काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले राष्ट्रिय हितलाई छाड्न भू-राजनीतिको बिषय उठिरहेको बताएका छन् ।
जननेता मदन भण्डारीको ७३औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी स्मृति प्रतिष्ठानले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले देशको हितमा नभइ देशको स्वाधिनतालाई कमजोर पार्न र आफ्नो स्वार्थ पुरा गर्न भू-राजनीतिको बिषय उठिरहेको बताएका हुन् ।

उनले भू–राजनीतिको नाममा राष्ट्रिय स्वाभिमानलाई कमजोर पार्न नहुने धारणा राखे । सांस्कृतिक, आर्थिक र सामाजिक भिन्नताका दुई ठूला देशसँग खेलवाड गर्न नहुने र ठूला बलियाका प्रतिस्पर्धामा पर्न नहुने उन्ले बताए । ओलीले छिमेकीहरुले नेपालसँग न्यायोचित व्यवहार गर्नुपर्ने र सरकारले पनि छिमेकीसँग जायज विषयहरू मात्रै उठान गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै ओलीले जनताको बुहदलीय जनवादमा एमालेको स्वार्थ नभएको र जननेता मदन भण्डारीको अगुवाइमा देश र जनताप्रति हितमा ध्यान दिएर प्रतिपादन गरिएको धारणा राखे ।
कार्यक्रममा फाउण्डेशनले २०८० को मदन भण्डारी राष्ट्रिय पुरस्कार पाँचथरको कञ्चनजङ्घा चिया बगान तथा अनुसन्धान केन्द्रलाई प्रदान गरेको थियो । केन्द्रलाई सम्मान गर्दै ओलीले विदेश निर्यातका लागि महँगो चिया उत्पादन गर्न सुझाव दिए । चिया निर्यातका क्वारेन्टाइन लगाएतका समस्या समाधान गर्न सरकारसंग आफुले कुरा गर्ने उनले बताए ।














