Logo
Logo

रासायनिक मलमा कालोबजारी गरेको आरोपमा दुई पक्राउ


- दृष्टि न्युज/संवाददाता


गोरखा, २८ वैशाख । जिल्लाको भीमसेन थापा गाउँपालिका–१ निवेलबाट रासायनिक मलमा कालोबजारी गरेको आरोपमा प्रहरीले शनिबार दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले मल कालोबजारी गरेको आरोपमा हिमालयन गोरखा एग्रो फार्म प्रालिका सञ्चालकसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा फार्म सञ्चालक भक्तबहादुर श्रेष्ठ र फार्ममा काम गर्ने रेशम श्रेष्ठ रहेका छन् । मल बिक्रीको अनुमतिसमेत नभएको उक्त फार्मले किसानलाई प्रतिकिलो रु ३५ का दरले मल बिक्री गर्दै आएको प्रहरीले बताएको छ । सञ्चालक श्रेष्ठले फार्मको नामबाट मूल्यसूची टाँस नगरी अत्यधिक दरभाउ कायम गरी अनधिकृतरूपमा किसानलाई मल बेचेको भन्ने गुनासो आएपछि सदरमुकामबाट विशेष प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।(रासस)

प्रतिक्रिया दिनुहोस्