Logo
Logo

गण्डकीमा फ्लोर क्रस गरेका देवकोटा र मनाङे मन्त्री बन्दै


3.8k
Shares

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् । सोमबार प्रदेशसभा बैठकमा विश्वासको मत पाएका मुख्यमन्त्री पाण्डले फणीन्द्र देवकोटा र राजीव गुरुङ ‘दीपक मनाङे’लाई साथ लिएर आज मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

दुबै जनाको ११ बजेपछि सपथको तयारी भइरहेको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ । माओवादी चुनाव चिन्हबाट निर्वाचित नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटाले ह्वीप जारी भएपनि सुरेन्द्रराजलाई विश्वासको मत दिएका थिए । आज उनै फणीन्द्र मन्त्री नियुक्त भएर सपथ गराउने कार्यक्रम तय भएको मुख्यमन्त्री पाण्डेले बताए ।

देवकोटासँगै मनाङका स्वतन्त्र सांसद मनाङे पनि गण्डकीमा छैटौं पटक मन्त्री हुँदैछन् । सत्ताको खेललाई आफ्नो पक्षमा पार्दै आएका मनाङे यसपटक पनि भौतिक पूर्वाधारमै दोहोरिने लगभग पक्का भएको नेताहरु बताउँछन् । देवकाटाले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय पाउने बताइएको छ । फणीन्द्र अहिले माओवादी कोटाबाटै संसदको सामाजिक विकास समिति सभापति छन् ।

माओवादी चुनाव चिह्नबाट प्रधानमन्त्री प्रचण्डसँगै चुनाव लडेको देवकोटाले आफू अलग्गै पार्टीको सांसद भएको बताउँदै आएका थिए भने माओवादीले फ्लोर क्रस गर्ने देवकोटालाई कारबाही गर्ने बताइरहेको छ । तर, फ्लोर क्रस गरेवापत फणीन्द्रले मन्त्री पाउने भएका हुन् ।

६० सदस्यीय प्रदेश सभामा जता ३० पुग्छ उतै बहुमत पु¥याउने बताउँदै आएका मनाङेलाई सुरेन्द्रराजले नै दोस्रो पटक भौतिक मन्त्री बनाउँदै छन् । माओवादीले समर्थन फिर्ता लिएपछि सत्ता आफ्नो पक्षमा पार्ने रणनीतिअनुसारै मनाङेलाई गत वैशाख ५ गते सुरेन्द्रराजले भौतिक भौतिक पूर्वाधार मन्त्रीको जिम्मेवारी दिएका थिए । विश्वासको मत पाएलगत्तै मन्त्रिपरिषद् विस्तार गरेर आजै नीति तथा कार्यक्रम ल्याउने तयारी मुख्यमन्त्री पाण्डेले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्