Logo
Logo

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह


189
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लगानी गर्न भारतीय व्यवसायीहरूलाई आग्रह गरेका छन् ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डसँग ‘फेडेरेशन अफ इन्डिया च्याम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री’ (फिक्की) का प्रतिनिधिहरूले भेटवार्ता गरेका थिए ।

भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालमा लगानीको सम्भावना रहेको भन्दै लगानी गर्न व्यवसायीहरूलाई आग्रह गरेका उनको सचिवालयले जनाएको छ । प्रचण्डले पर्यटन, ऊर्जा, कृषिलगायतका क्षेत्र भारतीय लगानीकर्ताका लागि उपयुक्त रहेको बताए ।

काठमाडौंमा सम्पन्न तेस्रो लगानी सम्मेलनका क्रममा नेपालले कानुनी संरचनालाई सुधार गरेर लगानीका लागि उपयुक्त वातावरण सिर्जना गरेको प्रधानमन्त्री प्रचण्डले बताए ।

भारत सरकारसँग १० वर्षमा १० हजार मेगावाट बिजुली बिक्री गर्ने दीर्घकालीन सम्झौता भइसकेको अवस्थामा नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न उपयुक्त हुने उनको सुझाव छ ।

यसअघि आजै प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नुभएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन हिजो भारत जानुभएका प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीबीच हिजै भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड आजै स्वदेश फर्कँदै छन् ।

प्रतिक्रिया दिनुहोस्