Logo
Logo

भरतपुर कोभिड प्रयोगशालाबाट ३३० पीसीआर  र १८२ आरडीटी परीक्षण : मेयर रेनु दाहाल


- दृष्टि न्युज/संवाददाता

0
Shares

चितवन, १२ वैशाख । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर कोभिड प्रयोगशालाबाट ३३० जनाको पीसीआर  र १८२ जनाको आरडीटी बाट कोरोना संक्रमण परीक्षण गरिएको बताउनु भएको छ । सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि लकडाउन लागु गरेको एक महिना पूरा भएपछि मेयर दाहालले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिनु भएको हो ।

 

विज्ञप्तिमा भनिएको छ, हालसम्मको तथ्यांक अनुसार ३३० पीसीआर  र १८२  व्यक्तिहरुको आरडीटी (रेपिड डाईग्नोस्टिक टेस्ट) समेत गरिएको छ । जसमा दुईजना पोजिटिभ र बाँकी सबै नेगेटिभ परिणाम आएको छ । पोजिटिभ देखिएका बिरामीलाई भरतपुर अस्पतालको क्याबिनमा विशेष व्यवस्थासहित उपचार भैरहेको छ भने परीक्षणको नतिजा नआईसक्दासम्मको लागि कोरोना विशेष अस्पतालमै आइसोलेशन वार्डको पनि व्यवस्थापन गरिएको छ  ।

विश्वव्यापी रूपमा कोरोना भाइरसले फैलाएको कोभिड १९ रोग महामारीका रूपमा देखिएपछि महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरुबाट उत्पन्न सङ्कटसंग लड्न प्रयासहरु भैरहेका छन् । विज्ञप्तिमार्फत् मेयर दाहालले भन्नुभएको छ, नेपाल सरकारद्वारा प्रारम्भिक र प्रभावकारी विधि ‘लकडाउन’ घोषणा गरेको आज एक महिना पुगेको छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ, संघीय सरकारको निर्णय र निर्देशन अनुसार भरतपुर महानगरपालिकाले कोभिड १९ नियन्त्रण र रोकथामका लागि जिम्मेवारी र कर्तव्यबोधसहित जनचेतना, सम्प्रेषण, संदेश, सम्भावित संक्रमितहरुको तथ्यांक संकलन र स्वास्थ्य उपचारको पूर्वतयारीको रूपमा भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल (७० शैया) ७२ घण्टाभित्रै महानगरको सक्रिय पहलकदमी र चितवनका निजी क्षेत्रको सहभागितामा २०७६ चैत ७ गते तयार गरी संचालन गर्न सक्षम भयो । यस अवधिमा अस्पताल, क्वारेन्टाइन र रोग पहिचानका लागि अत्याधुनिक पीसीआर प्रयोगशाला, पर्याप्त स्वास्थ्य सामग्री, स्वास्थ्यकर्मीहरु, जिल्लाका सबै अस्पतालसंग समन्वयसहित सेवालाई व्यवस्थित गर्न सक्षम भएका छौं । यस अस्पतालबाट हालसम्म ६५१ जना बिरामीहरुले उपचार सेवा लिइसकेका छन् ।

भरतपुर महानगरपालिकाद्वारा स्थापित यस अस्पताललाई नेपाल सरकारले निर्धारण गरेको कोरोना विशेष अस्पतालका रूपमा परिभाषित गर्दै भरतपुर अस्पतालसंग एकाकार गरी प्राविधिक जनशक्ति व्यवस्थापनको सहजता र संचालनको एकरूपता कायम गर्दै थप मजबूत गरी सेवा प्रभावकारी बनाउन यसको व्यवस्थापनको अगुवाई भरतपुर अस्पतालले गर्ने र आवश्यक सहयोग र समन्वय महानगरपालिकाद्वारा गठित विशेष कार्यदलले गर्ने गरी एक समझदारीपत्रमा हस्ताक्षर गरी हस्तान्तरणसमेत गरिसकिएको मेयर दाहालबाट जारी विज्ञप्तिमा उल्लेख छ ।
भरतपुर महानगरपालिकाको आग्रहमा केन्द्रीय सरकारको प्राविधिक टोलीको निरीक्षण, भरतपुर अस्पताल, कृषि वन विश्वविद्यालय, क्यान्सर अस्पताल, राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाको विशेष सहयोगमा र चितवनस्थित सम्पूर्ण जनप्रतिनिधि, राजनीतिक दल, निजी क्षेत्र र सम्पूर्ण जनसमुदायको सहयोगमा स्थापित कोभिड १९ परीक्षण प्रयोगशालाबाट चितवन र यस वरपर क्षेत्रका सम्भावित संक्रमितहरुको परीक्षण गरिएको विज्ञप्तिमा उल्लेख छ ।
मेयर रेनु दाहालबाट जारी विज्ञप्तिमा भनिएको छ, यो लकडाउनबाट प्रभावित अति विपन्न परिवार, श्रमिक(मजदूर वर्गप्रति महानगरपालिका सदैव चिन्तित छ र महानगरको सापेक्षतामा व्यवस्थापनको पनि गृहकार्य गर्दै प्रारम्भिक रूपमा लक्षित वर्ग र राहतको अपेक्षा राख्ने परिवारहरुलाई तथ्यांक संकलन गरी राहत वितरण भैसकेको छ । राहत वितरण कार्यक्रमलाई महानगरले सबै वडामा र टोलहरुमा एकरूपतामा एकै गुणस्तर र मापदण्डमा कुल १५ हजार ३७० घरपरिवारले चामल, दाल, नून, तेललगायतका राहत सामग्री प्राप्त गरेका छन् । अब महामारीको अवस्था र लकडाउनको अवधिलाई ध्यान दिंदै आवश्यक राहत वितरणको निम्ति वास्तविक प्रभावितको तथ्यांक संकलन सम्बन्धित टोल र वडाहरुले गृहकार्य पनि जारी रहेको जानकारी गराउँदछौं ।

कुनै जनगुनासो, आपतविपत परेमा हेल्प डेस्क तथा टोल फ्री नम्बर १६६०५६५२२२२ र हटलाइन ०५६५२०७०६ बाट जानकारी दिन पनि अनुरोध गर्दछौं । मेयर रेनु दाहालबाट जारी विज्ञप्तिमा भनिएको छ, लकडाउनको पूर्ण परिपालनाको निम्ति, कृषि उत्पादनको बजारीकरण, दैनिक उपभोग्य वस्तुको उपलब्धता र सामाजिक जीवन पुनः सुरु गर्नका निम्ति चितवन जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, जनप्रतिनिधि, अन्य पालिकाहरु र निजी क्षेत्रसंग निरन्तर समन्वय गर्दै आएका छौं ।

लकडाउन भएपनि महानगरपालिका कार्यालय तथा वडा कार्यालयका अत्यावश्यक कार्यहरु जस्तो फोहोर व्यवस्थापन, गुनासो सुन्ने, राहत वितरण व्यवस्थापन, तथ्यांक संकलन र समन्वयकारी कार्यहरु निरन्तर जारी रहेको विज्ञप्तिमा उल्लेख छ । यसका लागि निश्चित संख्यामा कर्मचारीहरु नियमित कार्यालयमा हाजिर भएको महानगर प्रमुख दाहालको भनाइ छ ।

कोभिड १९ विरुद्ध लड्नका निम्ति सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थाले गर्ने सहयोग एकद्वार प्रणाली मै व्यवस्थित गर्ने र रकम जम्मा गर्नसक्ने गरी विपद व्यवस्थापन राहत कोष खाता १९६०००००११०१ राष्ट्रिय वाणिज्य बैंकमा सुचारु गरिएको छ ्र मेयर रेनु दाहालबाट जारी विज्ञप्तिमा भनिएको छ, काठमाडौँ लगायत अन्य जिल्लाबाट पैदलयात्रुलाई खान र बस्न स्थानीय निजी तथा सामुदायिक संस्थाहरुको सहयोगमा विभिन्न ठाउँमा व्यवस्था गर्दै आएका छौं र निरन्तर जारी हुनेछ । नागरिक तहमा कोभिड १९ रोगसंग सम्बन्धित सूचना आदानप्रदान गर्नका लागि ‘महानगरपालिका प्रकोप व्यवस्थापन प्रणाली’ नामक मोबाइल एपसमेत तयार भएर संचालनमा ल्याइएको उक्त विज्ञप्तिमा उल्लेख छ । भरतपुर महानगरपालिकामा विदेशबाट फर्किएका व्यक्तिहरुको तथ्यांक संकलन गरी २९८ जनालाई सम्पर्कमा ल्याई आवश्यक परीक्षण, उपचार र व्यवस्थापन गरिएको विज्ञप्तिमा जनाइएको छ ।

कोभिड १९ जस्तो महामारी रोगको विरुद्ध अहोरात्र खटिनुभएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार खान, बस्न र स्वास्थ्य सुरक्षाको व्यवस्थापन गरिएको छ ।

मेयर रेनु दाहालबाट जारी विज्ञप्तिमा भनिएको छ, कोभिड १९ नियन्त्रणका लागि प्रदेश सरकारले समेत सहयोग गरेको र महानगरपालिकाले आवश्यक रकम कोरोना अस्पतालको संचालनका लागि विनियोजन गरेको छ ।

राहत वितरणलाई प्रभावकारी बनाउन उप(प्रमुखको संयोजकत्वमा गठित अनुगमन समितिले राहत मापदण्ड परिमार्जन तथा अनुगमनका कार्य गरिरहेको छ ।

महानगरभित्रका रोकिएका पूर्वाधार निर्माणका कार्यहरु पनि सामाजिक दूरी तथा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै संचालन गर्ने निर्णय भएको र सोही अनुसार शीघ्र कार्य थालनी हुने जानकारी दिँदै विज्ञप्तिमा भनिएको छ ।

लकडाउन अवधिमा भरतपुर महानगरपालिकाका आम जनसमुदायले देखाएको अनुशासन, सदाशयता र महानगरको अभियानलाई दिएको साथ र सहयोगप्रति हामी कृतज्ञ छौं । लकडाउनको अवधि स्वाभाविक रूपमा कष्टकर नै हुने गर्दछ । प्राकृतिक संकटका रूपमा आएको कोरोना र यसले ल्याउने सम्भावित महामारीको त्रासभन्दा लकडाउनमा भएको कष्टलाई सहज रूपमा नै लिनुभएको छ । महानगरवासीहरुलाई हरसम्भव सहयोग समन्वय गर्न दत्तचित्त भएर लागेका छौं ।

कोभिड १९ विरुद्ध खटिईराख्नुहुने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीप्रति गर्व गर्दै, सहयोगी संस्थाहरुले गरेको योगदानलाई सम्मान गर्दै आगामी दिनमा पनि हातेमालो गर्दै संकटलाई पार लगाउने कार्यमा लाग्न मेयर दाहालले आह्वान गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्