Logo
Logo

भेनेजुएलामा राजनीतिक उथलपुथल, गुएइदोद्वारा ‘अन्तरिम राष्ट्रपति’ घोषणा


- दृष्टि न्युज/संवाददाता



काराकास, १० माघ (एएफपी) । भेनेजुएलाको संसदका नेता हुँवा गुएइदोले राष्ट्रपति निकोलास मदुरोलाई विस्थापित गरी आफूलाई मुलुकको ‘अन्तरिम राष्ट्रपति’ घोषणा गरेका छन् । गुएइदोको उक्त घोषणासँगै राजधानी काराकासका सडकमा दशौँ हजारले विपक्षी नेताको समर्थनमा खुशी मनाउँदै जुलुस निकालेका छन् ।
गुएइदोलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको पूर्ण समर्थन रहने घोषणा गरेका छन् भने युरोपेली युनियन, भेनेजुएलाका छिमेकी देशहरु ब्राजिल, कोलम्बिया, चिली, अर्जेन्टिना समेतले गुएइदोलाई समर्थन गरेका छन् ।
राष्ट्रपति निकोलास मदुरोले विपक्षी नेता गुएइदोको समर्थन गरेको भन्दै अमेरिकी कुटनीतिज्ञलाई भेनेजुएला छाड्न आदेश दिएको छ । यद्यपी राष्ट्रपति मदुरोको पछिल्लो अवस्थाका बारेमा केही सार्वजनिक भएको छैन ।
भेनेजुएलाको संसद, सेना र अदालत सबै विभाजित भएको ठानिएको छ । राजधानी काराकास समेत देशका सबै प्रमुख शहरमा राष्ट्रपति मदुरोको विपक्षमा नारा जुलुस भएका छन् । नारा जुलुसकै क्रममा भएको झडपमा एक दर्जनभन्दा बढी प्रदर्शनकारीको मृत्यु पनि भएको छ । देशभित्र फैलिएको अराजक स्थितिका कारण कतिपय स्थानमा लुटपाटका घटना भएका छन् ।
‘आज जे भएको छ यसले हामीमा एउटा आशाको सञ्चार भएको छ, यो अति आवश्यक थियो । अब हामीलाई अघि बढ्ने बाटो खुलेको छ,’ सरकार विरोधी जुलुसमा सहभागी ४३ वर्षे प्राध्यापक जोजे ग्रेगोरियो फ्लोरेसले बताए ।
राष्ट्रिय सभाका विपक्षी नेता गुएइदोले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेलगत्तै सडकमा उत्रिएका फ्लोरेसले उक्त आशा र विश्वास व्यक्त गरेका हुन् । गुएइदोले जे भने, ‘हामीले समर्थन गर्नुको अब विकल्प छैन । उहाँले आफू सदाका लागि राष्ट्रपति हुन्न भन्नुभएको छ, उहाँले अब चुनावको मिति घोषणा गर्नु पर्दछ ।’ उनले काराकासको पूरै सहर उनको समर्थनमा सडकमा उत्रिएको बताए ।
घोषणालगत्तै सडकमा सवारी साधनले लगातार हर्न बजाएका थिए । कतिपय रंगीविरंगी पोशाकमा सहभागी प्रदर्शनकारीले भेनेजुएलाको झण्डा फहराएका थिए । प्रदर्शनकारीहरु शहरका एक कुनाबाट अर्को कुनामा मोटरसाइकलमा झण्डा हालेर दौडिरहेका थिए ।
भेनेजुएलाको अर्थतन्त्र धरापमा परेसँगै राष्ट्रपति निकोलास मदुरोको शासन संकटमा परिरहेको थियो । चौतर्फी आलोचना खेपीरहेको मदुरोको शासनका विरुद्धमा लगातार विरोध प्रदर्शन भइरहेका थिए । गत वर्ष संयुक्तराज्य अमेरिका र भेनेजुएलाका छिमेकी मुलुकहरुले राष्ट्रपति मदुरोको पुनः निर्वाचनलाई अबैध घोषणा गरेका थिए ।
प्रदर्शनकारीलाई सम्बोधन गर्दै विपक्षी नेता गुएइदोले भने, ‘हामीलाई थाहा छ, यसले निश्चित परिणाम दिनेछ । हामीले पूर्ण लोकतन्त्र प्राप्त नगर्दासम्म प्रदर्शन जारी रहन्छ । हामी जनताको आशा र अभियानलाई खेर जान दिने छैनौँ ।’ एक जना मानव अधिकारवादी वकिल गोन्जालेजले भने, ‘हुँवा गुएइदो राष्ट्रपति भइसक्नुभो, त्यसका लागि हामी लड्न अझै तयार हुनु परेको छ ।’

प्रतिक्रिया दिनुहोस्