
काठमाडौं । प्रमुख तीन राजनीतिक दलले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा नमिलेका विषय टुंग्याउन सहजीकरण कार्यदल गठन गरेका छन् । सहजीकरण कार्यदलमा कांग्रेसबाट रमेश लेखक, एमालेबाट महेश बर्तौला र माओवादीबाट जनार्दन शर्मा सदस्य रहेका छन् ।
अब कार्यदलले संक्रमणकालीन न्याय निरूपणका विषयमा भएका असहमति कसरी टुंग्याउने भन्ने विषयमा छलफल थाल्ने कार्यदलका सदस्य एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए । उनका अनुसार कार्यदलले यसअघिको मस्यौदामा भएका असहमतिका बुँदामा छलफल गरी साझा धारणा बनाउने छ ।
गत शुक्रवार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच कार्यदल गठन गर्ने सहमति भएको थियो ।














