Logo
Logo

खतराको सूचीबाट जोगिए पनि सरकारलाई लुम्बिनीको चासो छैन


दामोदर खनाल

2.8k
Shares

रुपन्देही । गौतम बुद्वको जन्मस्थल लुम्बिनीको विकास होइन, विनास हेर्दा जो कोहीको मन रुन्छ । चार दशक अगाडि वास्तुविद् केञ्जो टाँगेले लुम्बिनी गुरुयोजना सुरु गरेका थिए । सन् १९७२ देखि १९७८ सम्म गुरुयोजना सुरु गरेर काम थालिएको थियो ।

उक्त लुम्बिनी गुरूयोजनाले सार्थकता पाउनुको साटो निर्माणकार्यको ढिलाइले लुम्बिनीलाई झनै अस्तब्यस्त बनाएको छ । लुम्बिनी प्रवेशद्वार भित्री भाग र मुख्य सडक निर्माणको अस्तव्यस्तताले आवतजावतमै समस्या पारेको छ । लामो समयदेखि राजनीतिको चरम मारमा परेको लुम्बिनीबारे स्वयं लुम्बिनी विकास कोष र जिम्मेवार निकाय यहाँको विकासमा गम्भीर बन्न सकेको देखिँदैन ।

स्थानीय वीरेन्द्र मिश्र यहाँ विकास निर्माणमा बेथितिको त कुरै छाडौं, दैनिक १२ घण्टासम्म विद्युत् अवरूद्व हुने गरेकोले समस्या परेको गुनासो गर्छन् । उनी भन्छन् ट्रान्सफर्मर पुरानो छ, तार पोल जीर्ण भएका कारण नयाँ फेर्न आवश्यक छ । लुम्बिनी गुरुयोजनाको काम वर्षौँदेखि अपुरो छ । समयमा निर्माण सम्पन्न गर्न ग्लोबल टेण्डर दिएका छन्, जुन काम समयमा भएको पनि छैन, निर्माण गर्ने भत्काउने गरिएको छ, काममा गुणस्तरीयता पनि छैन । ग्लोबल टेन्डरको कामको नाममा लुम्बिनीको नाममा भ्रष्टाचार बढेको छ ।

यहाँको विद्युतीकरणमा प्रयोग गरिएको कमजोर निर्माण सामग्रीले गर्दा पटकपटक हुने ट्रिपिङ लामो समय अघोषित लोडसेडिङले पर्यटकहरुले सास्ती भोग्नुपरेको जर्मन टेम्पलका कार्यालय सहयोगी तारा कट्टेलले गुनासो गरे । बिगत २० बर्षदेखि यहाँ बस्दैआएका उनले भने– ‘सडक निर्माण अस्तब्यस्त हुँदा पर्यटकलाई निकै दुःख भएको छ, टुरिष्ट गाइड, पार्किङ, टयाक्सी रिक्साको राम्रो ब्यवस्था छैन । लुम्बिनी क्षेत्रलाई प्रदूषणमुक्त गराउन एसियाली विकास बैंकले दिएको इलेक्ट्रिक बस र गाडीहरु खिया लागेर बेकाम भएका छन् । प्रदूषणले लुम्बिनीको अस्तित्वमाथि धावा बोलिरहँदा पनि कसैको ध्यान गएको छैन ।

भदौ १५ गते पहिलोपटक लुम्बिनी पुगेका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई बिहार र गुम्बा क्षेत्रका बासिन्दा र कर्मचारी लोडसेडिङ लगाएतको समस्याबारे अवगत गराएका थिए ।

बज्रयान महाबिहारका अमिन शाक्यले पनि पार्किङ, सार्वजनिक शौचालय विद्युत्, सडकजस्ता सुविधा पर्यटकले पाउन नसकेको र विगतको तुलनामा पर्यटक घटेको बताए ।

बिश्व प्रख्यात गौतम बुद्वको जन्मस्थल पवित्र भूमि लुम्बिनीको विकास जुन रूपले हुन पर्ने हो त्यो रूपले हुन सकेको छैन । पछिल्लो समय यहाँभित्र जथाभावी निर्माण कार्यले विश्व सम्पदा सूुचि वारे पनि प्रश्न उठेको छ ।

यस क्षेत्रको धार्मिक, आर्थिक र पर्यटन विकासको ठूलो सम्भावना बोकेको लुम्बिनीको विकास निर्माणमा सरोकारवाला निकायको पनि खासै ध्यान जानसकेको देखिँदैन ।

कछुवा गतिमा काम
लुम्बिनीको विकास निर्माणको काम कछुवा गतिमा छ । सरकारको लुम्बिनीप्रति हेर्ने दृष्टिकोणमा सकारात्मक सोच आउन नसक्दा नै ४० वर्ष बितिसक्दा पनि लुम्बिनी गुरुयोजना पूरा हुन नसकेको हो । हालसम्म गुरुयोजनाका नाममा करिब साढे ६ अर्ब खर्च भइसकेको छ ।

लुम्बिनी विकास कोषका अनुसार लुम्बिनीको विकासको लागि सरकारले प्रचार–प्रसार र प्रबद्र्धनको लागि बिशेष जोडदिदै यहाँ आउने थाई, श्रीलंका, म्यानमार लगायतका बिदेसी पर्यटकको वसाई लम्व्याउन सक्ने हो भने लुम्बिनी आसपासको क्षेत्रको पनि विकास हुनसक्छ । तर दुर्भाग्य, अस्तव्यस्त लुम्बिनीमा रात कटाउन पनि गाह्रो मान्छन् पर्यटकहरु ।

पटकपटकको बन्द हड्ताल, नाकाबन्दी, कर्मचारीको आन्दोलन कोषको पदाधिकारी मनोनितमा विवाद र ढिलासुस्तीलगायतले पनि यहाँको विकास निर्माणलाई प्रभाव पारेको लुम्बिनी विकास कोषका कर्मचारी बताउँछन् ।

लुम्बिनीमा निर्माण भएको सेन्ट्रल क्यानलमा डुङ्गा सवारको व्यवस्था मिलाइएको छ । त्यो पनि फोहर पानीले गन्हाउने भएको छ । सामान्य नहर सुधारमा समेत कोषको ध्यान जान सकेको छैन ।

पछिल्लो समय बुद्ध सँग सम्बन्धित कपिलवस्तुको तिलौराकोट, रुपन्देहीको भवानीपुर, नवलपरासीको रामग्रामलाई बुद्ध सर्किटको रुपमा विकास गरिँदैछ । जुन कामभन्दा हल्ला बढी छ । गुरुयोजनाअन्तर्गत १६ किलोमिटर वाल निर्माण, भित्री सडक निर्माण, मायादेवी मन्दिरको पुनःनिर्माण, केन्द्रीय नहर निर्माणजस्ता काम महत्वपूर्ण कामहरु छन् ।

राष्ट्रिय गौरव र महत्व बोक्ने यो पवित्र भूमि लुम्बिनीप्रति विश्वको ध्यान केन्द्रित छ । वार्षिक रुपमा यहाँ लाखौंको संख्यामा स्वदेशी विदेशी पर्यटक आउँछन् । यहाँ पर्यटकहरुका लागि आवश्यक पूर्वाधार जतिसक्दो छिट्टो निर्माण गर्न सक्ने हो भने पर्यटन व्यवसायबाट नै ठूलो आम्दानी गर्न सक्छ । त्यसका लागि यहाँका प्राचीन स्मारक, अवशेष, पुरातात्विक वस्तु, अशोकस्तम्भ, मायादेवी मन्दिर, विभिन्न शिलापत्र, संग्रहालय, पोखरी, बिहार, गुम्बा, प्रार्थना क्षेत्र, शान्ति स्तुप, शान्ति दीप, शान्ति घण्टलगायतले गर्दा लुम्बिनीको महत्वलाई अझ बढाएको छ ।

खतराको सूचीमा लुम्बिनी
बुद्ध जन्मस्थल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत भएको छ । भारतको नयाँदिल्लीमा जुलाई २१ देखि जारी विश्व सम्पदा समिति (युनेस्को वल्र्ड हेरिटेज कमिटी) को ४६ औं सेसनमा मस्यौदा उपर छलफल गरी लुम्बिनीलाई खतराको सूचीमा नराख्ने निर्णय भएको हो ।

वल्र्ड हेरिटेज कमिटिका २१ देश मध्ये भारत सहित १९ देशका प्रतिनिधिले बुद्धजन्मस्थल लुम्बिनी विश्वकै अनुपम महत्वको स्थल भएकाले नेपाललाई सुधारका लागि समय दिनुपर्ने भन्दै खतराको सूचीमा नराख्ने पक्षमा उभिएका हुन् । बैठकमा लुम्बिनीलाई खतराको सूचीको मस्यौदा उपर भारतले संशोधन प्रस्ताव राखेको र संशोधन प्रस्तावको पक्षमा २१ मध्ये १९ राष्ट्रहरु उभिएको लुम्बिनी विकास कोषले जनाएको छ ।

युनेस्कोले विगतदेखि नै लुम्बिनीमा सम्पदा संरक्षण विपरीतका गतिविधि र पूर्वाधार निर्माण भएको भन्दै खतराको सूचीमा राख्ने चेतावनी दिँदै आएको थियो । विश्व सम्पदा समितिको सचिवालयले लुम्बिनीलाई खतराको सूचीमा राख्ने मस्यौदा तयार गरेपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोषका अधिकारीहरुले कुटनितिक पहल गरेका थिए ।

युनेस्कोले सम्पदास्थलमा मापदण्ड ५ हजार क्षमताको ध्यान केन्द्र निर्माण, मायादेवी मन्दिर जीर्ण हुँदा पानी चुहिने तथा परिसरमा अनुमती विना संरचना निर्माण गरेको लगायतका बिषयमा प्रश्न उठाएको थियो । विगतदेखि नै सम्पदा संरक्षण विपरितको कार्य हुँदै आएको भन्दै युनेस्कोले सचेत गराउँदै आएको थियो । बुद्धको जन्मस्थल लुम्बिनी सन् १९९७ मा युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत भएको सम्पदास्थल हो ।

बैठकमा युनेस्कोले उठाउँदै आएको सम्पदा संरक्षण मापदण्ड कार्यान्वयन, सम्पदा प्रभाव मूल्यांकन लगायतका सुझाव नेपालले कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइएको छ । तर पछिल्लो समय लुम्बिनीको अस्तब्यस्तता र निर्माणमा ढिलासुस्तीले समस्या नल्याउला भन्न सकिँदैन ।

प्रतिक्रिया दिनुहोस्