Logo
Logo

उदयपुरमा १५ करोडको अत्याधुनिक अस्पताल सञ्चालनमा


315
Shares

उदयपुर । उदयपुरको गाईघाटमा करिव १५ करोड रुपैयाँको लगानीमा अत्याधुनिक सुविधासहितको ५० शैयाको अस्पताल सञ्चालनमा आएको छ । निजी क्षेत्रको लगानीमा आधुनिक शल्यक्रियासहितको विशेषज्ञ चिकित्सकबाट उपचार सेवा दिन गाईघाट सिटी हस्पिटल सञ्चालनमा आएको हो ।

अस्पतालका प्रवन्ध निर्देशक रमेशकुमार आचार्यले सबै खाले विरामीलाई लक्षित गर्दै खोलिएको हस्पिटलले २४सै घण्टा इमरेजन्सी सेवासहित आईसीयू, एनआईसियू, अत्याधुनिक ल्याव, एक्सरे, भिडियो एक्सरे, इण्डोस्कोपी, ल्याप्रोसकोपी र फार्मेसी सेवा सुरु गरेको बताए ।

‘अस्पतालले जेनरल वार्ड, प्राईभेट वार्ड, आधुनिक अप्रेशन थ्रेटर, डेलिभरी वार्ड र पोष्ट अप वार्डसहितको सेवा प्रदान गर्न थालेको छ’ प्रबन्ध निर्देशक आचार्यले भने, ‘यसका लागि अहिलेसम्म करिव १५ करोड रुपैयाँ लगानी भइसकेको छ र, अब करिव पाँच करोड रुपैयाँ थप लगानी गर्ने तयारीमा छौं ।’ सबै किसिमका विरामीलाई उपचार सेवा प्रदान गर्न अस्पताल व्यवस्थापनले थप ५ करोड रुपैयाँ लगानी गर्ने तयारी गरेको उनले बताए ।

अस्पतालमा स्त्री तथा महिला रोगको विशषज्ञ सेवामा डा.डिएल यादव, जेनेरल फिजिसिएन सेवामा डा.विवेक प्रभाव साह, बाल रोगको विशेषज्ञ सेवामा डा.सन्जिव साह, जनरल सर्जन सेवामा डा.कृष्ण यादव र हाड जोर्नी तथा नसा रोग विशेषज्ञ सेवामा डा.अर्जुन दास संलग्न छन् ।

उपचारमा प्रयोग हुने महंगा र अत्याधुनिक उपकरण अस्पतालका कक्षमा जडान गरिएको छ । यसबाट सर्वसाधारण नागरिकले धरान विराटनगरलगायतका ठूला शहरमा पाउने सेवा यहि प्राप्त गर्न थालेका छन् ।

अस्पतालले उदयपुर, खोटाङ, ओखलढुंगा, सिरहा र सप्तरी जिल्लाका सर्वसाधारणलाई कम खर्चमै गुणस्तरीय ढंगबाट उपचार सेवा दिने उद्देश्य राखेको रेग्मीले बताए । अस्पतालमा मदन भण्डारी राजमार्गको भिमान–कटारी–कोसी पुल खण्डमा दैनिकजसो हुने दुर्घटनाका घाइतेलाई समेत उपचार गर्न सहज होस् भन्ने उद्देश्य राखेर जस्तोसुकै अप्रेसन समेत गर्न सक्ने अत्याधुनिक उपकरण राखिएको प्रबन्ध निर्देशक आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्