Logo
Logo

भारतमा रेलसेवा सञ्चालन, संक्रमित ७० हजार भन्दा बढी


- दृष्टि न्युज/संवाददाता


नयाँदिल्ली, ३० वैशाख (एएनआई) । भारतमा मंगलबारदेखि रेल सेवा पुनः सञ्चालनमा आएको छ । कोभिड १९ को नियन्त्रण तथा रोकथामका लागि भारत सरकारले बन्द गरेको रेलसेवा झण्डै डेढ महिनापछि आजबाट सञ्चालनमा आएको हो ।
यसअघि भारतका विभिन्न स्थानमा खाद्यान्न तथा अन्य सामान ढुवानीका लागि रेलसेवा आंशिक रुपमा सञ्चालनमा थियो तर यात्रुबाहक रेल भने पूर्ण रुपमा बन्द गराइएको थियो ।
रेल सेवाका लागि सोमबार अपराह्न ४ बजेदेखि नै अनलाइन बुकिङ खुलेको थियो । तर रेलवे सेवाका काउन्टरहरूबाट भने टिकट किन्न नपाइने व्यवस्था गरिएको छ । काउन्टरमा भीडभाड हुने भएकोले अनलाइनबाटै टिकट किन्न पाइने अधिकारीहरूले जानकारी गराएका छन् ।
रेलका मजदुरहरुले रेल सेवा पुनः सञ्चालनका लागि पहिल्यै देखि सरकारलाई आग्रह गर्दै आएका थिए । सोही बमोजिम सरकारले मंगलबारदेखि सो सेवाको सुरुआत गरेको बताएको छ । भारत सरकारका अनुसार मंगलबार नयाँ दिल्लीबाट १५ वटा रेल देशभरका मुख्य रेलवे स्टेसनका लागि छुट्ने बताइएको छ । नयाँ दिल्लीबाट अगरताला, होरह, पटना, विलासपुर, राँची, भुवनेश्वर, सिकन्दरावाद, बैंगलुरू, चेन्नाइ, थिरूवानानुथपुरम, मदगाउँ, मुम्बई सेन्ट्रल, अहमदावाद र जम्मुतावीका लागि रेलसेवा उपलब्ध हुने छ ।
यी सबै रेलवे स्टेसनमा यात्रुहरूको स्वास्थ्य जाँच गरिने र स्वास्थ्य परीक्षणमा कोभिड १९ को कुनै लक्षण देखिएमा उनीहरूलाई रेलमा प्रवेश गर्न नदिइने तथा सबै यात्रुले अनिवार्य रूपमा मास्कको प्रयोग गर्नुपर्ने बताइएको छ । यसरी सञ्चालनमा आएका रेलहरुमध्ये केही दैनिक र अरु केही साप्ताहिक रुपमा सञ्चालनमा आउने व्यवस्था गरिएको छ । यहाँको रेलसेवा मन्त्रालयले कोभिढ १९ का विरामीका लागि यो सेवा बन्देज लगाएको छ ।
हरेक रेल स्टेसनको बाहिरै स्वास्थ्य जाँचको व्यवस्था मिलाइएको छ भने रेलमा प्रवेश गर्ने सबैले मास्क अनिवार्य रुपमा लगाउनुपर्ने नियम बनाइएको भारतको रेलसेवा मन्त्रालयले जानकारी दिएको छ ।
उता भारतमा कोभिड १९ का संक्रमितहरुको संख्या भने बढ्दो देखिएको छ । भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या मंगलबार बिहानसम्म ७० हजार नाघेको समाचारमा जनाइएको छ ।

मंगलबार बिहान जनाइएअनुसार यहाँ कोभिड १९ बाट संक्रमित व्यक्तिको संख्या ७० हजार ७५६ जना पुगेको छ । यहाँ गत २४ घण्टामामात्र थप ३ हजार ६०५ जना कोरोना भाइरस संक्रमित भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्