काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनले सहमतिकै आधारमा नयाँ नेतृत्व चयन गर्ने बताएका छन् ।
शनिबार महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महासचिव भुसालले पार्टीले सबै असहमतिहरू हल गरेर नयाँ नेतृत्व चयन गर्ने बताएका हुन् ।

पार्टीको नयाँ नेतृत्वले भत्किएको पुरानो वाम विकल्पलाई जोड्दै नयाँ विकल्पसमेत दिने भन्दै उनले भने, “जसरी कमरेड पुष्पलालले पार्टी स्थापना गर्दा लिएको पहलकदमीले कयौँ दशकसम्म कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्यो, आज हामी समाजवादी कार्यक्रमका साथ हाम्रो गन्तव्य निश्चित गर्दछौँ । त्यो पनि एक मतका साथ । अनेक दृष्टिकोणलाई समाधान गरेर एकताबद्ध भएर त्यो कार्यक्रम र दस्ताबेज तयार गरेका छौँ । आगामी कार्यभार ती दस्ताबेजहरूलाई पारित गर्नुपर्नेछ । यसले दशकौँसम्म कम्युनिस्ट आन्दोलनलाई नेतृत्व गर्नेछ ।”
महासचिव भुसालले महाधिवेशन आफ्नो लागि मात्र नभएर नेपालको कम्युनिस्ट आन्दोलनकै महापर्वको भएको बताए । । कम्युनिस्ट आन्दोलनको विभाजन, निराशा, र सन्नाटा र त्यसले राष्ट्रिय राजनीतिमा उत्पन्न गरेको अस्थिरतालाई चिर्नका लागि यो महाधिवेशनबाट एउटा धेरै प्रभावकारी, बलशाली र दूरगामी पहलकदमी आरम्भ गरिने उनले बताए ।














