Logo
Logo

ढोरपाटनको पाखुट्टेदेखि बायखोला-झिम्पा जोड्ने सडक स्तरोन्नति


189
Shares

ढोरपाटन (बागलुङ) । निसीखोलामा पर्ने मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक स्तरोन्नति गरिएको छ । विसं २०७३ मा साविक तीन वटा गाउँविकास समितिबाट विनियोजित रकमबाट निर्माण गरिएको उक्त सडक स्तरोन्नति गरिएको हो ।

चालु आर्थिक वर्षमा सङ्घीय सरकारले विनियोजन गरेको रु ५० लाख र गण्डकी प्रदेश सरकारको रु ३० लाखले सडकको स्तरोन्नति भएको हो । लोकमार्गको वैकल्पिक सडकका रुपमा ढोरपाटन नगरपालिका–२ पाखुट्टेदेखि बायखोला–झिम्पा हुँदै निसी जोडिएको छ । करिब २५ किलोमिटर रहेको यस सडकले निसीखोला गाउँपालिका २, ४ र ५ लाई जोडेको छ ।

वैकल्पिक निर्माणका लागि आठ वर्ष अगाडि निसी, बोहोरागाउँ र देवीस्थान गाउँ विकास समितिले रु दुई÷दुई लाख, अर्थ मन्त्रालयबाट ४० लाख, डोलीडारबाट रु सात लाख, जिल्ला विकास समितिबाट रु आठ लाखका लागतमा सडकको ट्रयाक खोलेको निसीखोला गाउँपालिकाका पूर्वअध्यक्ष तारानाथ पौडेलले बताए ।

उनले भने, ‘यो सडकले यस क्षेत्रका नागरिकको जीवनस्तरनै परिवतन गरि दिएको छ ।’ यसभन्दा अगाडि निसीखोलाका कमै मात्र ग्रामीण क्षेत्रमा सडक पुगेका थिए । वैकल्पिक सडक निसीखोलावासीको ‘लाइफ लाइन’का रुपमा रहेको उनले बताए ।

पूर्व अध्यक्ष पौडेलले भने, ‘ट्र्याक खुलेको धेरै वर्षपछि सडकको स्तरोन्नति हुन थालेको छ, म गाउँपालिकाको अध्यक्ष हुने बेलादेखि नै पालिकाबाट बजेट विनियोजन गरेर सडक चौडा गर्ने, नाली निर्माण र ठाउँ–ठाउँमा कल्भर्ट बनाउने काम भएको थियो, कम बजेटका कारण त्यस बेला स्तरोन्नतिले पूर्णता पाएको थिएन, अहिले प्रदेश र केन्द्र सरकारको सानो बजेटले काम भएको छ, यो सडक पूर्णरुपमा स्तरोन्नति भयो भने निसीखोलाका नागरिकलाई यातायात र सामान ढुवानीमा सहज हुनेछ ।’

सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी अमर अधिकारीले निर्माण कम्पनीले ९० प्रतिशत काम सकेको बताए । खापुट्टेस्थित मध्यपहाडी लोकमार्गको पुलदेखि माथिल्लो क्षेत्रमा काम गरिरहेको उनको भनाइ छ ।

स्तरोन्नतिको जिम्मा पाएको सहस्रा कन्स्ट्रसन प्रालिले सडक फराकिलो बनाउने, ग्रेडिङ मिलाउने लगाएको काम गरेको उनले बताए । रु ५९ लाख १२ हजार तीन सय २६ का सम्झौता गरेको निर्माण कम्पनीले असार मसान्तसम्म काम सक्नुपर्ने अधिकारी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्