Logo
Logo

समाचार टिप्पणी : ‘सत्यमेव जयते’


शम्भु श्रेष्ठ


  • शम्भु श्रेष्ठ

काठमाडौं, ७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ६ गते बुधबार संघीय संसदमा सम्बोधन गर्दै ‘सत्यमेव जयते’ शब्द उच्चारण गरेका छन् । मन्त्रिपरिषदको बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको नेपालको भू-भागलाई समेटेर नयाँ नक्सा पास गरेलगत्तै प्रधानमन्त्री ओलीले नेपालको भू-भाग फिर्ता लिएरै छाड्ने प्रतिवद्धता संसदमा दोहो-याएका छन् ।


संसदमा प्रधानमन्त्री ओलीले भने, ‘भारतको प्रतिक चिन्हमा चारतिर फर्किएका सिंहको आकृति छन् । त्यसको मुनि ‘सत्यमेव जयते’ लेखिएको छ । म यसपटक भारतलाई सोध्न चाहन्छु, सत्यमेव जयते कि सिंहमेव जयते ? हामी विश्वास गर्छौँ, ‘सत्यमेव जयते ।’
मुलुक कोरोना भाइरसका कारण संकटमा छ । ‘लकडाउन’का कारण सम्पूर्ण उद्योग, कलकारखाना, स्कुल, बैंक तथा वित्तिय संस्था बन्द छन् । पर्यटन क्षेत्र तहस-नहस भएको छ । लाखौँ नेपाली जनता विदेशमा अलपत्र छन् । विभिन्न देशबाट घर फर्किएका नेपाली श्रमिकहरु गाउँमै बेरोजगारको अवस्थामा छन् । यस्तो स्थितिमा देशको अर्थतन्त्र सुढृकरण गर्न के गर्नुपर्ला भनेर छलफल गर्ने बेला सार्वभौम संसदको ध्यान प्रधानमन्त्री ओलीले अन्त्यै मोड्न सफल भएका छन् । मानौँ, नेपालमा कोरोना भाइरसले केही असर पु¥याएको छैन ।
तर पनि प्रधानमन्त्री ओलीको यो कदमको चौतर्फी स्वागत भएको छ । नेपालकै इतिहासमा ओलीको नाम जबसम्स कालापानी क्षेत्रको भू–भाग भारतले फिर्ता गर्दैन, तबसम्म सबैले उच्चारण गरिनै रहने छन् । ओलीले बनाएको नयाँ नक्सा अनुसार भारतले खुसुक्क उक्त भूमि नेपाललाई फिर्ता दिएमा ओली नेपालको इतिहासमा महान क्रान्तिकारी र राष्ट्रवादी नेताका रुपमा चिनिने छन् । नेपाल राष्ट्रको सामु कोरोनालगायतका सबै कुरा गौण भए, मुख्य कुरा राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डता बनेको छ । अब नेपाली जनता कोरोनाविरुद्ध मात्र होइन, आफ्नो भूमि फिर्ता गराउन युद्धको तयारीमा जुट्नुपर्ने बेला आएको छ ।
दुई तिहाइको सरकारको नेतृत्व गरिरहेको भएपनि आफ्नै पार्टी भित्रबाट आफूलाई असुरक्षित ठानिरहेका प्रधानमन्त्री ओलीले पार्टी फुटाउने अध्यादेश ल्याउन असफल भएपछि पार्टीभित्र र बाहिरका विरोधी तह लगाउन नयाँ नक्साको रणनीति अगाडि सारेका हुन् । अब कसैले उनलाई सत्ताबाट बहिर्गमन गर्न खोजे यो अस्त्रले आफ्ना विरोधी तत्व अहिले नै ठेगान लाग्नेछन् भने नेपालप्रति गिद्दे दृष्टि लगाउनेहरु क्रमशः ठीक हुँदै जानेछन् । कालापानीमा भारतले आघोषित युद्धको सुरुवात गरेको बेला नयाँ नक्सा जारी गरेर प्रधानमन्त्री ओलीले इँटको जवाफ पथ्थरले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्