Logo
Logo

पुर्ख्यौली पेसाको संरक्षण गर्दै बुद्धिराम गन्धर्व


504
Shares

लमजुङ । सेतै फुल्दै गरेको दारी अनि कपाल । चाउरिँदै गरेको मुहार । शिरमा ढाका टोपी, शरीरमा स्टकोट र खुट्टामा एक जोर चम्पल । यति मात्र नभई झोला भिरेर हातमा सारङ्गी लिएर परिस्थितिअनुसारका विषयमा गीत गाउँदै घरघरमा पुग्छन् सुन्दरबजार नगरपालिका-६ पाखाथोकका ७० वर्षीय बुद्धिराम गन्धर्व ।

आराम गरेर बस्नुपर्ने उमेरमा कतिपय युवाभन्दा जोशिलो र व्यस्त छन् उनी । एकाबिहानै उनी उठ्छन् । उठेपछि हातमुख धोएर, खाजा खाएपछि सारङ्गी लिएर घरबाट उनी हिँड्छन् । दैनिकजसो बिहानैदेखि बेलुका साँझ परेसम्मै विभिन्न ठाउँको घरघरमै पुगेर दुःखसुखका गीत, मायाप्रेमका गीत र समाजमा घटेका विभिन्न विषय वस्तुका गीत गाउँदै बुद्धिराम सारङ्गी रेटेर पैसा कमाउछन् ।

यसरी नै उनी १८ वर्षदेखि दैनिक बिहानदेखि साँझसम्म गीत गाउँदै सारङ्गी रेट्दै आएका छन् । उनले भने, ‘मैले प्रत्येक घरबाट रु १०/२० देखि रु ५०/१०० सम्म पाउने गरेको छु, जिल्लाको सुन्दरबजार, पाउँदी, बेँसीसहर, करापुटार, खुदी भुलभुले, खत्रीठाँटीलगायत जिल्लाका अधिकांश ठाउँमा यसरी नै पुग्ने गरेको छु ।’

उनी बेलाबेलामा काठमाडौं, चितवन, पोखरालगायत स्थानमा पुग्ने गरेका छन् । यसरी हिँड्दा दैनिक कम्तीमा पनि रु एक हजारदेखि रु एक हजार पाँच सयसम्म आम्दानी हुने गरेको उनले सुनाए ।

उनले भने, ‘यही पैसाले आफूसहित घरमा रहेका श्रीमती, छोरा बुहारी र चार साना नातिनातिनीको गुजारा चल्ने गरेको छ ।’ केही वर्षअघिसम्म श्रीमती बुद्धिमाया गन्धर्व पनि आफूसँगै यसरी नै हिँड्ने गरे पनि अचेल भने घरमै साना नातिनातिनी खेलाउँदै बस्ने गरेको उनले बताए । उनले १८ वर्षअघिसम्म गाईबस्तु पाल्ने, खेती गरेर जीवन चलाउँदै आए पनि आफ्नो जातिको पुर्ख्यौली पेसाको संरक्षण गर्नका लागि भनेर मात्रै यसरी हिँड्ने गरेको बताए ।

उनले भने, ‘परिवारको गुजारा चलाउन मात्र यही पेसा गर्नुपर्दैन तर पुर्ख्यौली पेसा लोप हुन नदिन घाम पानी नभनी हिँडिरहेको छु, गन्धर्व भनेर मात्रै हुँदैन, पछिल्लो पुस्ताले यसरी हिँड्न सकेको छैन, आफूले यो पेसा गरे पनि छोरा नातिले यो पेसा नजान्ने र नगर्ने देखिएकाले गन्धर्वको पेसा जिल्लामा लोप हुने अवस्थामा पुगेकामा चिन्ता छ ।’

गन्धर्व समुदाय जिल्लामा निकै कम छ । आफू चार दाजुभाइमध्ये साइलो रहेको र आफूबाहेक अरु दाजुभाइले यो पेसा नगरेको उनको भनाइ छ । जिल्लामा यसरी हिँड्ने गन्धर्व पाँच÷छ जनाभन्दा बढी छैनन् । गन्धर्व जातिको पुर्ख्र्यौली पेसा लोप हुने अवस्थामा पुगे पनि पालिकाले सोही पेसा जोगाउने कार्यक्रम भने हालसम्म नगरेको सुन्दरबजार नगरपालिकाका उपप्रमुख भवानी केसीले बताए ।

अन्य समुदायसँगै उनीहरुलाई पनि आयस्तर बढाउने कार्यक्रममा समावेश गरिँदै आए पनि गन्धर्वको पेसा जोगाउन कार्यक्रम तथा बजेट भने नराखिएको उनको भनाइ छ । उनले भने, ‘पालिकाले गन्धर्व समुदायलाई के आवश्कता छ माग गर्न अनुरोध गरे पनि उनीहरुले केही माग नगरेकाले उनीहरु लक्षित कार्यक्रम भने हुन सकेन ।’

प्रतिक्रिया दिनुहोस्