Logo
Logo

छिपछिपे सहकारी प्रकरणः सात आरोपीलाई भरतपुर कारागार पठाइयो


189
Shares

पूर्वी नवलपरासी । कावासोतीस्थित छिपछिपे सहकारी संस्थाको १६ करोड ५८ लाख घोटालाका सात आरोपितलाई आज (सोमबार) कारागार चलान गरिएको छ । अदालतको आदेशपछि प्रहरी हिरासतमा रहेका उनीहरुलाई भरतपुर कारागार पठाएको हो ।

पूर्वी नवलपरासीका प्रहरी प्रमुख नरहरी रेग्मीले अदालतको आदेश अनुसार पुर्पक्षका लागि थुनामा राख्न पर्ने सात जनालाई कारागार चलान गरिएको जानकारी दिए ।

पूर्वी नवलपरासीमा कारागार नभएका कारण उनीहरुलाई छिमेकी जिल्ला चितवनको भरतपुर कारागार पठाइएको हो । जिल्ला विभाजनपछि पूर्वी नवलपरासीमा कारागार छैन । यहाँका थुनुवालाई नजिकको चितवन कारागार पठाउने गरिएको छ ।

न्यायधीश कुलप्रसाद पाण्डेको इजलासले उनीहरुलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । सहकारीको रकम हिनामिना गरेको अभियोगमा पक्राउ परेका व्यवस्थापक योगेन्द्र पाण्डे, नगेन्द्र बहादुर रिमाल, संजिवकुमार महतो, कृष्ण प्रसाद ज्ञवाली, ढुण्डीराज गौतम, बिकास सापकोटा र शिवलाल लामिछानेलाई कारागार चलान गरिएको हो ।

उनीहरु रकम हिनामिनाको आरोपमा दुई महिनाअघि पक्राउ परेका हुन् । सहकारीको रकम हिनामिनाको अभियोगमा प्रहरीले विपक्षी बनाएर मुद्दा दायर गरेका हालका अध्यक्ष गोपीकृष्ण शर्मा, सुनिता कुमारी न्यौपाने जनही २ लाख ५० हजार धरौटीमा छुटेका छन् । त्यस्तै तीर्थराज कैनीले १० लाख धरौटी बुझाएका छन् ।

जेठ २० गते प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले उनीहरु बिरुद्ध मुद्दा दर्ता गरेको हो । सहकारीको रकम हिनामिनाको आरोपमा पक्राउ पुर्जी जारी भएका राप्रपाकी संघीय सांसद गीता बस्नेतसहित २५ जना भने फरार रहेका छन् । उनीहरुलाई जिल्ला अदालतले पक्राउ गरेर अनुसन्धान गर्न आदेश दिएको छ ।

छिपछिपे सहकारीको रकम घोटला गरेको अभियोगमा जिल्ला प्रहरीले ३५ जनालाई विपक्षी बनाएर मुद्दा दर्ता गरेको हो । छिपछिपे सहकारी संस्थाका २३ सय ९४ बचतकर्ता र शेयर सदस्यहरुको १६ करोड ५८ लाख भन्दा बढी रकम हिनामिना गरेको प्रतिवेदनको आधारमा उनीहरुविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको हो ।

प्रतिक्रिया दिनुहोस्