Logo
Logo

भारतको सत्ता उलटपुलटले प्रचण्ड सरकार खतरामा !


12.6k
Shares

काठमाडौं । छिमेकी मुलुक भारतमा नयाँ गठबन्धन सरकार गठन भएको छ । भारतीय जनता पार्टीलाई एकल बहुमत नआएपछि अन्य साना दलको सहयोगमा नरेन्द्र मोदीले सरकार बनाएका छन् । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहणमा सहभागी भएर सोमबार नेपाल फर्केका छन् ।

यसपटक मोदीको दल भाजपाले एकल बहुमत नल्याए पनि भारतीय लोकसभाको सबैभन्दा ठूलो दल भाजपा गठबन्धन बन्यो । त्यसैले सत्तारुढ गठबन्धनबाट उनी तेस्रो कार्यकाल प्रधानमन्त्री बने ।

नेपालमा पनि २०७९ को निर्वाचनपछि त्यस्तै चुनावी गठबन्धनबाट दलहरूले झन्डै बहुमत हासिल गरेको भए पनि सबैभन्दा ठूलो दल कांग्रेस सरकारको नेतृत्व गर्नबाट वञ्चित भयो । प्रचण्ड प्रतिनिधिसभाको तेस्रो दलबाट प्रधानमन्त्री बने ।

८८ सिटको कांग्रेस र ७९ सिटको एमालेलाई पन्छाएर ३२ सिटका प्रचण्ड प्रधानमन्त्री बनेका हुन् । उनले आइतबार दिल्लीमा मोदीले शपथ लिँदा जनाएको सहभागिताले नेपाली नेताहरूको अति महत्वकांक्षा र भारतीय नेताहरूको राजनीतिक संस्कारको तस्बिर एकै फ्रेममा देखिएपछि वर्तमान सरकारमा कुनै दिन तलमाथि पर्ने सङ्केतहरू देखा परिसकेका छन् ।

एमाले अध्यक्ष शर्मा केपी ओलीले बजेटसम्बन्धी छलफलमा आफ्ना सांसदलाई टिप्पणी गर्न खुला छाडिदिएका छन् । बजेटप्रति एमालेका नेताहरू असन्तुष्ट रहेका बेला संसदमा एमाले पनि विपक्षीकै कित्तामा उभिने संकेत देखिएको छ । यद्यपि, बजेट पास गराउन भने एमालेका सांसदलाई ह्विप लागिसकेको छ । जसले गर्दा सत्तापक्षीय धर्म निर्वाह गर्ने संकेत भएपनि गठबन्धनमा कहीँ न कहीँ एमाले हाबी भएकै देखिन्छ ।

उता, जसपा विभाजनको मुद्दा अदालतमा विचाराधीन रहेको छ । जसपा विभाजन भएपनि सत्ताधारीलाई केही राहत भएको छ । तर, जसपाको विभाजन कानुनसम्मत नभएकाले सर्वोच्च अदालतबाट उल्टिने अवस्था रहँदा संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले वर्तमान सरकारलाई पल्टाउने दाउ हेरिरहेको छ । यदि अशोक राईले नेतृत्व गरेको जसपा विभाजनले वैधता नपाए कुनै दिन सरकारमा गम्भीर संकट आउने एमाले र माओवादी दुवैले बुझेका छन् ।

त्यसमाथि गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरणमा पनि अदालत प्रवेश गरेको छ । अदालतले रवि सहकारी प्रकरणमा दोषी देखिएको फैसला सुनाएमा सरकारमाथि अर्को संकट आइलाग्ने छ ।

राजनीतिक अस्थिरतामा खेल्न रमाउने ओलीले प्रचण्डलाई प्रयोग गरेर संवैधानिक नियुक्ति, राजदूतलगायतका पदमा फाइदा उठाएपछि प्रचण्डलाई घर न घाटको बनाउने निश्चित छ । भारतमा निर्वाचन परिणाम आइसकेको र मोदी प्रधानमन्त्री भइसकेको अवस्थामा नेपालमा पनि त्यसले प्रभाव पार्ने र दशैँ अगाडि प्रचण्ड सरकार पदच्युत हुने आँकलन गरिएको छ ।

नेपालमा अचानक वाम गठबन्धन सरकार बनेपछि झस्किएको छिमेकी भारतले नयाँ राजनीति अवलम्बन गर्ने आँकलन गरिएको छ । समीकरण बन्दादेखि नै अविश्वासको संशयमा गुम्सिएको राजनीति बिस्तारै खुल्न थालेको छ । माओवादी, रास्वपा लगायतका दलहरूप्रति नेकपा एमाले बिस्तारै हाबी हुन थालेपछि संशय बढ्न थालेको हो ।

सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई ओलीले बोक्नसम्म बोकेर अहिले एमालेकै सांसदको संयोजकत्वमा संसदीय छानबिन समिति बनाएर लामिछानेको साँचो आफ्नो हातमा लिएका छन् । यस्तो बेलामा एमाले अध्यक्ष ओलीले रवि लामिछाने र शिक्षामन्त्री सुमना श्रेष्ठलाई व्यक्ति केन्द्रित कटाक्ष गरेर रास्वपाप्रति फायर खोलेका छन् ।

रास्वपामा मात्र होइन दुई दिनअघि एमाले अध्यक्ष ओलीले माओवादीको नाम नलिई युथफोर्सले माओवादीको वाइसीएलको तत्कालीन आतंकलाई अन्त्य गर्न सहयोग गरेको भन्दै प्रशंसा गरेका थिए । सत्ताको नेतृत्व गरेको माओवादीलाई एमाले अध्यक्ष ओलीले एक प्रकारले आतंकारीकै विल्ला भिराइदिए ।

खासमा भन्ने हो भने सत्तासहकार्य गरिरहेका दलका नेताहरू यतिबेला दन्तबझानमा उत्रेका छन् । एमाले अध्यक्ष ओलीको अभिव्यक्तिलाई लिएर सत्ता गठबन्धनभित्रै दन्तबझान भएको छ । सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेको पक्षमा वकालत गर्दै आएका एमाले अध्यक्ष ओलीविरुद्ध सिंगो राष्ट्रिय स्वतन्त्र पार्टी उत्रिएको छ । रास्वपाले संस्थागतरुपमा नेकपा एमालेका अध्यक्ष ओलीको भनाइलाई लिएर प्रतिवाद गर्ने जनाएको छ ।

शिक्षामन्त्रीसमेत रहेकी सांसद सुमना श्रेष्ठको अपमान गर्ने गरी एमाले अध्यक्ष ओलीले दिएको अभिव्यक्तिप्रति राष्ट्रिय स्वतन्त्र पार्टीले आपत्ति जनाएको छ । अध्यक्ष रवि लामिछानेले ओलीको नाम नलिई शिक्षामन्त्री श्रेष्ठको अन्तरदेशीय विवाहलक्षित ओलीको टिप्पणीप्रति गम्भीर रुपमा आपत्ति जनाएका थिए ।

उपप्रधानमन्त्री लामिछानेले प्रेम गर्ने, विवाह गर्ने भन्ने कुरा व्यक्तिको नितान्त व्यक्तिगत निर्णय भएको उल्लेख गर्दै त्यसलाई अरूले सम्मानबाहेक अरू केही गर्न नसक्ने जिकिर गरेका छन् । कोसँग माया गर्ने, कोसँग विवाह गर्ने ? भन्ने कुरा व्यक्तिगत निर्णय भएकाले त्यसमा सम्मानबाहेक अरूले केही पनि गर्न नसक्ने उनको तर्क थियो ।

सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउँदा ओलीले रविको नाम नराख्नका लागि सिंगो एमालेको पंक्तिलाई कांग्रेसका विरुद्ध परिचालन गरेका थिए । त्यही क्रममा ओलीले झापामा आयोजित एक कार्यक्रममा कथा बनाएर सुमनाको नाम नलिई माइती देश घुम्न आएकी चेली मन्त्री भइन भन्ने अभिव्यक्ति दिएका थिए ।

केही दिन पहिले एमाले अध्यक्ष ओलीले विदेशमा पढ्न गएको र उतै विदेशीसँग विवाह गरी नेपालमा घुम्न आएका बेला मन्त्री बनेको भन्दै सुमना श्रेष्ठमाथि अपमानजनक टिप्पणी गरेका थिए । उक्त विषयमा सामाजिक सञ्जाल र सञ्चार माध्यममार्फत आलोचना भइरहेको छ ।

उता शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले ओलीको भनाइप्रति खेद व्यक्त गरेकी छिन् । अध्यक्ष ओलीले सुमनामाथि मात्र होइन गृहमन्त्री लामिछानेमाथि पनि कटाक्ष गरेका थिए । उनले लामिछानेलाई ‘भँगेरा’को संज्ञा दिएका थिए । ओलीले कांग्रेस रवि लामिछानेविरुद्धमा खनिनु भनेको ‘भँगेरा मार्न तोप बोकेर जानु सरह’ भएको टिप्पणी गरेका थिए ।

अर्कोतर्फ सत्ता समीकरणमै रहेको दल नेकपा एकीकृत समाजवादीले आफ्नो दलविरुद्ध पनि षडयन्त्र भएको आशंका गरिरहेको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सार्वजनिक रूपमै यसको खुलासा गरेका छन् । बजेट अधिवेशन सकिएपछि अध्यादेश ल्याएर आफ्नो पार्टीलाई स्वतन्त्र पार्टीको हैसियतमा पुर्याउँदै सांसदहरूलाई जता पनि जान सक्ने गरी षडयन्त्र भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्