Logo
Logo
गण्डकी प्रदेश

आज मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने


504
Shares

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदैछन् । मुख्यमन्त्रीको विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्न आज दिउँसो ३ बजे प्रदेशसभाको बैठक बोलाइएको छ।

मुख्यमन्त्री पाण्डेले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्न गत शुक्रबार प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराएका थिए । सर्वोच्च अदालतको परमादेशअनुसार जेठ १६ गते उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । यसअघिका मुख्यमन्त्री एमालेका खगराज अधिकारीले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्दा ६० सदस्यीय प्रदेश सभाबाट ३० मत मात्र पाएका थिए ।

सभामुख कृष्णप्रसाद धितालले तत्कालीन मुख्यमन्त्री अधिकारीले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेपछि कांग्रेस नेता पाण्डे सर्वोच्च अदालत पुगेका थिए ।

सर्वोच्च अदालतले संविधानको धारा १६८ उपधारा २ अनुसार २ वा २ भन्दा धेरै दल मिलेर बहुमतको सरकार बनाउने प्रावधान अनुसार मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाउन नसेको भन्दै सोही धाराको उपधारा ३ अनुसार मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।

उक्त उपधारामा २ वा २ भन्दा बढी दल मिलेर बहुमतको सरकार बनाउन नसकेको अवस्थामा प्रदेश सभामा रहेका सबै भन्दा ठुलो दलका संसदीय दलका नेतालाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने प्रावधान छ ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र संविधानको धारा १६८ उपधारा ४ अनुसार विश्वासको मत लिनुपर्नेछ । विश्वासको मत पाएको अवस्थामा सरकारले कामकारबाही अघि बढाउन सक्नेछ भने नपाएको अवस्थामा मुख्यमन्त्री पदमुक्त हुने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्