Logo
Logo

आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ, १८ वैशाख । कोभिड–१९ ले थलिएको नेपाली पर्यटन व्यवसायलाई जीवित राख्नको लागि आन्तरिक पर्यटन एकमात्र विकल्प भएको सरोकारवालाले बताएका छन् । पर्यटनको क्षेत्रमा काम गर्ने एक्सेल ट्रिप नेपालले आन्तरिक पर्यटन र जीवित रहने रणनीति (राम्रो भविष्यको निम्ति प्रभावकारिता र जीवित रहने मार्गचित्र) विषयमा गरेको अनलाइन वेभीनारका वक्ताले कोभिडका कारण धराशायी अवस्थापमा पुगेको पर्यटनलाई लयमा फर्काउन आन्तरिक प्रवद्र्धनमा जोड दिनुपर्ने खाँचो औँल्याए ।

विदेशी पर्यटक नआएको बेला कसरी नेपालको पर्यटनलाई आन्तरिक पर्यटनले टेवा पु¥याउन सक्छ भन्ने विषयमा केन्द्रित उक्त छलफलमा वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्य, ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदी, नेपाल पर्यटन बोडका पूर्व प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, होटेल सङ्घ नेपाल(हान)का प्रथम उपाध्यक्ष विनायक शाहको सहभागिता थियो ।

पर्यटन व्यवसायी शाक्यले सरकारले ‘नेपाल भ्रमण वर्ष’ को लागि छुट्याएको रकम अब आन्तरिक पर्यटनमा लगानी गर्नुपर्ने धारणा राख्नुभयो । नेपाल पर्यटन बोर्डले धार्मिक, सांस्कृतिक, प्राकृतिक र ऐतिहासिक गन्तव्यस्थलको नेपाली भाषामा भिडियो बनाएर प्रचारप्रसार गर्नुपर्ने उहाँको सुझाव थियो । उहाँले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटकीय गन्तव्य बनाउँदा शहरी क्षेत्रमा नभई सम्भावना बोकेको नेपालका विविध क्षेत्रमा पर्यटनका गतिविधि केन्द्रित गर्नुपर्ने बताउनुभयो ।

बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत जोशीले सन् २०१६ मा आन्तरिक पर्यटक बढेको दृष्टान्त प्रस्तुत गर्दै त्यसलाई अझै व्यवस्थित गर्नुपर्ने खाँचो औँल्याउनुभयो । उहाँले नेपली पर्यटकलाई सुहाउँदो सेवाको आवश्यकता भएकाले सरकार र व्यवसायीले यस विषयमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

सङ्घका प्रथम उपाध्यक्ष शाहले अब नेपालीलाई सुहाउँदो प्याकेज ल्याउने होटेल सङ्घको योजना रहेको बताउँदै यसमा सरकारको साथ सहयोग चाहिने बताउनुभयो । टानका अध्यक्ष सुवेदीले नेपाली कमै जाने पदयात्रामा आकर्षण गर्न टानले नेपालीलाई लक्षित गरी प्याकेज ल्याउने योजना लिएको बताउनुभयो । एक्सेल ट्रिपका देशीय निर्देशक आदित्य बरालले सबै क्षेत्र एकजुट भई यो सङ्कटको घडीमा पर्यटन व्यवसायलाई आन्तरिक पर्यटनमार्फत जीवित राख्नुपर्ने धारणा राख्नुभयो । एक्सेल ट्रिप संसारकै तीव्र रफ्तारमा फैलँदो एक अनलाइन ट्राभल प्लाटफर्म हो ।

बोर्डद्वारा फोटो प्रतियोगिता आयोजना

लकडाउनमा घर बसाइको समयलाई सिर्जनात्मक बनाउँदै आफ्नो ठाउँलाई प्रचार गर्ने उद्देश्यका साथ नेपाल पर्यटन बोर्डले झ्यालबाट देखिने सुन्दर दृश्यको फोटो प्रतियोगिता आयोजना गरेको छ ।

प्रतियोगितामा नेपालको कुनै ठाउँको प्राकृतिक सौन्दर्य, संस्कृति, पर्यटन गतिविधि वा केही पनि सान्दर्भिक तस्वीर अनलाइनबाट पठाउन सकिनेछ । सहभागीले आगामी जेठ १८ गतेसम्म फोटो पठाइसक्नुपर्नेछ । नेपाल पर्यटन बोर्डको फोटो अभियानको साइट https://photonepal.travel मार्फत प्रतियोगितामा सहभागी हुन सकिनेछ । प्रतियोगितामा उत्कृष्ट पाँच सहभागीले जनही रु दश हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले फोटो प्रतियोगिताले नेपालको कुनाकाप्चामा खिचिएको फोटो प्रदर्शनी गर्ने, छलफल गर्ने र फोटोमार्फत देशको पर्यटन प्रवद्र्धन गर्ने साझा अभियानलाई अघि बढाउने विश्वास व्यक्त गर्नुभयो ।

बोर्डले पाँच वर्षदेखि फोटोको माध्यमबाट देशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ नियमित ह्यास फोटो नेपाल फोटो प्रदर्शनी गर्दै आएको थियो । फोटो नेपाल फेब्रुअरी २०१६ मा टोनी हेगनको फोटो प्रदर्शनीसँगै शुरु भएको थियो ।

यस अभियानलाई अझ व्यापक बनाउन फोटोनेपाल डट ट्राभल शुरु गरिएको हो । हाल यसमा दुई हजार बढी सदस्यका २० हजार फोटो सङ्ग्रहित रहेको बोर्डले जनाएको छ । इच्छुक कोहीले प्रतियोगितामा सोसियल एकाउन्टबाट रजिष्ट्रर गरीे सहभागी हुन सक्ने छन् ।रासस

प्रतिक्रिया दिनुहोस्