रमा गाह्रो हुने रहेछ । सुरुमा धेरैले हेप्नु हुन्थ्यो । परिवारले पनि यसले नाचेर नै खाने भई भन्थे । बिस्तारै सफल हुँदै गएपछि ममाथि हेर्ने नजर पनि बदलियो ।

तपाईँको नजरमा मोडलिङ क्षेत्रको राम्रो र नराम्रो पक्ष के हो ?
सबै क्षेत्रमा राम्रो र नराम्रो पक्ष हुन्छ । तर, कला क्षेत्रमा चाहिँ आलोचना बढी गरिन्छ । साथै, चियोचर्चा पनि बढी हुन्छ । कहिलेकहीँ आफैँलाई थाहा नभएको कुराको पनि बाहिर चर्चा भइरहेको हुन्छ ।

अब फेरि विवाह गर्नु हुन्छ कि हुन्न ?
विवाह त गर्छु । तर, त्यसका लागि सबै कुरामा सही हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्