Logo
Logo

मह बेचेर भोजपुरको नागीमा एक करोड बढी भित्रियो


693
Shares

भोजपुर । भोजपुरको नागी क्षेत्रका किसानको लागि मह राम्रो आम्दानीको स्रोत बनेको छ । व्यावसायिक मौरीपालनबाट उत्पादन भएको महबाट यो गाउँमा एक वर्षमा रु एक करोड २० लाख बढी भित्रिएको छ । टेम्केमैयुङ–४ मा पर्ने यो स्थानका अधिकांश किसानले व्यावसायिक रूपमा मौरी पालन गरिरहेका छन् ।

नजिकै प्रशस्त वन क्षेत्र रहेकोले यहाँका हुँगे, चोक्ला, वाकताङ लुङ्गिनलगायतका स्थान मौरी पालन हुने गरेको छ । मह आम्दानीको राम्रो स्रोत बनेको स्थानीय मौरीपालक किसान सारुहाङ राईले बताए । आफूले पालेको १८ वटा आधुनिक घारमा एक पटकमा एक सय केजीसम्म उत्पादन हुने उनले बताए । एक वर्षमा मौरीलाई दुईदेखि तीन पटकसम्म काढ्न सकिने उनले जानकारी दिए। स्थानीय बजारमा मह प्रतिकेजी एक हजार पाँच सयमा बिक्री हुने उनको भनाइ छ ।

‘मह नागी क्षेत्रका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ’, उनले भने, ‘मौरीबाट थोरै मेहनतमा राम्रो आम्दानी लिन सकिन्छ । हाम्रो क्षेत्र ५० घर बढीले व्यावसायिक रूपमा मौरी पालन गरिरहेका छौँ ।’

नागी क्षेत्रबाट एक वर्षमा रु एक करोड २० लाख बढीको मह उत्पादन हुने वडाध्यक्ष हर्कराज राईले बताए । यो क्षेत्र प्राकृतिक हिसाबले मौरीको लागि उपयुक्त रहेको उनको भनाइ छ । भौगोलिक रूपमा अलि बढी चिसो क्षेत्र रहेकाले हिउँदको समयमा पनि मौरीपालनमा सहजता पु¥याउने लक्ष्यले आधुनिक माटेघार वितरण गरिरहेको उनले जानकारी दिए ।

‘हाम्रो क्षेत्रमा मौरीपालनबाट रु एक करोड बढी भित्रिएको अवस्था छ’, वडाध्यक्ष राईले भने, ‘यहाँका अधिकांश किसानले मौरी पालन गरिरहेका छन् । मौरी पालनलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन वडाले भूमिका खेलिरहेको छ । अहिले हामीले आधुनिक माटेघार वितरणमा जोड दिएको छौँ । न्यानो हुने भएकाले माटेघारमा मौरी पालन गर्दा हिउँद समयमा मौरीलाई बचाउन सकिन्छ ।’

व्यावसायिक मौरीपालनमा लागेका किसानलाई थप प्रोत्साहन गर्न गाउँपालिका र वडासँगको सहकार्यमा करिब रु सात लाख ७० हजार बराबरको दुई सय आधुनिक माटेघार वितरण गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विकेन पौडेलले जानकारी दिए । गाउँपालिकाले मौरीपालनमा लाग्ने किसानलाई आवश्यक सहयोग गरिरहेको उनको भनाइ छ ।

‘मौरीपालनमा लागेका किसानलाई गाउँपालिकाले आवश्यक सहयोग गरिरहेको छ’, पौडेलले भने, ‘यो वर्ष करिब रु सात लाख ७० हजार बराबरको आधुनिक घार वितरण गरेका छौँ । यसले किसानमा थप उत्साह थपिएको छ ।’

पराम्परागत रूपमा मौरी पालन गर्दै आएको अवस्थामा गाउँपालिकाले आधुनिक प्रविधिको घार वितरणले उत्साह थपिएको स्थानीय मौरीपालक किसान शुक्रराज राईले बताए । परम्परागत घारको तुलनामा आधुनिक घारमा मह बढी उत्पादन हुने उनको भनाइ छ । आधुनिक घारमा मह काढ्नसमेत सहजता हुने उनको भनाइ छ ।स्थानीय मुढेघारको तुलनामा आधुनिक घारमा दोब्बर मह उत्पादन हुने किसान राईले जानकारी दिए ।

‘हामीलाई मौरीपालनमा उत्साह थप्न गाउँपालिकाले आधुनिक घार दिएको छ’, उनले भने, ‘आफ्नै लगानीमा मौरी पालन गरिरहेको अवस्थामा गाउँपालिकाको तर्फबाट सहयोग पाउँदा खुसी लागेको छ ।’ गाउँपालिकाले कृषि र पर्यटनलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताए ।

किसानलाई व्यावसायिक बनाउन उनीहरूको आवश्यकताका आधार सहयोग तथा अनुदानका कार्यक्रम सञ्चालन भइरहेको उनको भनाइ छ । नागी क्षेत्र मौरीको लागि उपयुक्त रहेकाले कार्यपालिकाको निर्णयअनुसार यहाँ आधुनिक घार वितरण गरिएको उपाध्यक्ष राईले बताए ।

‘गाउँपालिकाले कृषि र पर्यटनलाई मुख्य प्राथमिकतामा राखेर आवश्यक काम गरिरहेको छ’, उपाध्यक्ष राईले भने, ‘यहाँको कृषिको सम्भावनालाई खोजी गरेर आवश्यक सहयोगका कार्यक्रम सञ्चालन भइरहेका छन् । कृषिबाट पनि किसानको आयस्तर बढाउने हाम्रो लक्ष्य छ ।’

प्रतिक्रिया दिनुहोस्