Logo
Logo

फेरि त्यही कोरोनाकै कुरा


बिन्दिया प्रधान


  • बिन्दिया प्रधान

अहिलेको विश्व एउटै बिन्दूमा आएर अड्किएको छ । कोरोना भाइरस र यसको आतंकबारे पत्र पत्रिकाहरु, अनलाइन खबर तथा सामाजिक सञ्जालहरुमा जताततै प्रशस्त चर्चा परिचर्चा सुन्न, पढ्न देख्न पाइन्छ । मर्नेको संख्या कहाँ कति पुग्यो अनि संक्रमितहरु कहा कति थपिए ? लेखक दार्शनिक चिन्तकहरु, सरकार राजनीतिज्ञ तथा बिद्धान बुद्धिजिबी अनि नीति निर्माताहरु, बैज्ञानिक सोधखोज अनुसन्धानकर्ताहरु सबैका मन मस्तिष्कमा यो भाइरस केहो ? कहाँबाट र कसरी उत्पन्न भयो ? यसका लक्षणहरु कस्ता कस्ता हुन्छन ? कसरी यो द्रुत गतिमा एकबाट अर्कोमा सरिरहेको छ ? यसको सही उपचार केहो ? अनि यसको गन्तव्य कहिले र कसरी हो ? निर्मूलनै हुन्छ कि हुँदैन ? यो महामारीले असर कति पु¥यायो ? आर्थिक अवस्था कति चौपट पा¥यो ? यसको निकासको लागि राहतका लागि केके उपाय तथा रणनीति कार्यक्रमहरु आगामी दिनहरुमा अपनाउन पर्ला वा यी सबैका लागि कति रकमको ब्यवस्था आगामी बजेटमा आवश्यक पर्ला ? आदि प्रश्नका चाङले संसारलाई नै हल्लाइरहेको छ । ‘कामकुरो एकातिर’ भनेझैँ अहिले कता हिँडेको विश्व कता हिँडिरहेकोछ र सबैकै एकमात्र प्राथमिक एजेण्डा कोरोना नै बनेको छ ।
कोरोना अगाडिको विश्व यो अथवा त्यो नाममा पूँजी र शक्तिको होडबाजीमा केन्द्रित थियो । सामाजिक र कल्याणकारी बिषयहरु ओझेलमा पर्दै थिए । मुख्य बिषय ब्यापार, आम्दानी, लगानी, उत्पादन फेरि ब्यापारमा केन्द्रित थियो । अझपनि कतै आर्थिक समृद्धिको त्यो अपार यात्रामा यो कोरोना नामक दुश्मनले ठूलै तगारो त ल्याउने होइन भनि महाशक्तिहरु देश बन्द किन गर्ने भनि हुँकार भरिरहेकै छन । कतै जनताहरु आफैँ बन्दाबन्दीको बिरोधमा उत्रिएर सडकमा नारा लगाउँदै छन् । तर, धेरैजसोको ध्यान अहिले ब्यापार ब्यबसाय र नाफा नोक्सान भन्दा पनि अचानकै अन्तै मोडिन बाध्य भएको छ । राज्य ब्यवस्थाका चिन्तक तथा पदाधिकारीहरु सोच्न बाध्य भएका छन । कागजको काम नलाग्ने खोस्टा बनेर शक्तिशाली मुद्राका नोटहरु सडकमा फ्याकिन थालेका खबर पनि सुन्नमा आयो । अपार धन सम्पत्तिले भरिएको ढुकुटी ठूलो कि मानव जीवनको स्वास्थ्य ? अनि मानव अधिकार भित्र स्वस्थ्य जीवन बाँच्न पाउने अधिकार पर्छ पर्दैन ? सबैभन्दा यी ज्वलन्त प्रश्नले चर्चा बटुलिरहेका छन ।
अरु सबै कुरा अचानकै ओझेलमा परे । तर, स्वास्थ्य सामग्री, सरसफाईका सामानहरु अनि स्वस्थ्यकर्मीहरु एकाएक सबैभन्दा अगाडि देखा परे । बिकसित देशहरु लगायत ससाना देशहरुमा ठूला बिद्धान, बुद्धिजिवी, ब्यवसायीहरु धेरैले काम, जागिर, रोजगारी र आम्दानी गुमाइरहेका छन । र, अन्यौलमै छन कि यसको निकास कहिले त ? तर सम्पूर्ण संसारभरि नै एकाएक अचानकै डाक्टर नर्स वा स्वास्थ्य स्वयसेवीहरुको अभावनै खटकियो । लगातार एक डाक्टर ६० घण्टासम्म बिरामीको उपचारमा खटिनु परेको खबर पनि सुनियो । उनको हालत कस्तो भयो होला । त्यस्ता खटिरहने बाइस हजार भन्दा बढी डाक्टर नर्सहरुको यहि कोरोनाको कारण मृत्यु भैसकेको पनि सुन्यौ हामीले । अहोरात्र खटिने स्वास्थ्यकर्मीहरुको माग जताततै बढेको छ ।
कोरोना मृत्यूका कहरले परिवारहरु छिन्नभिन्न भएका छन । आफन्त मरेको देखेर नजिक जान डराउन परेको छ । आफू अलिकति बाँच्ने रहरमा आफ्नैहरु पराइजस्ता लाग्न थालेको छ । कस्तो दिन र नियति भोग्न पर्दोरहेछ मान्छेले । कमजोर कोमल मनस्थितिहरु डराइरहेछन र धेरै सोच्दा सोच्दै धमाधम मानसिक सन्तुलन पनि गुमाउन बाध्य छन ।
धेरै क्षेत्रहरुमा धेरै प्रश्नहरु उब्जिएका छन । बिभिन्न बादहरुका कुरामा चर्चा चल्न थालेकोे छ । समाजबादमा स्वास्थ्य शिक्षा र अन्य सामाजिक हितका बिषयहरु सरकारले सम्पूर्ण जनतालाई उपलब्ध गराउने ब्यवस्था मिलाउन पर्ने अनि त्यसैको उल्टो पूँजीबादमा स्वास्थ्य होस या शिक्षा ती सबै ब्यापारका बस्तु हुन्छन र सरकारले जिम्मा नलिई निजी क्षेत्रलाई सुम्पिएको हुन्छ भनिन्छ । तर अचम्भ अहिलेको यो कोरोनाले न समाजबादलाई हेला गर्यो नत पूँजीबादलाई मायानै । सबै सबै यसको चपेटामा आए र आउदै छन । त्यसैले समाजबाद होस या पूँजीबाद यस्तो अचानक आउने संकट चाहे त्यो रोगको महामारी होस या आँधी तुफान, भेलबाढी, भूकम्प, पहिरो, ज्वालामुखी बिष्फोट तथा गोला बारुद, अणुबमका नानाथरि क्षेप्यास्त्रहरु जस्ता मानवजीवनका शत्रुहरुसँग सचेत भएर जुक्तिपूर्बक जुध्दै त्यसले ल्याउने बिनाशबाट आफ्ना नागरिकको जीवन रक्षाको लागि कुशल योद्धाले झैँ निरन्तर लड्दै चाँडै सफलता हासिल गर्ने महारथीहरुले नै स्याब्बासी र तारिफ पाएका छन ।
विश्वका कैयन देशका राज्य ब्यवस्थाका जिम्मेवार सरकारहरुका लागि यो कोरोना कहर बास्तवमै एउटा गतिलो अग्नी परिक्षानै भएर आइदियो । आमपीडित जनताका लागि कठोरै भएपनि कल्याणकारी निर्णय तथा कार्यक्रमहरु, ती कार्यक्रमलाई द्रुत गतिको कार्यान्वयण गर्न गराउन दृढ इच्छाशक्ति र इमान्दार हात र हृदयहरु चहिँदोरहेछ । अनि, कठोर अनुशासन लागू गराउन कडा नीति कार्यक्रम तथा चुस्त संयन्त्रहरु पनि आवश्यक पर्दोरहेछ । राज्यका, सरकारका निर्णयहरु खेलाची सम्झेर नउडाउने र त्सलाई पालना गर्न अत्यन्तै सुझबुझ भएका शालीन नागरिकहरुको भूमिका पनि अत्यन्तै महत्वको हुने रहेछ यस्तो बेलामा । शायद अहिले मात्र नभएर राम्रा कुरा लागू गराउन सधै देशमा जनताले पनि त्यसको मर्म बुझ्न जरुरी हुँदोरहेछ । तर हामीकहाँ धेरै राम्रा कुराहरु लागू गराउन खोज्दा आफूलाई घाटा पर्ने भयो भनेर कतिपय ब्यवसायीले सधै धर्ना, बिरोध, हडताल गरिरहदा ती राम्रा कार्यक्रम लागू गर्नै नसकेर त्यसै अलपत्र परिरहेका कैँयन उदाहरण छँदैछन् ।
राज्य ब्यवस्थाका लागि कस्तो बाद वा सिद्धान्त ठिक भनेर ती बादहरुका बारेमा सम्बन्धितहरुले नै सोचिरहुन् । बाद र सिद्धान्त नै ठूलो कुरो नहुने रहेछ सधैँ । विश्वका धेरै देशहरुका सरकारहरु कसैको सफलता अनि कसैको असफलताहरु हेर्दा अब सोच्नै पर्ने बाध्यता पनि उनीहरुलाई आइपरेको छ । त्यसैले सबैभन्दा ठूलो र महत्वपूर्ण कुरा यो कोरोना कहरको अवस्था आफैले धेरै बिषयहरुमा , बिरोधाभाषहरुमा र बिकृतिहरुमा सुधार गर्नुपर्ने पक्ष र अपनाउनुपर्ने रणनीतिहरु बारेमा छर्लङ्ग पारिदिएको छ ।

प्रकाशित मिति : मंगलबार, १६ बैशाख २०७७

प्रतिक्रिया दिनुहोस्