Logo
Logo

उपेन्द्रको नजरमा कांग्रेस थङ्थिलो, एमाले र माओवादी पतनको बाटोमा


2.1k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रमुख राजनीतिक दलहरुप्रतिको पार्टीको धारणा सार्वजनिक गरेका छन् ।

जनकपुरमा जारी महाधिवेशनमा प्रस्तुत राजनीतिक दस्तावेजमा उनले प्रमुख दलहरुप्रतिको हेराइ उल्लेख गरेका छतन् ।
अध्यक्ष यादवले कम्युनिष्ट पार्टीहरु उठ्नै नसक्ने गरी पतनको दिशामा लागेको ठम्याइ प्रस्तुत गरेको छ । सत्ताको ठूलो घटक एमालेको व्यवहारले केही वर्षमै उठ्नै नसक्ने गरी पतन हुन लागेको प्रतिवेदनमा उल्लेख छ ।

‘दार्शनिक, वैचारिक रूपमा अन्योलग्रस्त र नैतिक रूपमा स्खलित भइसकेको पार्टी संगठनात्मक रूपमा मात्र लामो समय बलियो भइरहन सक्दैन । आउँदा केही वर्ष वा दशकभित्र कम्युनिस्ट पार्टीहरू भविष्यमा फेरि उठ्न नसक्ने गरी पतनको दिशामा अभिमुख छ,’ उनले भनेका छन्, ‘एमालेको राजनीतिक व्यवहार र सञ्चालन गरिरहेको सरकारले यही कुरा पुष्टि गर्दछ । कम्युनिस्ट पार्टीका ठूल्ठूला नेताहरू भ्रष्टाचार, कमिसनतन्त्र तथा नैतिक पतनको घटनामा लज्जास्पद ढंगले उदाङ्गिदै छन् । आर्थिक क्षेत्रमा उदारवाद, नवउदारवादी नीतिलाई नै निरन्तरता दिइरहेको छ ।’

जसपाले कम्युनिस्टहरुले निर्दलीय व्यवस्थाका पञ्चहरू भन्दा पनि तल्लोस्तरका क्रियाकलाप र चरित्रको प्रदर्शन गरिरहेको आरोप लगाएको छ । कम्युनिस्ट समर्थक र तल्लो तहका इमान्दार कार्यकर्तालाई प्रशिक्षित गर्दै ध्रुवीकृत गर्ने प्रयास गर्ने जनाइएको छ ।

त्यसैगरी नेकपा माओवादीमा केन्द्र ढुलमुले र अवसरवादी चरित्र हावी भएको निचोड अध्यक्ष यादवले निकालेका छन् ।
‘यो पार्टीले आफूलाई सर्वहारा वर्गको पार्टी भनेता पनि वास्तवमा पार्टीको चाहना र विश्वास देखिन्न । कम्युनिस्ट–माओवादी नामको खोलभित्र रहेका विकृति निम्न पुँजीवादी चरित्र बोकेको पार्टी हो । चिन्तन र व्यवहारमा मार्क्सवादी–लेनिनवादी माओवादी नभई ढूलमूले, अवसरवादी चरित्र नै हाबी रहेको छ,’ उपेन्द्रले भनेका छन्, ‘यस पार्टीका नेता– कार्यकर्ता ठूल–ठूला भ्रष्टाचार, कमिशनतन्त्र र जग्गा दलालीमा लिप्त छन् । पछिल्लो कालखण्डमा नेकपा (माओवादी केन्द्र) विकृति र विसंगतिको केन्द्रको रूपमा स्थापित हुँदै गइरहेको छ ।’

माओवादीले सैद्धान्तिक रूपमा आफूलाई कम्युनिस्ट भनेतापनि राजनीतिक रूपमा नेकपा (एमाले) भन्दा खासै भिन्नता नरहेको निष्कर्षमा उपेन्द्र छन् । त्यस्तै प्रमुख दल नेपाली कांग्रेस आफ्नै असमक्षता र अकमन्र्यताबाट थिचिएको जसपाको निष्कर्ष छ । कांग्रेस प्रमुख प्रतिपक्षीको भूमिका समेत निर्वाह गर्न नसक्ने गरी थङ्थिलो भएको प्रतिवेदनमा उल्लेख छ ।

‘आज कांग्रेस आफ्नै असक्षमता, अकर्मण्यता र नालायकीको भारले थिचिएको छ । प्रमुख प्रतिपक्षको भूमिकासमेत राम्ररी निभाउन नसक्ने गरी थङथिलो भएको छ । तथापि यो पार्टीको देशभरि फैलिएको संगठन र परम्परागत जनमत छ ,’ प्रतिवेदनमा भनिएको छ, ‘वैकल्पिक लोकतान्त्रिक तथा समाजवादी दलको अभावमा राजावादी र कम्युनिस्टलाई भोट दिन नचाहने जनमतले यो पार्टीलाई भोट दिँदै आएको छ ।’

प्रतिक्रिया दिनुहोस्