Logo
Logo

सास्ती खेपेर पनि सीमामा खटिएका छन् सुरक्षाकर्मी


- दृष्टि न्युज/संवाददाता


कैलाली, २० वैशाख । कोरोना भाइरसका कारण देश बन्दाबन्दीको अवस्थामा छ । सबै सीमानाका बन्द छन् भने देशभित्र पनि आवागमनमा सरकारले रोक लगाएको छ । बन्दाबन्दीको समयमा भारतीय सीमा क्षेत्रमा नेपाल सरकारले थप सुरक्षाकर्मी खटाएको छ । सीमा क्षेत्रमा अस्थायी क्याम्प स्थापना गरी सुरक्षाकर्मी खटाएको भए पनि त्यस क्षेत्रमा खटिएका सुरक्षाकर्मी भोकै प्यासै सुरक्षामा खटिनुपर्ने बाध्यता छ ।

 

भारतमा कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएको अवस्थामा भारतबाट कोही पनि नेपाल भित्रन नपाउन् भन्दै कैलालीका सीमानाकामा थप अस्थायी बेस क्याम्प निर्माण गरी सशस्त्र प्रहरीले सुरक्षा दिँदै आएका छन् । सुरक्षाका लागि खटिने ती सुरक्षाकर्मीहरु विभिन्न समस्याबाट पीडित भइरहेको उनीहरुको गुनासो छ ।

टीकापुर नगरपालिका–७ कालाकुण्डास्थित सशस्त्र प्रहरीको अस्थायी बेस क्याम्पमा कार्यरत सुरक्षाकर्मी थुप्रै समस्यासँग जुधिरहेका छन् । मोहना नदीको छेउमा गत चैत २६ गते स्थापना भएको अस्थायी बेस क्याम्पमा सशस्त्र प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १२ सुरक्षाकर्मी कार्यरत छन् । बस्तीबाट निकै टाढा रहेको बेस क्याम्पमा कार्यरत सुरक्षाकर्मीलाई पिउने पानी, विद्युत्, शौचालय, खानालगायतको समस्या छ । उनीहरु तीन किलोमिटर टाढा टीकापुर–९ खक्रौलामा रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्टबाट पिउने पानी र खाना बोकेर सुरक्षार्थ तैनाथ छन् । टीकापुर–९ चौगुर्दीस्थित अस्थायी बेस क्याम्पमा कार्यरत सुरक्षाकर्मीको अवस्था पनि उस्तै छ । उनीहरुले समेत पिउने पानी र खाना खक्रौलास्थित सीमा सुरक्षा पोष्टबाट बोकेर लैजाने गरेका छन् ।

त्यस्तै भजनी नगरपालिकामा पनि छवटा अस्थायी क्याम्प स्थापना गरिएका छन् । त्यहाँका सुरक्षाकर्मीको अवस्था पनि त्यस्तै छ । एक क्याम्पबाट अर्को क्याम्प देखिने गरी अस्थायी क्याम्प स्थापना गरिएको भए पनि नदीको किनारमा र जङ्गल क्षेत्रमा बस्नुपर्ने भएकाले थुप्रै समस्या झेल्नुपर्ने बाध्यता रहेको उनीहरु बताउँछन् । समस्यासंँग जुध्दै आए पनि उहाँहरुले कसैको नाम कोड नगर्ने सर्तमा आफ्नो वास्तविक समस्या बताउनुभएको हो ।

भजनी नगरपालिकाका नगर प्रमुख शेरबहादुर चौधरीले सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीको व्यवस्थापनका लागि नगरपालिकाले आवश्यक प्रक्रिया अगाडि बढाएको बताउनुभयो । “आवश्यक सहयोगका लागि समन्वय भएको छ”, उहाँले भन्नुभयो, “खानेपानी, विद्युत्, शौचालय आदिको समस्या छ, ती समस्या समाधानका लागि सशस्त्र प्रहरीसँग समन्वय र सहकार्य भइरहेको छ ।” नगर प्रमुख चौधरीले सीमामा खटिएका सशस्त्र प्रहरीको भूमिका महत्वपूर्ण भएको बताउँदै उहाँहरुसंँग निरन्तर समन्वय र सहकार्य भइरहेको बताउनुभयो । विद्युत् सम्भव भएको ठाउँमा विद्युत् लाइन जडान गर्ने र सम्भव नभएको ठाउँमा सोलारको समेत व्यवस्था गरिने नगर प्रमुख चौधरीले बताउनुभयो ।

सशस्त्र प्रहरी बल ३४ नं गण कैलालीका सशस्त्र प्रहरी उपरीक्षक कमल तिमिल्सिनाले अस्थायी क्याम्पमा समस्या रहेको बताउँदै पहिलेको तुलनामा समस्या समाधान हुँदै गएको बताउनुभयो । उहाँले अन्य क्षेत्रमा जस्तो पूर्व तयारी गरी सुरक्षाकर्मी परिचालन नहुने बताउँदै अस्थायी क्याम्पमा देखिएका समस्या समाधानका लागि स्थानीय र प्रदेश सरकारसंँग समन्वय भइरहेको बताउनुभयो । “स्थानीय सरकारले सहयोग गर्दै आएको छ । प्रदेश सरकारले पनि स्वास्थ्य सामग्रीको सहयोगका लागि समन्वय गरेको छ”, सशस्त्र प्रहरी उपरीक्षक तिमिल्सिनाले भन्नुभयो, “केही क्याम्पमा समस्या छ तर विस्तारै सबै समस्याको समाधानका लागि हामी लागिरहेका छौँ ।”

उहाँले सीमा क्षेत्रमा सुरक्षा मजबुत गर्न र आइपरेको समस्याको समाधानका लागि स्थानीय सरकारसंँग समन्वय गर्न भजनी र टीकापुर क्षेत्र हेर्ने गरी सशस्त्र प्रहरी नायब उपरीक्षक खटाइएको बताउनुभयो । यसअघि भजनी र टीकापुर सीमा क्षेत्रमा सशस्त्र प्रहरी निरीक्षकको नेत्तृत्व रहँदै आएको थियो । “धेरै ठाउँमा समस्या छ । हामी समस्याका बाबजुद पनि काम गरिरहेका छौँ”, सशस्त्र प्रहरी उपरीक्षक कमल तिमिल्सिनाले भन्नुभयो, “हामी आवश्यक परेका बेला तत्काल खट्नुपरेकाले समस्या भएको हो । यो विस्तारै समाधान हुन्छ । अहिले प्रहरी नायब उपरीक्षकले स्थानीय तहसंँग समन्वय गरी समस्याको समाधान गर्ने काम भजनी र टीकापुर क्षेत्रमा भइरहेको छ ।”

कैलालीको सीमा क्षेत्र ५२ वटा अस्थायी क्याम्प र १२१ वटा सेन्ट्री पोष्ट रहेको बताउँदै तिमिल्सिनाले १०० किलोमिटरको दूरी कायम हुने गरी क्याम्प स्थापना गरिएको बताउनुभयो । कतिपय ठाउँमा सुरक्षाकर्मी सीमा क्षेत्रमा रहेका विद्यालय भवन, सामुदायिक भवनलगायतमा बस्दै आएका छन् भने कतिपय ठाउँमा बस्तीबाट निकै टाढा नदी किनारको जङ्गलमा बस्न बाध्य छन् । बस्ती नजिकै बसेका सुरक्षाकर्मीको तुलनामा बस्तीभन्दा टाढा रहेकाहरु निकै समस्यामा छन् । बस्तीभन्दा टाढा रहेका सुरक्षाकर्मी टेण्ट गाडेर बसेका छन् । उहाँहरुसँग पिउने पानी र खाना बोक्नका लागि साधन समेत छैन । स्थानीयवासीले दिएको एउटा साइकलमा एकजना सुरक्षाकर्मीले पिउने पानी र खाना बोक्ने गरेका छन् ।

खुल्ला सीमा नाकाका कारण भारतबाट थुप्रै मानिस भित्रिन सक्ने भन्दै सरकारले देशैभर सीमा क्षेत्रमा सशस्त्र प्रहरी परिचालन गरेको हो । उहाँहरुले भारततर्फ आउने व्यक्तिलाई रोक्ने जिम्मेवारी पाएका छन् । भारतबाट अनियन्त्रित रुपमा आउने मान्छेका कारण कोरोना भित्रिन सक्ने सरकारको अनुमान छ ।

त्यस्तै, टीकापुरमा सत्कार मेडिकल सञ्चालन गर्दै आएका डा हेमन्त स्वाँरले कोरोना नियन्त्रणका लागि सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीका लागि पिउने पानीको व्यवस्था गर्नुभएको छ । उहाँले टीकापुर नगरपालिकाका कालाकुण्डा, चौगुर्दी र श्रीलङ्कास्थित बेस क्याम्पमा १०० जार पिउने पानी उपलब्ध गराउनुभएको हो । उहाँले तीनवटै क्याम्पमा रहेका सुरक्षाकर्मीलाई पिउने पानीका साथै मास्क र सेनिटाइजरसमेत उपलब्ध गराउनुभएको बताइएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्