Logo
Logo

पाँच अर्बको ठेक्कामा मन्त्री महासेठको सेटिङ, राज्यलाई एक अर्ब नोक्सान पार्ने खेल


2.1k
Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठ पहिलोदेखि नै विभिन्न विवादमा मुछिँदै आएका छन् । 
२०७४ मा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्दा उनी पहिलो पटक मन्त्री बनेका थिए ।

त्यसबेला ओलीले उनलाई भौतिक मन्त्रालयकै जिम्मेवारी दिएका थिए ।  पहिलो पटक भौतिक मन्त्रालयका विभिन्न विषयमा विवादित भएपछि तत्कालीन प्रधानमन्त्री ओलीले २०७६ मंसिरमा महासेठलाई मन्त्री पदबाट हटाएका थिए । त्यसयता उनी चार पटक मन्त्री बनिसकेका छन् । तर, उनको कुनै पनि कार्यकाल विवादरहित हुन सकेको छैन । 

अहिले मन्त्री महासेठले आर्थिक संकट देखाउँदै सम्पन्न भएका आयोजनाको अरबौँ भुक्तानी दिन सकेका छैनन् । तर, उनी नयाँ आयोजनाको ठेक्का सेटिङमा भने तल्लीन छन् । 

प्रायः गरी सडक आयोजनाका बोलपत्रमा ३० प्रतिशतसम्म घटाघट (बिलो)मा ठेक्का प्रस्ताव निर्माण व्यवसायीहरूले हाल्ने गरेका छन् । तर,  भौतिक मन्त्री महासेठसँगकै सेटिङमा नाम मात्रको प्रतिस्पर्धा गराई ४ अर्ब ८० करोडमा राप्ती राजमार्गअन्तर्गत सल्यान–रुकुम खण्डको ठेक्का दिने तयारी भएको छ । 

४ अर्ब ८० करोडको ठेक्कामा प्रतिस्पर्धामा ७ प्रतिशत बिलोमा ठेक्का दिँदा पनि ३१ करोड राज्यलाई फाइदा हुन्छ । स्वच्छ प्रतिस्पर्धा गराउँदा सामान्यतया १५ देखि २० प्रतिशत बिलोमा बोलपत्र पेस गर्न र काम गर्न निर्माण व्यवसायी तयार छन् । १५ प्रतिशत बिलोमा ठेक्का दिँदा पनि राज्यलाई करिब ६३ करोड फाइदा हुन्छ ।

२० प्रतिशतमा टेन्डर हुँदा झन्डै ९० करोड नै राज्यको जोगिन्छ । तर, भौतिक मन्त्री महासेठकै डिजाइनमा बालकोटको नाम लिएर ९ जना ठूला ठेकेदारहरूबिच सल्यान–रुकुम सडक खण्डको ठेक्का श्रेष्ठ कन्स्ट्रक्सनलाई दिने गरी सेटिङ भएको छ । 
सोमबार काठमाडौंको एक होटेलमा ९ ठेकेदारहरूमध्ये कुमार श्रेष्ठले ठेक्का पाउने र अरू कसैले च्याँखेबापत ५ देखि ७ करोड पाउने र केहीले अर्को ठेक्का पाउने गरी भद्र सहमति भएको स्रोतको दाबी छ । जसमा एक मन्त्रीको कम्पनी समेत छ । 

 
सडक विभाग सम्बद्ध एक इन्जिनियरका अनुसार मन्त्री महासेठले एमालेका ओलीको नाममा समेत ठेकेदारसँग सेटिङको हिस्सा पुर्‍याउने भन्दै सल्यान–रुकुम खण्डको ठेक्काको सेटिङ गरेका छन् । ती इन्जिनियरका अनुसार उक्त सडक खण्डको बोलपत्र सूचना सम्भवतः बुधबार निस्कने छ । 

नागरिक स्वतन्त्रताका लागि १४ वर्ष जेल बसेका ओलीले ठेक्का सेटिङ गर्न निर्देशन दिएका हुन् कि महासेठले उनको बदनाम गरेका हुन् ?  त्यो भने खुल्न सकेको छैन । गिरीबन्धु टी स्टेट प्रकरणमा विवादमा परेका ओलीलाई मन्त्री महासेठले सल्यान–रुकुम खण्डको करिब ५ अर्बको ठेक्का सेटिङमा पनि तान्ने भएका छन् । 

भौतिक मन्त्री महासेठले रुकुम–सल्यानको यो ठेक्का सेटिङको पाँच प्रतिशत हिस्सा बालकोटमा बुझाउने भनेर ठेकेदारसँग डिल गरेको स्रोतको दाबी छ । बालकोटका नाममा मन्त्री महासेठले पाँच प्रतिशत लिने र अरू पाँच प्रतिशत विभिन्न पार्टी र अख्तियारसम्म मिलाउनका लागि खर्च गर्ने गरी सेटिङ गरिएको छ । 

त्यसैगरी एक बिचौलियाले बालुवाटार मिलाउन दुई प्रतिशत मागेका छन् । बालकोट–बालुवाटार मिलाउने जिम्मा ती बिचौलियाले लिएको स्रोत बताउँछ । 

त्यसैगरी नेकपा एकीकृत समाजवादी, मन्त्रालयका सचिव र सडक विभागका महानिर्देशकसहितलाई तीन प्रतिशत छुटाइएको छ । उजुरी परेपछि अनुसन्धान हुन नदिन अख्तियारका नाममा समेत ठेकेदारले एक प्रतिशत छुट्ट्याएको स्रोतको दाबी छ । 

यो ठेक्कामा नेपाली कांग्रेसका नेता एनपी साउदले समेत चासो देखिएको छ । ठेक्का पाउने कुमार श्रेष्ठ साउदका निकट हुन् । उनले रकम नलिईकन कुनै कार्यालयमा इन्जिनियरहरूको पोस्टिङ नगर्ने आरोप लाग्ने गरेको छ । 

महासेठ यसअघि नै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छानबिन घेरामा परिरहेका व्यक्ति हुन् । महासेठले मन्त्री पदमा रहँदा भ्रष्टाचारमार्फत कालो धन जम्मा गरेको आरोप ब्यहोराको उजुरी विभागमा ‘तामेली’मा छ ।

प्रतिक्रिया दिनुहोस्