Logo
Logo

निगमका पाँच पाइलट निलम्बित, नियमित उडानमा समस्या


882
Shares

काठमाडौं । नेपाल वायुसेवा निगमका पाँच जना पाइलट एकै पटक निलम्बनमा परेसँगै नयाँ पाइलट नियुक्तिको प्रक्रिया सुरु भएको छ । नेपाल एयरलाइन्सको उडान प्रभावित भएपछि निगमले १० जना पाइलट करारमा नियुक्त गर्न लागेको हो । 

वायुसेवा निगमले खरिद गरेका २ वटा वाइड बडी जहाजमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा परेसँगै ३ जना पाइलट निलम्बनमा छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले जहाजको ककपिटमा बसेर फोटो भिडियो खिच्ने २ जना निलम्बनमा परेका थिए । निगमका एक पाइलटका अनुसार निलम्बनका कारण उडान कटौती गर्नुपर्ने अवस्था छ । 

एउटा पाइलटले दैनिक बढीमा १० घण्टा र महिनामा १०० घण्टा उडान गर्न पाउने प्रावधान छ । लगातार १० दिन १० घण्टा उडाए २० दिन उडान गर्न पाउँदैनन् । निगमसँग २ वटा वाइड बडी र २ वटा न्यारोबडी जहाज छन् । अहिले ४ वटै जहाजले विभिन्न गन्तव्यमा उडान गरिरहेका छन् ।  

गत हप्ता मात्रै नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका दुई पाइलट विजय लामा र भावना पन्तलाई ‘एक्टिभ ड्युटी’बाट हटाएको थियो ।  उडान सुरक्षा प्रावधान उल्लङ्घन गरेको भन्दै प्राधिकरणले उनीहरूलाई अनुसन्धान अवधिभरिका लागि ‘ग्राउन्डेड’ गराएको हो ।  

पन्त न्यारोबडी जहाज ‘एयरबस ३२०’ उडाउने क्याप्टेन हुन् भने लामा वाइड बडी जहाज ‘एयरबस ३३०’ जहाज उडाउने क्याप्टेन हुन् । यता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमका ३ पाइलट, ३ निर्देशक र एक उपनिर्देशकसहित ७ उच्च तहका कर्मचारीलाई भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको छ । 

जसमा निगमका नायब महाप्रबन्धक जनकराज कालाखेती, वरिष्ठ क्याप्टेन सुवास रिजाल, वरिष्ठ क्याप्टेन रविन्द्र कुमार शेरचन, क्याप्टेन श्रवण रिजाल, हाल निर्देशक रहेका उमेश पौडेल, निर्देशक उपेन्द्र पौडेल र उपनिर्देशक बृहतमान तुलाधर छन् । निगमले अन्य कर्मचारीको विकल्प निगमभित्रबाट तत्काल दिन सके पनि पाइलटको व्यवस्था गर्न सकेको छैन । 

जहाज उडाउने र विभागको नेतृत्व गर्ने कर्मचारी वाइड बडी जहाज खरिद प्रकरणमा निलम्बित छन् । तीन पाइलटले मुद्दाको किनारा नलागेसम्म जहाज उडाउन पाउँदैनन् । 

पाइलट अभावले उडान प्रभावित हुनथालेपछि नेपाल वायुसेवा निगमले १ वर्षको लागि १० जना पाइलट करारमा नियुक्त गर्न लागेको निगमका प्रवक्ता देवेन्द्र पुनले बताए । उनका अनुसार यसका लागि जेठ १८ गते १५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस्