Logo
Logo

राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रहरी अस्पताललाई एम्बुलेन्स र शववाहन उपहार


441
Shares

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाल प्रहरी अस्पताललाई २ वटा एम्बुलेन्स र २ वटा शववाहन दिएको छ ।नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले उक्त एम्बुलेन्स र शववाहनको चाबी हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले राष्ट्रिय वाणिज्य बैंकप्रति आभार व्यक्त गर्दै नागरिक सेवामा समर्पित प्रहरीलाई यस सहयोगले थप सहजता पुग्ने विश्वास व्यक्त गरे । घटना र दुर्घटनामा तत्काल उद्धार गरी अस्पतालसम्म पुर्याउन सवारी साधन निकै उपयोगी हुने उनले बताए ।

प्राप्त सवारी साधनबाट अस्पतालको गुणस्तर र प्रभावकारितामा वृद्धि भई समग्र प्रहरी कर्मचारी, आश्रित परिवार र सर्वसाधारण समेत लाभान्वित हुने उनले चर्चा गरे ।

प्रहरी महानिरीक्षक कुँवरले एउटा निकायले दिने सहयोगबाट अर्को निकायले दिने सेवामा सहयोग पुग्नुको साथै सामूहिक भावनाको विकास हुने विचार व्यक्त गरे । प्रहरीमा स्रोत र साधनको कमी ठूलो चुनौतीको रूपमा रहेको बताउँदै उनले आगामी दिनमा समेत यस्ता किसिमको समन्वय र सहकार्य रहने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत खनालले विगतमा बैंक र प्रहरीबीच भएका समन्वय, सहकार्य तथा सम्झौताको चर्चा गर्दै आगामी दिनमा समेत सहयोग र आपसी समन्वय निरन्तर रहिरहने विचार व्यक्त गरे। यसले बैंक र नेपाल प्रहरीबीचको सम्बन्ध थप सुमधुर र बलियो हुने विश्वास उनले व्यक्त गरे ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, बैंकका उप कार्यकारी अधिकृत तथा पदाधिकारीहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्