Logo
Logo

डुङ्गा दुर्घटनामा परी कर्णालीमा बेपत्ताको खोजी कार्य जारी


- दृष्टि न्युज/संवाददाता


सुर्खेत, ४ जेठ । सुर्खेत र कैलालीको सीमा क्षेत्र कर्णाली नदीमा शुक्रबार साँझ डुङ्गा दुर्घटनामा परी बेपत्ता तीन जनाको खोजी भइरहेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बेपत्ता हुनेमा कैलालीको मोहन्याल गाउँपालिका–२ कोलतडीकी २५ वर्षीया मान्कु विक र उहाँका चार वर्षीय छोरा धनबहादुर विक तथा पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–२ धमुका १० वर्षीय हिरु विक रहेका छन् ।

हिरु मान्कुका दाई डम्मर विकका छोरा भएको बताइएको छ । चौकुने–२ धमुबाट कैलालीको मोहन्याल गाउँपालिका–२ कोलतडी जाने क्रममा डुङ्गा दुर्घटना भएको हो । बेपत्ताको कैलाली प्रहरीले खोजी कार्य जारी राखेको छ ।

सुर्खेत प्रहरीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गोपाल रायमाझीले लकडाउनका कारण सुर्खेततर्फबाट पुल, डुङ्गा बन्द भएपछि कैलालीतर्फबाट डुङ्गा चढेर माइतीगाउँ चौकुनेको धमु आएको बताए । दुई जना डुङ्गा चालक भने पौडी खेलेर बाँच्न सफल भएका छन् । चौकुने गाउँपालिकाले लकडाउनसँगै आफ्नो क्षेत्रमा पर्ने झोलुङ्गे पुलमा आवतजावत बन्द गर्नुका साथै डुङ्गा चलाउन रोक लगाएको छ । नदीपारि पर्ने कैलालीको मोहन्याल गाउँपालिकाका स्थानीयको डुङ्गा चढेर बेपत्ता मान्कु छोरीसहित माइती आएको स्थानीयवासीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्