काठमाडौं । जारी आईसीसी टी–२० विश्वकप–२०२४ को समूह चरणमा अष्ट्रेलियाले लगातार तेस्रो जित हात पारेको छ । बुधबार बिहान वेष्टइन्डिजको नर्थ साउण्डमा भएको खेलमा अष्ट्रेलियाले नामिबियालाई ९ विकेटले हराएको हो ।
नामिबियाले दिएको ७३ रनको सामान्य लक्ष्य अष्ट्रेलियाले ५.४ ओभरमा मात्र एक विकेट गुमाएर पूरा गरेको थियो । अष्ट्रेलियाका डेभिड वार्नरले ८ बलमा २० रन बनाएर आउट भए भने ट्रभिस हेडले १७ बलमा ३४ रन र मिचेल मार्स ९ बलमा १८ रनका अविजित हुँदै जित दिलाए ।

यसअघि पहिले ब्याटिङ गरेको नामिबिया १७ ओभरबमा अलआउट हुँदै ७२ रन बनाएको थियो । नामिबियाका जेराल्ड इरास्मसले ३६ र माइकल भान लङ्गेनले १० रन बनाउनुबाहेक अरु कसैले दोहोरो अंक जोड्न सकेनन् ।
अष्ट्रेलियाका बलर एडम जाम्पा एक्लैले ४, जोश हेजलवुड र मर्कस स्टोनिसले दुई÷दुई तथा प्याट किमिन्स र नाथन एसिसले एक÷एक विकेट लिए । लगातार तीन खेल जितेर ६ अंक जोडेको अष्ट्रेलिया समूह ‘बी’को शीर्ष स्थानमा रहेको छ भने दुई खेलमा जित र एक खेलमा अंक बाँडेको स्कटल्याण्ड ५ अंकका साथ दोस्रो स्थानमा रहेको छ । अष्ट्रेलियाले यसअघि ओमान र इंग्ल्याण्डलाई पराजित गरेको थियो ।














