Logo
Logo

भारत-पाकिस्तान ‘क्रिकेट युद्ध’: ‘हेड टु हेड’मा को बलियो ?


315
Shares

काठमाडौं । आईसिसी टी– २० विश्वकपको समूह ‘ए’ अन्तर्गत आइतबार राति चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्दैछन् ।

अमेरिकाको न्युर्योकमा हुने यो प्रतिस्पर्धालाई विश्वकपको एक महत्तवपूर्ण खेलको रुपमा विश्वभरका क्रिकेट समर्थकले हर्नेछन् । यो खेल नेपाली समय अनुसार आइतबार राति ८ बजेर १५ मिनेटमा सुरु हुनेछ ।

भारत र पाकिस्तानको राजनीतिक द्वन्द्वसँगै क्रिकेटलाई जोडेर हेर्ने भएकाले यो प्रतिस्पर्धालाई भिडन्तका रुपमा चर्चा गर्ने धेरै छन् । अमेरिका र वेस्ट इन्डिजमा जारी यो विश्वकपको समूह ‘ए’मा भारत, पाकिस्तान, अमेरिका, क्यानडा र आयरल्यान्ड छन् ।

भारत र पाकिस्तान दुवै टिमले जारी विश्वकपमा दोस्रो खेल खेल्न लागेका हुन्। भारत पहिलो खेलमा आयरल्यान्डमाथि ८ विकेटको जित निकाल्दै उच्च मनोबलका साथ मैदानमा हुनेछ । पाकिस्तान भने आयोजक अमेरिकासँग सुपर ओभरमा पहिलो खेलमा पराजित भएकाले भारतसँगको प्रतिस्पर्धामा पहिलो जितको खोजीमा हुनेछ ।

यो समूहमा दुई खेल खेलेको अमेरिका चार अंकसहित शीर्ष स्थानमा छ । एक खेल खेलेको भारत दोस्रो स्थानमा छ भने दुई खेल खेलेको क्यानडा एक जितसहित तेस्रो स्थानमा छ । पाकिस्तान र आयरल्यान्डले खाता खोल्न सकेका छैननन् ।

क्रिकेटमा भारत र पाकिस्तानको चर्चा

भारत र पाकिस्तान टी–२० विश्वकपका पूर्व विजेता टिम हुन्। दुवै देशले एक एक(पटक टी(२० विश्वकपको उपाधि उचालेका छन् । भारतले सन् २००७ मा टी–२० विश्वकपको पहिलो संस्करणको उपाधि फाइनलमा पाकिस्तानलाई पराजित गर्दै उचालेको थियो । सन् २००९ मा पाकिस्तानले श्रीलंकालाई फाइनलमा पराजित गर्दै एक पटक उपाधि चुमेको छ ।

टी–२० विश्वकप क्रिकेटमा भारत र पाकिस्तानका केही समानतासमेत छन् । टी–२० विशवकपमा दुवै टिम पहिलो संस्करणदेखि अहिलेसम्म सहभागी हुँदै आएका छन् । दुवै देशका लागि विश्वकपको यो नवौँ सहभागिता हो ।

टी–२० विश्वकपमा ४८ खेल खेलेको पाकिस्तानले २८ मा जित हात पार्दा १८ खेल गुमाएको छ भने दुई खेल बराबरी गरेको छ । भारतले खेलेका ४५ खेलमध्ये २८ मा जित निकाल्दा १५ खेल गुमाएको छ । एक खेलमा बराबरी गरेको भारतको एक खेल नतिजाविहीन बनेको थियो ।

विश्व क्रिकेटमा भारत र पाकिस्तानको चर्चा समान ढंगले भए पनि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को वरीयता सूचीमा भने पाकिस्तान भन्दा भारत अगाडि छ । भारत आईसीसीको वरीयतामा पहिलो नम्बरमा हुँदा पाकिस्तान छैटौं स्थानमा छ ।

टी–२० अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भारत र पाकिस्तानले १२ खेल खलेका छन् । जसमा भारतले नौ खेलमा जित निकाल्दा पाकिस्तानले तीन खेलमा मात्र विजय प्राप्त गरेको छ ।

टी–२० विश्वकपमा भने भारत र पाकिस्तानबिच सात वटा खेलमा भेट भएको छ । आइतबार राति हुने खेल यी दुई देशको आठौं प्रतिस्पर्धा हो । विश्वकपमा पाकिस्तानविरुद्ध भारत पाँच खेलमा विजयी भएको छ । पाकिस्तानले भने विश्वकपमा भारतविरुद्ध एउटा खेल मात्र जितेको छ । विश्वकपमा यी दुई देशबिचको एक खेल भने बराबरीमा सकिएको छ।

प्रतिक्रिया दिनुहोस्