Logo
Logo

२१ करोड अपचलन आरोपमा ‘मेगा ड्रिम’ सहकारीका उपाध्यक्षसहित तीन जना पक्राउ


378
Shares

काठमाडौँ । काठमाडौँको माछापोखरीस्थित मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष र सीइओसहित तीन जना २१ करोड बढी रकम अपचलन आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा उपाध्यक्ष बासुदेव भट्ट, सचिव तथा सीइओ इन्द्रप्रसाद गेलाल र सदस्य शरदकुमार अधिकारी छन् ।

उनीहरुमाथि सहकारीको २१ करोड दुई लाख ८४ हजार रकम अपचलनको आरोप रहेको प्रहरीले जनाएको छ । आरोपीहरुबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान पुरा गरी सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

सहकारीका सञ्चालकहरुविरुद्ध २१ करोड दुई लाख ८४ हजार बिगो मागदावी लिनुपर्ने रायसहित सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिएका छन् । बागमती प्रदेशस्थित संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयले मेगा ड्रिमका सञ्चालकहरूलाई पक्राउ गरेर कानुनी कारबाही गर्न ४ मंसिर २०८० मा पत्राचार गरेको थियो ।

२०८० फागुन २९ मा प्रहरी वृत बौद्धमा जाहेरी दर्ता गरेर प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । सहकारीका अध्यक्ष महाशंकर रेग्मी, कोषाध्यक्ष रबिनकुमार कार्की, सदस्य शेखर बस्नेत, सदस्य राजकुमार श्रेष्ठ, पूर्व अध्यक्ष उमाकान्त न्यौपाने, सदस्य प्रकाश घिमिरे र सुभद्रा चौलागाई फरार छन् । प्रहरीले उनलाई फरार प्रतिवादी कायम गरेको छ ।

सहकारी सञ्चालकहरूविरुद्ध १६२ जना बचतकर्ताले जाहेरी दिएका छन् । माछापोखरीमा मुख्य कार्यालय भएको सो सहकारीले थानकोट, कालीमाटी, न्यूरोड, चाबहिल, जारेपाटी, गठ्ठाघर र चापागाउँ दोबोटोमा सेवा कार्यालय सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्