काठमाडौं । साउनको ७ र ८ गते दुई दिन सर्भर डाउन हुँदा देशभरको यातायात कार्यालयका सेवा ठप्प भए । सेवा लिन गएका सेवाग्राही र कर्मचारीबीच तनावको अवस्था पनि सिर्जना भयो । यातायात कार्यालयहरू अस्तव्यस्त भए । सेवा प्रवाहमा बढी भीड हुने भनेकै यातायात व्यवस्था कार्यालय हो ।
काठमाडौंका चार कार्यालयले मात्रै दैनिक ४ हजारभन्दा बढीलाई सेवा दिने गरेका थिए । देशभर यातायात कार्यालयबाट दैनिक हजारौंले सेवा लिने गर्छन । काम नभएपछि सेवाग्राहीहरू कर्मचारी माथि आक्रोश पोख्ने गर्छन ।
त्यतिबेला कतिपय कार्यालयमा सेवाग्राहीको आक्रोशका कारण कर्मचारी दिउँसै कार्यालय छाडेर हिँडेका थिए । तर, यसलाई सामान्य सर्भर डाउन भएको भन्दै टारियो । यसो किन भयो भनेर कोही कसैले खोजीनीति गरेन । मात्र सर्भर डाउन भएको भन्दै समाचारहरू सम्प्रेषण भए ।
यसको खास कारण विभागका दुई कर्मचारीको कोठामा रहेको एसीमा आगलागी भएपछि सर्भर डाउन भएको थियो ।
यातायात व्यवस्था विभागको कार्यालयमा गत साता दुई वटा कोठामा आगलागी हुँदा दुई दिनसम्म सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाई अवरुद्ध भयो । लाइसेन्स छपाई अवरुद्ध भएको समाचार बाहिर आएपनि आगलागी भएको विषय बाहिर आउनै पाएन ।
दुई उपसचिवको कोठामा आगलागी भएको र प्रिन्टिङ कोठामा धुवा छिरेर सफ्टवेयर ह्याक भएको विषयलाई भित्रभित्रै गुपचुप राखिएको छ ।
यो विषयलाई बाहिर ल्याउन विभागका महानिर्देशक उद्धव रिजालले पनि चाहेनन् । नक्कली लाइसेन्सको अनुसन्धान गरेर चर्चामा आएका रिजालले दुई उपसचिव इश्वरी पनेरु र नरहरी तिवारीको कोठामा आगलागी भएको विषयलाई गुपचुप राखेका छन् ।
एसीमा आगलागी भएपछि त्यहाँको धुवा सर्भर रहेको कोठामा छिरेको थियो । धुवा छिरेपछि पूरै सर्भर डाउन भएर दुई दिनसम्म चल्न सकेको थिएन । त्यसलाई चलाउनका लागि सिंगापुरमा रहेका कम्प्युटर इन्जिनियर सन्तोष श्रेष्ठको सहयोग लिइएको विभाग स्रोतले जनाएको छ । ‘डाउन भएको सर्भर सिंगापुरबाट खोल्नु पर्यो यो भन्दा लाजमर्दो केही हुन्छ’, विभागकै एक अधिकारीले भने ।
नक्कली लाइसेन्सको छानवीन भएदेखिनै विभागमा रहेका कर्मचारीहरुले विभिन्न बहनामा लाइसेन्स छपाई र वितरण प्रणालीमा अवरोध गरिरहेका बेला एसीमा आगलागी गराएर सर्भर डाउन गरेको हुनसक्ने आशंका गरिएको छ ।
नक्कली लाइसेन्स वितरण प्रकृयामा खासगरी राज्यको पहुँचमा रहेका पूर्व महानिर्देशकहरु मुछिएपछि कुनै कुनै बेला विभागमा कर्मचारी र विचौलियाहरुले अवरोध गर्दै आएका छन् । तर विभागमा महानिर्देशक रिजाल यो विषयमा मौन रहेका छन् । पछिल्लो समय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पनि छानबिन गरेर अदालतमा मुद्धा दर्ता गरिसकेको र उपसचिव केशव अर्याललाई थुनामा पठाइसकेको छ ।